३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

रूख काट्ने निर्णय भयो, आदेश आएन

कञ्चनपुर — महाकाली करिडोरअन्तर्गत कञ्चनपुरमा पर्ने ११ किलोमिटर सडक खण्डको ट्र्याक खोल्न २ वर्षअघि ठेक्का सम्झौता भएको थियो । तर हालसम्म सडकमा पर्ने रूख कटानीको आदेश नहुँदा ट्र्याक खुल्न सकेको छैन ।

रूख काट्ने निर्णय भयो, आदेश आएन

ट्र्याक खोल्ने २ वर्षको समयावधि यसै आर्थिक वर्षमा सकिँदै छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवदेखि डडेलधुराको सीमासम्म ११ किलोमिटरमा १५ सय ३२ रूख र ४ सय १९ पोल साइजका रूख पर्छन् । मन्त्रिपरिषद्ले फागुन १५ मा रूख र पोल साइजका गरी १ हजार ९ सय ५१ रूख कटानका लागि निर्णय गरेको छ । तर रूख कटानबापत वन विकास कोषमा रकम जम्मा नहुँदा कटानी आदेश प्राप्त हुन सकेको छैन ।

कञ्चनपुरमा मात्रै होइन डडेलधुरामा पनि २७ किलोमिटर सडक खण्डमा पर्ने रूख कटानका लागि मन्त्रिपरिषद्बाटै निर्णय भए पनि कटान आदेश भएको छैन । डडेलधुरामा १० हजार ४ सय ७६ रूख काटनुपर्ने भए पनि २५ सय मात्रै काटिएको छ । ‘सरकारले निर्णय त गर्‍यो तर वन विकास कोषमा रकम जम्मा नहुँदा कटान आदेश प्राप्त भएको छैन,’ महाकाली करिडोरका आयोजना प्रमुख लक्ष्मणदत्त जोशीले भने, ‘कोषमा रकम जम्मा गर्नका लागि पत्राचार भएको छ ।’

महाकाली किनारका चार जिल्ला जोड्ने ४ सय २५ किलोमिटर सडक खण्डमध्ये २ सय १५ किलोमिटरमा मात्रै ट्र्याक खोलिएको छ । ‘रूख नभएको र कटान भएको ठाउँमा ट्र्याक खोलिएको छ,’ आयोजना प्रमुख जोशीले भने, ‘रूख भएको ठाउँमा ठेक्का अवधी सकिदा पनि कटान आदेश प्राप्त भएको छैन ।’

बैतडी र दार्चुलामा हालै कटान आदेश प्राप्त भएर रूख काट्ने काम सुरु भएको छ । जोशीका अनुसार बैतडीमा ४ हजार ५ सय ९६ र दार्चुलामा पनि २ हजार ४३ रूखको कटानी आदेश प्राप्त भएको छ । महाकाली करिडोरमा पर्ने रूख कटानबापत वन विकास कोषमा ५७ करोड रकम जम्मा गर्नुपर्ने छ । त्यसनिम्ति हालसम्म ३७ करोड मात्रै जम्मा भएको जोशीले बताए । बाँकी रकम जम्मा भएपछि मात्रै कटान आदेश प्राप्त हुने उनले बताए । ‘यसै वर्ष ट्र्याक खोल्ने काम सुरु गर्ने योजना थियो, तर कटान आदेश नआउँदा समस्या भयो,’ जोशीले भने, ‘कञ्चनपुर र डडेलधुरामा ठेक्कासमेत भइसकेको छ, तर रूखकै कारण काम अगाडि बढ्न सकेको छैन ।’

कञ्चनपुरदेखि डडेलधुरा, बैतडी हुँदै दार्चुलासम्म महाकाली किनारका बस्तीलाई सडक सञ्जालसँग जोड्न झन्डै डेढ दशकअघि सुरु भएको उक्त आयोजनाको काम ज्यादै सुस्त गतिमा भइरहेको छ । हालसम्म ट्र्याक खोल्ने कामसमेत सकिएको छैन । ब्रह्मदेवदेखि दार्चुलाको तिखारपानीसम्म ३ सय ३४ किलोमिटर सडक निर्माणको काम महाकाली करिडोर सडक आयोजनाले गरिरहेको छ । तिखारपानीदेखि टिंकरसम्म ९१ किलोमिटर सडकको ट्र्याक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ ।

आयोजनाले ट्र्याक खुलेका केही ठाउँमा कालोपत्रका लागि पनि ठेक्का सुरु गरेको छ । डडेलधुरा र दार्चुलामा गरी ४ प्याकेजमा ३८ किलोमिटर कालोपत्रको ठेक्का भएको जोशीले बताए । उनका अनुसार डडेलधुराको परशुराम नगरपालिकाअन्तर्गत कुणादेखि सादनीसम्म ६ किलोमिटर तथा दार्चुलाको बेतदेखि उकुसम्म १२ किलोमिटर र खलंगादेखि उत्तरतिर १०/१० किलोमिटरका दुई प्याकेजमा ठेक्का सम्झौता भएको छ । चार वटै प्याकेजको काम तीन वर्षभित्र सक्ने गरी असारमा ठेक्का सम्झौता भएको हो । तर कतिपय ठाउँमा रूख कटान नगरी ट्र्याक खोलिएका कारण तत्काल कालोपत्रको काम अगाडि बढाउन नसकिने देखिएको छ ।

प्रकाशित : चैत्र ६, २०७९ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?