मैदा उद्योग चल्न कठिन- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मैदा उद्योग चल्न कठिन

मोहन बुडाऐर

धनगढी — भारतले गहुँ निर्यातमा बन्देज लगाउँदा मारमा परेका नेपाली मैदा उद्योगीले नेपाल सरकारसंँग २ लाख मेट्रिक टन गहुँ आयातका लागि पहल गर्न माग गरेका छन् । फागुनमा भारतले नेपाल सरकारको पहलमा ‘परिणात्मक बन्देज’ मा ५० हजार मेट्रिक टन निर्यात खोलेको थियो ।

कैलाली धनगढीका मैदा उद्योगी तथा कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष मनोज अग्रवालले अघिल्लो महिना सरकारको पहलमा भारतबाट नेपालका लागि ५० हजार मेट्रिक टन गहुँ आयातले उपभोक्ताले मैदालगायतका बस्तु थोरै भए पनि सस्तोमा पाएको बताए ।

उक्त गहुँ नेपालका सबै ४० वटा मैदा उद्योगलाई कोटा निर्धारण गरी आयात गर्ने स्विकृति दिएको थियो । सरकारले अघिल्लो वर्ष उद्योगले उत्पादन गरेको मैदाको ७ प्रतिशतका दरले सबैलाई पुने गरी कोटा निर्धारणको आयात स्वीकृति दिएको थियो । जसमध्ये १३ वटा उद्योगले कोटा निर्धारण गर्दा समयमा आयात गर्ने निवेदन भर्न छुटेर ७ प्रतिशत पनि आयात गर्न पाएका थिएनन् ।

कैलालीका तीन वटामध्ये गोदावरी फ्लोर मिलको कोटा निर्धारण गहुँ आयात गर्न छुटेको थियो । कोटा निर्धारणमा कैलालीको आरपी फलोर मिल र भागेश्वरले भने अघिल्लो वर्ष उत्पादन भएको मैदाको ७ प्रतिशतका गहुँ आयात गर्ने स्वीकृति पाएको थियो । भागेश्वरले ३ हजार र आरपीले २० हजार क्विन्टल गहुँ मात्रै भारतबाट आयात गर्न पाएको थियो ।

‘परिणात्मक बन्देज’ मा गरिने गहुँको आयात नेपाली मैदा उद्योगका लागि दीर्घकालीन समाधान नभएर छोटो अबधिमा पाउने राहत भएको अग्रवालको भनाइ छ । व्यवसायी अग्रवालले नेपाली ४० वटा मैदा उद्योगका लागि ८ देखि १० लाख मेट्रिक टन गहुँ आयात हुनुपर्ने बताए । उनका अनुसार गहुँको आन्तरिक उत्पादनले ४/५ महिना मात्रै नेपाली मैदा उद्योगलाई धान्ने सक्छ । उनले आइतबारसम्म औपचारिक रूपमा नेपाल मैदा उद्योग व्यवसायी संघले निर्णय गरेर सरकारसंँग गहुँ आपूर्तिका लागि भारत सरकारसंँग पहल गर्न माग राख्न जान लागेको समेत बताए ।

सुदूरपश्चिम उद्योग वाणिज्य संघका अध्यक्ष एंव भागेश्वर फ्लोर मिलका प्रबन्धनिर्देशक शंकर बोगटीले भारत निर्भर नेपालका मैदा मिलका लागि सरकारले भारतबाट आयात गर्न पाउने गरि पहल नगर्दासम्म समस्या स्थायी रुपमा समाधान नहुने बताएका छन् । ‘परिणात्मक बन्देज’ मा भारतको गहुँ निर्यात फुकुवाले मैदा उद्योग मार मै पर्ने छन्,’ बोगटीले भने, ‘आन्तरिक उत्पादन बढ्नु जरुरी छ ।’

