महाकाली पुलमा आवागमन बन्द

भवानी भट्ट

कञ्चनपुर — महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलमा आवागमन बन्द गरिएको छ । पुलको दुवैतर्फ विंगस वाल निर्माण (पर्खाल) को काम सुरु भएकाले आवागमन बन्द गरिएको हो । पुलमा शुक्रबारदेखि आवागमन बन्द छ ।

ठूलासाना सवारीसाधन र पैदल यात्रुलाई समेत आउजाउमा रोक लगाइएको पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सिफइसी जेभीका इन्जिनियर किशोर पाण्डेयले बताए । उनका अनुसार २० दिनका लागि पुलमा आवागमन बन्द गरिएको छ । ‘दुवैतर्फ विंगस वाल निर्माण गर्नुपर्ने भएकाले बाटो ब्लक भएको छ,’ इन्जिनियर पाण्डेयले भने, ‘नयाँ वर्षमा खोल्ने गरी धमाधम काम भइरहेको छ ।’ उनका अनुसार पुलको दुवै छेउमा गहिरो खाल्डो खनेर पर्खाल निर्माण भइरहेको छ, जसका कारण बाटो आफै बन्द हुन पुगेको छ ।

पक्की पुलमा आवागमन बन्द भएपछि दोधारा चाँदनीवासी समस्यामा परेका छन् । साना सवारीसाधन र पैदल यात्रुले झोलुंगे पुल भएर यात्रा गर्नुपर्नेछ । ठूला सवारीसाधन ठप्प हुनेछन् । पुल बन्द हुँदा निकै समस्या भएको दोधारा चाँदनी नगरपालिका १ का स्थानीय अर्जुनदत्त भट्टले बताए । उनका अनुसार कुखुरा पालक किसानदेखि तरकारी उत्पादकहरू ठूलो मारमा परेका छन् । कुखुराको दाना ढुवानीदेखि कुखुरा महेन्द्रनगरसम्म पुर्‍याउन निकै समस्या भएको छ ।

तरकारी ढुवानीमा समेत अप्ठेरो भएको भट्ट बताउँछन् । चार लेनमध्ये दुई लेन भए पनि खुला राख्नुपर्ने उनको भनाइ छ । पुल निर्माणको काम चलिरहेकै बेला झन्डै दुई वर्षअघि निर्माण कम्पनीले डाइभर्सन बनाएर महाकालीपारिको दोधारा चाँदनीका बासिन्दालाई आउजाउ गर्न सहज गरिएको थियो । अघिल्लो वर्षको भीषण बाढीले पहुँच मार्ग भत्काएपछि केही समय अवरुद्ध भएको आवागमन सडक निर्माणपछि पुनः सञ्चालन भएको थियो ।

दुवैतर्फ पर्खाल निर्माण भए पनि पुलको काम सकिनेछ । अहिले पर्खाल निर्माणसँगै पुलको दुवैतर्फ बन्ने पोखरीको काम चलिरहेको छ । पहुँच मार्गको काम पनि अन्तिम चरणमा रहेको इन्जिनियर पाण्डेयले बताए । उनका अनुसार पुलको दुवैतर्फ करिब चार/पाँच सय मिटर मात्रै पहुँच मार्ग निर्माणको काम बाँकी छ । गड्डाचौकीदेखि दोधारा चाँदनीको मलेरिया नालासम्म साढे ८ किलोमिटर पहुँच मार्ग निर्माण गर्नुपर्ने छ ।

अहिले पुलको पूर्वपट्टि भीमदत्त नगरपालिकातर्फको पोखरी निर्माणको काम चलिरहेको छ । बर्खाअगावै उक्त पोखरीको काम सक्ने लक्ष्य रहेको निर्माण कम्पनीले जनाएको छ । बर्खापछि पश्चिमपट्टि दोधारा चाँदनीतर्फको पोखरी निर्माण हुनेछ ।

पुलको डिजाइनअनुसार दुवैतर्फ ६ सय मिटर चौडा र २६ सय मिटर लम्बाइका दुई पोखरी निर्माण गर्नुपर्नेछ । निर्माणाधीन चार लेनको पक्की पुललाई दोधारा चाँदनीमा बन्ने भनेको सुक्खा बन्दरगाहको प्रमुख पूर्वाधारका रूपमा लिइएको छ । दोधारा चाँदनी नगरपालिका १ मा निर्माण हुने सुक्खा बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम अन्तिम चरणमा रहेको इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

प्रकाशित : चैत्र १२, २०७९ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्

गुच्ची च्याउ टिप्ने चटारो

राजबहादुर शाही

मुगु — सोरु गाउँपालिका–४ फोतुकी रामदेवी शाहीलाई अहिले गुच्ची च्याउ टिप्न भ्याइनभ्याइ छ । उनी बिहान सबेरै नजिकका सामुदायिक वनमा पुग्छिन् र साँझ अबेर मात्र घर फर्किन्छिन् ।

