कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

घरेलु हिंसाले मानसिक समस्या

मेनुका ढुंगाना

अछाम — अछामको मंगलसेन नगरपालिका–७ की आशा (नाम परिवर्तन) लाई डर लागिरहने, निद्रा नलाग्ने, भोक नलाग्ने, निराशा हुने समस्या देखिएको लामो समय भयो । सुरुको अवस्थामा यी लक्षणलाई सामान्य रूपमा लिएकी आशालाई दिन प्रतिदिन गाह्रो हुँदै गयो ।

घरेलु हिंसाले मानसिक समस्या

उनलाई कहिलेकाहीं त आत्महत्या नै गर्ने सोच आउन थाल्यो । टाउको, पेट, छाती दुख्ने, हातखुट्टा झमझम हुने र खान मन नलाग्ने भएपछि उनी अस्पताल गइन् । ‘डिप्रेसनको जटिल अवस्थामा पुगेको देखिन्छ । अब केही समय औषधि खानुपर्छ भनेर डाक्टरले सल्लाह दिए,’ उनले भनिन्, ‘मैले सल्लाहअनुसार नै औषधि खान सुरु गरें । जब मैले डिप्रेसनको औषधि खान सुरु गरेको मेरो परिवारले थाहा पाए । त्यो दिनदेखि मलाई झन् गाह्रो भएको छ ।’

यी सबै अवस्था आउनुको पछाडि आफ्नो पारिवारिक अवस्था रहेको उनी बताउँछिन् । उनका अनुसार कोरोना संक्रमणले समस्या निम्त्याएपछि श्रीमान् भारतबाट घर आए । घरमा बस्दा अरू काम नै नगर्ने, मदिरा सेवन गरेर आफूलाई, छोराछोरीलाई पनि कुटपिट गर्ने गरेकै कारण आफू मानसिक रूपमा अस्वस्थ भएको उनले बताइन् । ‘छोराछोरीलाई कापी, कलम किन्ने पैसासमेत हुँदैन । श्रीमान् रक्सी खाएर शारीरिक र मानसिक यातना दिन सुरु गर्छन्,’ उनले भनिन्, ‘डिप्रेसनको औषधि खान थालेको परिवारका मान्छेले थाहा पाए । त्यसपछि बौलाहा भएकी रहिछ, त्यसैको औषधि खान थाली भनेर झन् तनाव दिन्छन् ।’

पारिवारिक समस्यादेखि हिंसाबाट पीडित भएकाहरू पनि मानसिक रूपमा अस्वस्थ भएका छन् । रामारोशन गाउँपालिकाकी २० वर्षीया युवती चिनजानको व्यक्तिसँग प्रेममा परिन् । प्रेमीसँग विवाहका लागि तयार भएकी उनले धोका पाइन् । उनीसँग जबर्जस्ती शारीरिक सम्बन्ध राखिसकेपछि ती व्यक्तिले उनलाई छोडिदिए । त्यसपछि ती किशोरी मानसिक रूपमा विचलित भइन् । सम विकास नेपाल नामक संस्थाले साँफेबगरमा सञ्चालन गरेको सेफ हाउसमा राखेर उनलाई काउन्सिलिङ गरेर सामान्य अवस्थामा फर्काउने प्रयास गरे पनि अझै ठीक भइसकेकी छैनन् ।

अप्रत्याशित घटनाबाट सम्हालिन नसकेका, पारिवारिक समस्याबाट गुज्रिएका, जबर्जस्ती करणी र बलात्कारका घटनामा परेका थुप्रै महिला र किशोरीमा मानसिक स्वास्थ्य समस्या देखिएको सम विकास नेपालकी अध्यक्ष पशुपति कुवँरले बताइन् । ‘केही समययता महिलामा मानसिक समस्या बढेको छ । सेफ हाउसमा आउने धेरै केस यस्तै छन् । कतिपय मान्छेलाई सम्हाल्न पनि गाह्रो हुन्छ,’ उनले भनिन्, ‘मानसिक समस्या देखिसकेपछि परिवार, समाजले पनि घृणा गर्ने र उसको कुरै नसुनिदिनेजस्ता समस्या धेरै देखिएका छन् । सेफ हाउससम्म पुगेका धेरै केसहरू आत्महत्याको प्रयास गरेका पनि छन् ।’

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार आव ०७५/७६ मा १९ जना, ०७६/७७ मा २५ जना र आव ०७७/७८ मा ६१ जनाले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार अछाममा विगतका वर्षभन्दा गत आवमा दोब्बर आत्महत्याका घटना भएका छन् । जिल्ला प्रहरीअन्तर्गत महिला तथा बालबालिका सेवा केन्द्रले आत्महत्या, महिला हिंसा, घरेलु हिंसालगायतका विकृतिहरू हटाउन गाउँसम्म कार्यक्रम गरे खासै प्रभाव नपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बर्सेनि आत्महत्या बढ्नुको मुख्य कारण मानसिक स्वास्थ्य समस्या रहेको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगाना बताउँछन् । ‘अन्य शारीरिक समस्या जस्तै मानसिक समस्या पनि सामान्य हो । तर यसलाई मान्छे आफैंले गलत प्रचार गरेर जटिल बनाइरहेका छन्,’ उनले भने, ‘आत्महत्याको सोच आउनु नै यसको मुख्य कारण हो ।’ उनका अनुसार मानसिक स्वास्थ्य समस्याका भावनात्मक र व्यावहारिक लक्षणहरूमा बर्बराउने, रिसाउने, झोक्राउने, छटपटिने, रुने, शंका गर्ने र पढाइ बिग्रने आदि पर्छन् ।

शारीरिक रूपमा कमजोरी, दुब्लाउने, रिँगटा लाग्ने, खानामा अरुचि, स्मरण शक्तिमा ह्रास र शरीरका अंगमा पीडा हुन्छ । एकाग्र हुन नसक्ने, निर्णय लिन गाह्रो हुने, कसैले बोलेझैं सुन्ने र मर्ने सोचाइ आउने जस्ता समस्या मानसिक रोगका लक्षण भएको स्वास्थ्यकर्मीको भनाइ छ ।

प्रकाशित : चैत्र ११, २०७९ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?