सुदूरपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन चैत २१ गते

कान्तिपुर संवाददाता

कञ्चनपुर — सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचन चैत २१ मा हुने भएको छ । यसअघि चैत ८ मा हुने निर्वाचन स्थगित भएपछि सोमबार क्याम्पस प्रशासन र संघ/संगठनका प्रतिनिधिबीच निर्वाचन गर्ने सहमति भएको हो ।

विश्वद्यिालयले विद्यार्थी संघ/संगठनकै सहमतिमा केन्द्रीय र आंगिक सबै क्याम्पसमा चैत ८ मा स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो । केन्द्रीय क्याम्पसमा विद्यार्थी भर्नासम्बन्धी विवादका कारण नर्वाचन हुन सकेको थिएन । ‘सबै विद्यार्थी भर्ना हुन नसकेका कारण केही विद्यार्थी संगठनले विरोध गरेका थिए,’ केन्द्रीय क्याम्पसका निर्वाचन अधिकृत तोरण भट्टले भने, ‘अब भर्ना हुने समय दिएर निर्वाचन गर्ने सहमति भयो ।’

निर्वाचन अधिकृत भट्टका अनुसार चैत ११ सम्म भर्ना भएका विद्यार्थीलाई निर्वाचनमा सहभागी हुन दिने सहमति भएको छ । चैत ८ मा तोकेको निर्वाचनअन्तर्गत ५ आंगिक क्याम्पसमा अझै विवाद छ । एक क्याम्पसमा यसअघि नै सहमतिमा नेतृत्व चयन भएको थियो । विश्वविद्यालयका अनुसार चैत २१ मा १० वटा आंगिक क्याम्पसमा निर्वाचन हुनेछ । विश्वविद्यालयमा केन्द्रीय र आंगिक गरी १६ क्याम्पस छन् ।

प्रकाशित : चैत्र ७, २०७९ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्

रुकुम पश्चिमका ६ वटा क्याम्पसमा अखिल क्रान्तिकारीको नेतृत्व

महेश केसी

रुकुम पश्चिम — त्रिभुवन विश्वविद्यालयअन्तर्गत रुकुम पश्चिममा रहेका जम्मा ६ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ । सबै क्याम्पसमा निर्वाचन सकिँदा नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले अधिकांश स्थानमा जित हासिल गरेको छ ।

सर्वसम्मत नेतृत्व चयन गरिएका ४ वटा क्याम्पस र चुनाव भएका ३ मध्ये २ वटा क्याम्पसमा गरेर ६ वटा क्याम्पसमा आफ्नो संगठनले जित हात पारेको जिल्ला अध्यक्ष नारायण केसीले बताए । केसीका अनुसार अखिल क्रान्तिकारीका तर्फबाट बाँफिकोटको स्यार्पू क्याम्पसमा किरण विश्वकर्मा, सानीभेरीको सानीभेरी क्याम्पसमा भागिराम भण्डारी, चौरजहारीको शितल क्याम्पसमा निराजन केसी र त्रिवेणीको सिम्रुतु क्याम्पसमा निर्माला बुढाथोकी सर्वसम्मत भएका छन् । त्यसैगरी आठबीसकोटको राडीज्युला क्याम्पसमा दीपक केसी र चौरजहारीको जहारी क्याम्पसमा भरत विक निर्वाचित भएको पनि अध्यक्ष केसीले जानकारी दिए ।

मुसीकाटको रुकुमेली क्याम्पसमा भने कांग्रेस निकट नेपाल विद्यार्थी संघका अनिशेष केसीको प्यानल विजयी भएको छ । अखिल क्रान्तिकारीले नेतृत्व पाएकामध्ये सर्वसम्मत भएका ठाउँमा विभिन्न संगठनको समान सहभागिता रहेको छ । तर चुनाव जितेका स्थानहरुमा भने अखिल क्रान्तिकारीले बहुमत पदाधिकारी र सदस्यहरु जितेको छ ।

सर्वसम्मत निर्वाचन सम्पन्न भएका बाहेका क्याम्पसमा आइतबार चुनाव गरिएको थियो । शान्तिपूर्ण ढंगले जिल्लाका सबै क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको क्याम्पसहरुले बताएका छन् ।

नवनिर्वाचित स्वातन्त्र विद्यार्थी युनियनका नेताहरूले क्याम्पसको सर्वांगीण विकासका साथै शैक्षिक उन्नयनका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् । स्यापू क्याम्पसका अध्यक्ष किरण विश्वकर्माले स्वावियुको लामो रिक्ततालाई पूरा गर्दै शैक्षिक विकासमा जुट्ने बताए । त्यस्तै रुकुमेली क्याम्पसका अध्यक्ष अनिशेष केसीले भने, ‘हामी क्याम्पसको विकास, शैक्षिक वृत्तीका साथै यहाँको सुशासन तथा शैक्षिक क्यालेन्डरको प्रभावकारी कार्यन्वयनका लागि लाग्छौं । सरोकारवाला सबैको सल्लाह, सुझाव लिएर अघि बढ्ने योजना छ ।'

जिल्ला सदरमुकाममा रहेको एकमात्र आंगिक र पुरानो मध्यपश्चिम विश्वविद्यालयअन्तर्गतको मुसीकोट खलंगा बहुमुखी क्याम्पसमा भने विद्यार्थी संगठनका बिचमा कुरा नमिल्दा स्ववियुको चुनाव हुन सकेको छैन । विश्वविद्यालयको निर्देशन र सरोकारवालका बिचमा छलफल गरेर चुनाव तोक्ने क्याम्पस प्रमुख बुद्धिप्रसाद गौतमले जानकारी दिए ।

प्रकाशित : चैत्र ७, २०७९ ०८:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×