हिमपात र वर्षा धेरै भएकाले यसपालि गुच्ची च्याउको उत्पादन राम्रो भएको भन्दै उनी दिनभरि गुच्ची च्याउ टिप्न व्यस्त हुने गरेकी हुन् । गत वर्ष च्याउ टिपेर २५ हजार कमाएकी उनको यो वर्ष झन् बढी पैसा कमाउने धोको छ । तााजागाउँकी बेलसरा बुढाले पनि वनजंगलमा बाख्रा चराउँदै गुच्ची च्याउ संकलन गर्ने गरेकी छन् । गत वर्ष च्याउ बेचेर उनले ४० हजार रुपैयाँ कमाएकी थिइन् ।

जिल्लाका ग्रामीण भेगका बासिन्दालाई अहिले गुच्ची च्याउ टिप्ने चटारो छ । जिल्लामा बर्सेनि चैत पहिलो सातादेखि गुच्ची च्याउ टिप्ने सिजन सुरु हुन्छ । विपन्नको मुख्य आयस्रोतका रूपमा चिनिने च्याउले बर्सेनि राम्रो मूल्य पाउन थालेको छ । यो वर्ष भारी हिमपात र अधिक वर्षा भएकाले गुच्ची च्याउको राम्रो उत्पादन भएको स्थानीयको आशा छ । ‘जंगलमा च्याउ टिप्दैमा दिन बित्ने गरेको छ,’ बुढाले भनिन्, ‘च्याउ नटिपे वर्षभरिको खर्च धान्न मुस्किल हुन्छ, त्यसैले वनजंगलको च्याउलाई मुख्य आयआर्जनको स्रोत बनाएका छौं ।’ च्याउ टिप्न बिहानै वनजंगलमा जानुपर्ने र साँझमात्र घर फर्किने भएकाले पहिले नै खानपिनको व्यवस्था गर्नुपर्ने उनले बताइन् ।

स्थानीय बजारमा गुच्ची च्याउको मूल्य प्रतिकिलो १४ देखि १७ हजारसम्म पर्ने स्थानीयको भनाइ छ । केही व्यापारीले प्रतिगोटा ७ रुपैयाँमा च्याउ किन्ने गरेका छन् । जिल्लाको खत्याड, सोरु, मुगुमकार्मारोङ गाउँपालिका र छायानाथ रारा नगरपालिकाका अधिकांश जंगलमा गुच्ची च्याउ फल्ने गरेको छ । बेंसीतिर उम्रिने गुच्ची च्याउ पहेँलो आकारको हुने र लेकमा उम्रने च्याउ कालो आकारको हुने सोरु गाउँपालिका कच्चेका कलबहादुर कार्कीले बताए । उनका अनुसार च्याउ टिप्ने समयमा गाउँमा ज्येष्ठ नागरिक र अशक्तमात्र घरमा बस्छन् । बालबालिकासमेत पढाइ छाडेर गुच्ची च्याउ टिप्न जाने गरेका छन् । च्याउको सिजनका बेला गाउँबस्ती सुनसान हुने गरेको छ । निगालो, पीपल, उन्युँ बढी भएको जंगलमा गुच्ची च्याउ बढी उम्रिने गरेको छ । उनका अनुसार उम्रेको दुई सातासम्म टिप्न नसके कुहिने, वन्यजन्तु र चराले खाने समस्या छ । सोरु गाउँपालिकाको रुम, रारा गिलाहा, धैनकोट, कालै, फोतु नेर, नार्थपु, खत्याड गाउँपालिकाको खमाले, गम्था, निगालबोट तथा मुगुमकार्मारोङ गाउँपालिकाको चितै, माग्री, पापु गाउँका जंगलमा च्याउ बढी पाइन्छ ।

जिल्लामा उत्पादित गुच्ची च्याउ नेपालगन्ज, काठमाडौं र तिब्बतसम्म जाने गरेको नेपाल जडीबुटी व्यवसायी संघका अध्यक्ष मेलबहादुर शाहीले बताए । उनका अनुसार व्यवसायीले गाउँमै पुगेर च्याउ संकलन गर्छन् । उनले जिल्लामा करिब २० क्विन्टल बढी गुच्ची च्याउ पाइने गरेको बताए । सोरु गाउँपालिकाको वन क्षेत्रमा संकलन हुने च्याउ व्यापारीले हुम्लाको हिल्सा नाका हुँदै तिब्बती बजारमा पुर्‍याउने गरेका छन् । गुच्ची च्याउको तरकारी मासुजस्तै स्वादिलो हुने र औषधि निर्माणमा समेत प्रयोग गरिने भएकाले यसको माग बढेको उनको भनाइ छ ।

प्रकाशित : चैत्र १२, २०७९ ०९:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×