२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९७

बैतडीको हवाई सेवा एक वर्षदेखि बन्द

रासस

बैतडी — बैतडीको पाटनस्थित विमानस्थलमा हवाई सेवा बन्द भएको एक वर्ष भएको छ । धनगढी–बैतडी–धनगढी साप्ताहिकरूपमा हुने गरेको हवाई सेवा गत चैतदेखि बन्द भएको हो । 

साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएकामा गत चैत १० गते यहाँ अन्तिम पटक उडान भएको थियो । हवाई भाडा महँगो हुँदा र यात्रु नपाउँदा बन्द हवाई सेवा पुनःसञ्चालन हुन नसकेको समिट एयर बैतडीका प्रतिनिधि कृष्णदत्त भट्टले आए । उनले भने, 'यात्रु अभावका कारण उडान हुन सकेको छैन, यात्रु नै नभएपछि हवाई सेवा बन्द भएको छ ।'

यसअघि उडान भर्दै आएको समिट एयरले अबदेखि उडान नभर्ने जनाएको छ । यात्रु अभाव हुन थालेपछि उडानका लागि गरिएको सम्झौता रद्द गरिएको भट्टको भनाइ छ । 'दसैँ, तिहारका बेला मात्रै एकतर्फीरूपमा यात्रु पाइने र त्यसले इन्धन खर्च पनि नउठ्ने भएपछि उडान रद्द गर्न बाध्य भएका हौँ', उनले भने । भट्टका अनुसार यात्रु पाइन छोडेपछि एक वर्षदेखि उडान बन्द भएपनि सम्झौता नै रद्द गरिएको हो ।

समिट एयर जहाजको अठार यात्रु क्षमता रहेको छ । पाटन–धनगढी हवाई यात्रा १७ मिनेटको थियो । सत्र मिनेटको हवाई यात्राका लागि रू पाँच हजार भाडा तोकिएपछि यात्रु पाइने छोडेका हुन् । सुरुमा हवाई सेवा सञ्चालन हुँदा रू तीन हजार आठ सय ५० भाडा तोकिएको थियो । समिट एयरले सम्झौता रद्द गरेपछि अब कहिले उडान हुने भन्ने अनिश्चित भएको छ । लामो समयदेखि बन्द रहँदा यहाँ आकस्मिकरूपमा धनगढी जानुपर्ने नागरिक समस्यामा परेका छन् । हवाई सेवा बन्द हुँदा आकस्मिकरूपमा बिरामी भएकालाई उपचारका लागि बाहिर अस्पातलमा लैजान तथा अन्य कामका लागि जाने नागरिकलाई समस्या भएको स्थानीय चमन भण्डारीले बताए । भाडा पनि महँगो भएकाले भाडा घटाएर नियमितरूपमा उडान सञ्चालन गरिनुपर्ने उनको भनाइ छ ।

करोडौँका संरचना प्रयोगविहीन

विसं २०३६ देखि सञ्चालनमा आएको पाटन विमानस्थल विसं २०५१ देखि बन्द भएको थियो । सुदूरपश्चिमकै दोस्रो ठूलो विमानस्थल २६ वर्षपछि पुनः २०७७ सालमा सञ्चालनमा आएको थियो । विसं २०७७ असोज १७ गते समिट एयरले परीक्षण उडान गरेको थियो । परीक्षण उडानसँगै तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसहितको टोलीले विमानस्थलको निरीक्षणसमेत गर्नुभएको थियो । विसं २०७७ असोज ३० गतेदेखि धनगढी–बैतडी–धनगढी साप्ताहिकरूपमा नियमित हवाई सेवा सुरु भएको थियो ।

विमानस्थलमा हवाई सेवा बन्द हुँदा यहाँ बनेका करोडौँका संरचना प्रयोगविहीन बनेका छन् । ग्याल्वा च्यामलिङ्गा जगदम्बा जेभीले ११ करोड रुपैयाँमा विमानस्थल कालोपत्र गरेको थियो । विमानस्थलमा पाँच सय ९० मिटर लम्बाइ र २० मिटर चौडाइको धावन मार्गका साथै ७० मिटर लम्बाई र ३० मिटर चौडाइको एप्रोन कालोपत्र गरिएको थियो ।

रोयल कन्ट्रक्सनले चार करोड ९७ लाख रुपैयाँमा टर्मिनल भवन निर्माण सम्पन्न गरेको छ । विसं २०७८ भदौ १ देखि टर्मिनल भवन निर्माण सुरु गरिएको थियो । विसं २०७९ माघ २९ सम्म निर्माण सम्पन्न गर्नुपर्ने म्याद तोकिएकामा निर्माण कम्पनीले निर्धारित समयभित्र काम सम्पन्न भएको जनाएको छ । इञ्जिनियर कविन्द्र काजी बज्राचार्यका अनुसार टर्मिनल भवनमा सिभिलअन्तर्गतका सबै संरचना पूरा भएका छन् ।

टर्मिनल भवनमा आगमन कक्ष, प्रस्थान कक्ष, टिकट काउन्टर, रेडियो कक्ष, एटिसी रुम, एयर ट्राफिक कन्टोल रूम निर्माण गरिएका जनाइएको छ । यसका साथै रनवेसम्म जाने बाटो, रनवे साइडको नाला, विमानस्थल सुरक्षा गार्ड भवन पनि निर्माण सम्पन्न भएको इञ्जिनियर बज्राचार्यको भनाइ छ ।

राज्यको करोडौँको लगानीमा निर्माण गरिएको विमानस्थलमा हवाई सेवा सञ्चालन नहुनु दुःखद् रहेको पाटनका स्थानीय दिनेश विष्टको भनाइ छ । उनले भने, 'विमानस्थल सञ्चालन नहुँदा करोडौँका संरचना बनेर प्रयोगविहीन भएका छन् । राज्य लगानी सबै खेर गएको छ, हवाई सेवा सञ्चालनका लागि सरोकारवाला सबैको ध्यान जान जरुरी छ ।'

हवाई सेवा सञ्चालनमा आए यहाँको पर्यटन प्रवद्र्धन हुनुका साथै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहज हुने स्थानीय व्यापारी चक्रबहादुर चन्दको भनाइ छ । धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको यस क्षेत्रमा रहेको विमानस्थल सञ्चालनमा आए पर्यटक भित्र्याउन सजिलो हुने उनले बताए । चन्दले भने, 'भारतसँग सीमा जोडिएको जिल्ला भएकाले हवाई सेवा सञ्चालन भए यहाँ पर्यटक ल्याउन सहज हुने थियो । यसले यहाँको व्यापार व्यवसाय बढेर आर्थिक उन्नति पनि हुन्छ ।'

प्रकाशित : चैत्र ११, २०७९ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?