छोराछोरी हुर्काउनै समस्या- सुदूरपश्चिम - कान्तिपुर समाचार

छोराछोरी हुर्काउनै समस्या

वसन्तप्रताप सिंह

बझाङ — बझाङ सदरमुकाम चैनपुरको मध्यभागमा पर्ने देवानटोलनजिकै बाटोसँग जोडिएको टिनको टहरो छ । त्यो बाटो हिँड्दा टहरो बाहिर देवीसरा पुन उदास मुद्रामा देखिन्छिन् । श्रीमान्को मृत्युपछि आफूलगायत तीन छोराछोरी हुर्काउने पढाउने भार ४० वर्षीया देवीसराको थाप्लोमा परेको छ ।

देवीसराको परिवार जाजरकोटको कुशे गाउँपालिकाबाट १५ वर्षअघि बझाङ आएको थियो । गाउँमा गरिबीका कारण खान, बस्न समस्या भएपछि बझाङमै जडीबुटी संकलन गर्न जाने क्रममा दुई वर्षअघि उनका श्रीमान् खड्क पुनको मृत्यु भएपछि देवीसराको परिवार समस्यामा परेको हो ।

टिनको टहरो भाडामा लिएर परिवार पालनपोषण गरिरहेका श्रीमान् नै बितेपछि आश्रित परिवारको बिचल्ली भएको छ । श्रीमान्को मृत्यु भएपछि उनलाई बिहान, बेलुका छाक टार्न पनि समस्या भइरहेको छ । ‘श्रीमान्ले केही पैसा बचत गर्नुभएको थियो । उहाँ बितेको एक वर्षसम्म त त्यसैले चलाएँ । अहिले आएर धेरै समस्या भएको छ’ उनले भनिन, ‘काम पाएका दिन चुल्हो बल्छ, काम नपाएको दिन भोकै बस्नुपर्छ ।’ सदरमुकाममा हुने निर्माणका काममा उनले गिट्टी, बालुवा, ढुंगा बोक्ने काम गरेर छोराछोरी हुर्काइरहेको बताइन् ।

उनका तीन सन्तानमध्ये १६ र ११ वर्षका दुई छोरी र नौ वर्षका एक छोरा छन् । जेठी छोरी १० कक्षामा अध्ययनरत छिन् । माइली छोरी र छोरा तीन कक्षामा पढिरहेका छन् । विद्यालयको पोसाक र कापी, किताबको जोहो गर्न नसक्दा उनीहरूको पढाइ नै छुट्ने अवस्था छ । ‘अब एसईई परीक्षा आउँदै छ । सबै साथी ट्युसन पढिरहेका छन्’ देवीसराकी जेठी छोरीले भनिन्, ‘हामीलाई कापी, कलम किन्ने पैसा त छैन । कहिले त भोकै स्कुल जानुपर्छ । कहाँबाट ट्युसन पढ्नु ? उनले आफ्नो पढाइ बिग्रे पनि भाइबहिनीलाई कुनै संस्थाले पढाइ दिए ठूलो सहयोग हुने बताइन् ।

श्रीमान्को मृत्युपछि एकल महिलाले पाउने सामाजिक सुरक्षा भत्ता पनि आफूले नपाएको देवीसराको गुनासो छ । बझाङबाटै भत्ता पाउने व्यवस्था नभएपछि मंसिरमा भत्ताको प्रक्रिया मिलाउन आफू जाजरकोट पुगेको बताइन् । गाउँपालिकाले फागुनमा आउनु भनेर फर्काइदिएको उनको गुनासो छ । ‘मंसिरमा सबै कागजपत्र लिएर जाजरकोट गएकी हुँ । अहिले हुँदैन । फागुनतिर आउनु भनेर फर्काइदिए’ उनले भनिन्, ‘आउँदा जाँदाको खर्च बेकारमा खेर गयो ।’ उनले फागुनमा खर्चको अभावमा जान नसकेको बताइन् । ‘आउँदा जाँदा १०/१२ हजार खर्च भइहाल्छ । त्यति पैसाले यहाँ एक महिना केटाकेटी पाल्न पुग्छ । खर्च नपाएर गएकी छैन,’ उनले भनिन् ।

