दलहन प्रवर्द्धनमा पालिकाको सहयोग- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दलहन प्रवर्द्धनमा पालिकाको सहयोग

दालको ढुवानी, ब्रान्डिङ, प्याकेजिङ र अन्य साधनमा अनुदान
मनोज बडू

दार्चुला — नौगाड गाउँपालिकामा दलहन बालीको उत्पादन र बजार प्रवर्द्धनमा गाउँपालिकाले सहयोग गरेको छ । गाउँपालिकाको अधिकांश ठाउँमा दालजन्य बाली उत्पादन हुने भएपछि बजार विस्तारका लागि गाउँपालिकाले सहयोग गरेको हो ।

दार्चुलाको नौगाड गाउँपालिकाको सहयोगमा बजार प्रवर्द्धनका लागि प्याकेजिङ गरेका दालका बोरा । तस्बिर सौजन्य : प्रकाशसिह धामी

नौगाड गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० को कृषि तथा पशुपन्छी विकास शाखाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत दाल बालीमा बजार प्रवर्द्धन कार्यक्रम अगाडि बढाएको छ । स्थानीय उत्पादनको बजार प्रवर्द्धनका लागि दालहरूको ढुवानी, ब्रान्डिङ, प्याकेजिङ र अन्य साधनमा अनुदान दिएको छ । यसका लागि चालु आवमा गाउँपालिकाले बजेट विनियोजन गरेको कृषि तथा पशुपन्छी विकास शाखा अधिकृत प्रकाश सिंह धामीले बताए । उनका अनुसार अधिकांश बस्तीमा विभिन्न प्रकारका सिमी, भटमास, केराउलगायतका दाल प्रशस्त उत्पादन हुने गरेको छ ।

अहिलेसम्म किसानहरूले उत्पादन गरेको दालले खासै मूल्य नपाएको हुनाले उत्पादनमा मन लगाउन सकेका थिएनन् । अब गाउँपालिकाले बजार प्रवर्द्धन र ढुवानीमा सहयोग गरे उत्पादनमा वृद्धि हुने उनको बुझाइ छ । कार्यक्रम सञ्चालनका लागि आवश्यक पर्ने दाल तौलिने काँटा मेसिन, बोरा र गाउँपालिकाका टाढाटाढा गाउँबाट ढुवानी गरेबापत ढुवानीमा अनुदान उपलब्ध गरिएको छ । स्थानीय दाल बालीको प्रवर्द्धन गर्न र बजारको सुनिश्चितता गर्नका लागि यो कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

स्थानीय बस्तीहरूमा धेरै थरीका दाल बाली उत्पादन हुन्छन्, तर तिनको बजारीकरणको अभाव र ढुवानी समस्याको कारणले सम्बन्धित बजारसम्म पुग्न नसक्ने भएकाले यो कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका उपाध्यक्ष जगतसिंह ठगुन्नाले बताए । बजारमा पाइने दालमा भन्दा उच्च पहाडी क्षेत्रमा उत्पादन भएको दाल बालीमा पौष्टिक तत्त्वका हिसाबले गुणस्तर र फाइदाजनक रहेको गाउँपालिकाको बुझाइ छ । यसले किसानलाई उत्पादनमा आकर्षण र बजारको सुनिश्चिता हुने बाँझा खेतहरूमा उत्पादन सुरु हुने सम्भावना बढेको उपाध्यक्ष ठगुन्नाको भनाइ छ । उनले गाउँपालिकाका स्थानीय बजार एवं सदरमुकाम खलंगा, गोकुलेश्वर बजारमा नौगाडमा उत्पादन भएको दाल बिक्री भइरहेको बताए । रासायनिक मल र विषादी नमिसिएको र रोग, किरा कम लागेको कारणले पनि अहिले स्थानीय दाल बालीमा रुचि बढेको कृषि तथा पशुपन्छी विकास शाखा अधिकृत धामीको भनाइ छ । स्थानीय दुई सहकारी संस्थाले किसानबाट खरिद गरेर ब्रान्डिङ गरेर बजारमा पठाउने छन् ।

