बर्डफ्लु नियन्त्रणका लागि सीमामा निगरानी

दार्चुला — बर्डफ्लु नियन्त्रणका लागि भारतसित सीमा जोडिएका नाकामा निगरानी बढाइने भएको छ । भारतसित जिल्लाका दर्जन नाकाबाट बर्डफ्लु भित्रिने सम्भावना रहेकाले निगरानी बढाउन लागिएको हो ।

बर्डफ्लु नियन्त्रणका लागि सीमामा निगरानी

जिल्ला बर्डफ्लु नियन्त्रण प्राविधिक समितिले सम्भावित जोखिमलाई मध्यनजर गर्दै यसको नियन्त्रणका लागि खुला सीमानाकामा निगरानी बढाउने निर्णय गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख रामबहादुर खड्काले बताए । उनका अनुसार अहिले भारतसँग जोडिएका जिल्लाका १० वटा नाका सञ्चालनमा छन् । ‘केही ठाउँमा तुइन र ट्युबको प्रयोग गरी भारत आवतजावत हुन्छ । यसले बर्डफ्लु भित्रिने सम्भावना हुन्छ’ उनले भने, ‘भारतबाट पन्छीजन्य वस्तु आयातमा प्रतिबन्ध लगाइएको भए पनि लुकिछिपी अवैध रूपमा कुखुरा, चल्ला र अन्डा भित्रिने गरेका छन् ।’

सरकारले भारतीय सेतो अन्डा, मासुजन्य पदार्थ आयातमा पूर्ण रोक लगाएको भए पनि लुकिछिपी व्यापार हुने गरेको छ । अन्य रोगभन्दा बर्डफ्लुले मानवीय क्षति बढी गर्ने हुँदा सचेतना अपनाउनुपर्ने खड्काको भनाइ छ । बर्डफ्लुको जोखिम भएकाले पन्छी तथा पन्छीजन्य पदार्थ ओसारप्रसार गर्ने सरोकारवाला निकायले उच्च सतर्कता अपनाउनुपर्ने प्राविधिक समितिको जोड छ । सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी र सम्बद्ध निकायले सक्रियता बढाउनुपर्ने बर्डफ्लु नियन्त्रण समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।

प्रकाशित : चैत्र ७, २०७९ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?