प्रकाशित : चैत्र ५, २०७९ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्

दलहन प्रवर्द्धनमा पालिकाको सहयोग

दालको ढुवानी, ब्रान्डिङ, प्याकेजिङ र अन्य साधनमा अनुदान
मनोज बडू

दार्चुला — नौगाड गाउँपालिकामा दलहन बालीको उत्पादन र बजार प्रवर्द्धनमा गाउँपालिकाले सहयोग गरेको छ । गाउँपालिकाको अधिकांश ठाउँमा दालजन्य बाली उत्पादन हुने भएपछि बजार विस्तारका लागि गाउँपालिकाले सहयोग गरेको हो ।

दार्चुलाको नौगाड गाउँपालिकाको सहयोगमा बजार प्रवर्द्धनका लागि प्याकेजिङ गरेका दालका बोरा । तस्बिर सौजन्य : प्रकाशसिह धामी

नौगाड गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० को कृषि तथा पशुपन्छी विकास शाखाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत दाल बालीमा बजार प्रवर्द्धन कार्यक्रम अगाडि बढाएको छ । स्थानीय उत्पादनको बजार प्रवर्द्धनका लागि दालहरूको ढुवानी, ब्रान्डिङ, प्याकेजिङ र अन्य साधनमा अनुदान दिएको छ । यसका लागि चालु आवमा गाउँपालिकाले बजेट विनियोजन गरेको कृषि तथा पशुपन्छी विकास शाखा अधिकृत प्रकाश सिंह धामीले बताए । उनका अनुसार अधिकांश बस्तीमा विभिन्न प्रकारका सिमी, भटमास, केराउलगायतका दाल प्रशस्त उत्पादन हुने गरेको छ ।

अहिलेसम्म किसानहरूले उत्पादन गरेको दालले खासै मूल्य नपाएको हुनाले उत्पादनमा मन लगाउन सकेका थिएनन् । अब गाउँपालिकाले बजार प्रवर्द्धन र ढुवानीमा सहयोग गरे उत्पादनमा वृद्धि हुने उनको बुझाइ छ । कार्यक्रम सञ्चालनका लागि आवश्यक पर्ने दाल तौलिने काँटा मेसिन, बोरा र गाउँपालिकाका टाढाटाढा गाउँबाट ढुवानी गरेबापत ढुवानीमा अनुदान उपलब्ध गरिएको छ । स्थानीय दाल बालीको प्रवर्द्धन गर्न र बजारको सुनिश्चितता गर्नका लागि यो कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

स्थानीय बस्तीहरूमा धेरै थरीका दाल बाली उत्पादन हुन्छन्, तर तिनको बजारीकरणको अभाव र ढुवानी समस्याको कारणले सम्बन्धित बजारसम्म पुग्न नसक्ने भएकाले यो कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका उपाध्यक्ष जगतसिंह ठगुन्नाले बताए । बजारमा पाइने दालमा भन्दा उच्च पहाडी क्षेत्रमा उत्पादन भएको दाल बालीमा पौष्टिक तत्त्वका हिसाबले गुणस्तर र फाइदाजनक रहेको गाउँपालिकाको बुझाइ छ । यसले किसानलाई उत्पादनमा आकर्षण र बजारको सुनिश्चिता हुने बाँझा खेतहरूमा उत्पादन सुरु हुने सम्भावना बढेको उपाध्यक्ष ठगुन्नाको भनाइ छ । उनले गाउँपालिकाका स्थानीय बजार एवं सदरमुकाम खलंगा, गोकुलेश्वर बजारमा नौगाडमा उत्पादन भएको दाल बिक्री भइरहेको बताए । रासायनिक मल र विषादी नमिसिएको र रोग, किरा कम लागेको कारणले पनि अहिले स्थानीय दाल बालीमा रुचि बढेको कृषि तथा पशुपन्छी विकास शाखा अधिकृत धामीको भनाइ छ । स्थानीय दुई सहकारी संस्थाले किसानबाट खरिद गरेर ब्रान्डिङ गरेर बजारमा पठाउने छन् ।

प्रकाशित : चैत्र ५, २०७९ ०८:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×