प्रकाशित : चैत्र ५, २०७९ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्

नाकामै थन्किए नयाँ सवारीसाधन

कान्तिपुर संवाददाता

पर्सा — आयातकर्ताले जाँचपास गरेर नलैजाँदा वीरगन्ज भन्सार नाकामा ठूलो संख्यामा नयाँ सवारीसाधन थन्किएका छन् । वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी परिसर (आईसीपी) मा जिप, कार, भ्यान र बस तथा ट्रकका चेसिस गरी २ हजार १३ नयाँ सवारीसाधन छन् । तीमध्ये ६ सय २० नयाँ जिप, कार, भ्यान हुन् भने १ हजार ३ सय ९३ बस/ट्रकका चेसिस छन् । 

आयातकर्ताले थन्किएका सवारीसाधन चोभार सुक्खा बन्दरगाहमा लगेर राख्न पाउनुपर्ने माग गरिरहँदा आईसीपी परिसरमा भने अब नयाँ सवारीसाधन राख्ने स्थानको अभाव हुन थालेको छ । आईसीपी सञ्चालक इन्टरमोडल यातायात विकास समितिका अपरेसन इन्जार्च जितेन्द्र रसाइलीले आयातकर्ताले बस तथा ट्रकका चेसिस र जिप, कार फाट्टफुट्ट छुटाएर लग्ने गरेको बताए । तर, जाँचपास गराउने भन्दा नयाँ सवारीसाधन भित्रिने दर बढी रहेकाले आईसीपी परिसरमा सवारीसाधनको संख्या घट्न सकेको छैन ।

‘गत आइतबार मात्रै भारतीय दूतावासले २८ वटा एम्बुलेन्स भित्र्याएको छ,’ उनले भने, ‘अन्य आयातकर्ताले पनि नयाँ सवारीसाधन आयात गर्ने क्रम जारी छ, केही दिन बिराएर यस्ता सवारी जाँचपास पनि भइरहेकै छन्, तर त्यो संख्या पर्याप्त छैन ।’ वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत दिल्ली सुवेदीले भन्सारमा अड्किएका सवारीसाधनको निकासको सम्बन्धमा मंगलबार सरोकारवालासँग राखिएको बैठक पनि निष्कर्षविहीन भएको बताए । कार्यालयले इन्टरमोडलसँगको समन्वयमा यो नाकाबाट सवारीसाधन आयात गर्ने मुख्य आयातकर्ता सिप्रदी, लक्ष्मी क्लियरिङ, टोयोटा, आइएमई मोटर्सलगायत कम्पनीका प्रतिनिधिसँग छलफल गरेको थियो ।

रसाइलीका अनुसार बस र ट्रकका चेसिसको प्रमुख आयातकर्ता सिप्रदी ट्रेडिङ हो । उक्त कम्पनीले मात्रै यहाँ आयात हुने कुल चेसिसको झन्डै ७० प्रतिशत आयात गर्छ । त्यसपछि क्रमशः आईएमई मोटर्स, ओम्नी मोटर्स हुन् । आईएमई मोटर्सले अशोक लेल्यान्ड र ओम्नी मोटर्सले भारत बेन्ज ब्रान्डका चेसिस आयात गर्छन् । थोरै चेसिस दुगड समूहले पनि आयात गर्छ । त्यसैगरी, जिप, कार, भ्यानको प्रमुख आयातकर्ता युनाइटेड ट्रेड सिन्डिकेट प्रालि, अग्नि इनकर्पोरेट प्रालि र लक्ष्मी इन्टरकन्टिनेन्टल हुन् । वीरगन्ज भन्सारका प्रवक्ता रामचन्द्र ढकालले बैंक तथा वित्तीय संस्थाहरूले लगानी नगर्दा तथा ब्याज दर नघट्दासम्म नयाँ सवारीसाधन जाँचपास सुस्त नै रहने बताए ।

प्रकाशित : चैत्र ५, २०७९ ०८:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×