उनले आन्तरिक गहुँ उत्पादन बजारमा आउने बेला भएकोले पनि अहिले तत्काल मैदा, सुजी र आटाको आपूर्तिमा समस्या नआउने बताए । तर आन्तरिक गहुँ उत्पादन ५ महिना पनि नपुग्ने भएकोले सरकारले गहुँको आयातमा गृहकार्य गरेर भारत सरकारसँंग वार्षिक निर्यात कोटा माग्नुपर्ने जनाए । बेगटीले नेपाली मैदा उद्योग ‘परिणात्मक बन्देजमा गहुँको आयातले नेपाली उद्योग नचल्ने बताए । भारतबाट गहुँ आयात फुकुवा नगरे नेपाली उद्योग कुनै दिन पनि बन्द हुने अवस्थामा पुग्ने उनको भनाइ छ ।

प्रकाशित : चैत्र ५, २०७९ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्

सीमावर्ती क्षेत्रमा होमस्टे चलाइने

कान्तिपुर संवाददाता

पाँचथर — भारतको पश्चिम बंगाल र सिक्किमको सिमाना जोड्ने पाँचथरस्थित उच्च पहाडी एवं हिमाली क्षेत्रमा पर्यटक सुविधाका लागि होमस्टे सञ्चालनको तयारी थालिएको छ ।

फालेलुङ गाउँपालिका वडा ४ र ५ स्थित आहाले, चन्दु, चारराते, सिखरगुम र तीन सिमाना क्षेत्रमा ३० वटा होमस्टे सञ्चालन गरिने योजना अघि बढेको छ । सीमावर्ती क्षेत्रबाट थालिएका उक्त योजना फालेलुङका मुवाझर्ना, गुरुङटार, पानावा, भैंसे र गोरुवाले जस्ता पर्यटकीय स्थलसम्म विस्तार गर्ने लक्ष्य राखेर सहजीकरण गरिएको फालेलुङ कञ्चनजंघा पर्या पर्यटन संस्थाका उपाध्यक्ष शिल्प राईले जानकारी दिए ।

उनका अनुसार होमस्टे सञ्चालनका लागि फालेलुङ गाउँपालिकाले कार्यविधि बनाएर कार्यपालिका बैठकमार्फत् पारित गरिसकेको छ । यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तारा गाउँविकास समितिले होमस्टे दर्तासँगै सञ्चालकहरूका लागि आधारभूत तहको तालिम सञ्चालन गरेको छ । हालसम्म ९ होमस्टे दर्ता भइसकेको र बाँकी २१ वटा दर्ता प्रक्रियामा छन् । यसका लागि आवश्यक पूर्वाधार सञ्चालक स्वयंले निर्माण गर्ने, गाउँपालिकाले स्थानीय, सामुदायिक वन उपभोक्ता समिति र सरोकारवाला निकायमा समन्वय गरिदिने र उक्त समितिले आर्थिक र प्राविधिक सहयोग गर्ने सहमति भएको छ ।


उक्त समितिका लेखापाल लीलाप्रसाद तिम्सिनाका अनुसार मन्त्रालयले व्यवसायीलाई आधारभूत तहदेखि खाना पकाउने, हस्पिटालिटीजस्ता प्राविधिक तालिमसँगै सामुदायिक भवन निर्माणका लागि आर्थिक सहयोग गर्नेछ । पाँचथर र इलामका उच्च पहाडी तथा हिमाली भेगमा चौंरीसँगै रेडपाण्डा र विभिन्न जडीबुटी पाइन्छन् । यहाँ आन्तरिकसँगै भारतको बंगाल, सिक्किम, पञ्जाब र भुटानबाट समेत पर्यटक आउँछन् । सीमावर्ती क्षेत्रमा भारततर्फ ठाउँठाउँमा व्यवस्थित होटल र लज सञ्चालनमा आए पनि नेपालतर्फ छिटफुटबाहेक त्यस्ता सेवा व्यावसायिक रूपमा सञ्चालन गरिएको छैन । नेपालतर्फ घुम्न आएका पर्यटकमध्ये धेरै पाल टाँगेर वा चौंरी गोठमा बस्न बाध्य हुन्छन् ।

ती पर्यटकलाई सुविधा दिन होमस्टे सञ्चालनको अवधारणा ल्याइएको हो । फालेलुङ गाउँपालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङ होमस्टे सञ्चालनमा आएपछि यस क्षेत्रमा आउने पर्यटकलाई गाँसबासको सुविधासँगै स्थानीयको आयस्रोतमा पनि वृद्धि हुने बताउँछन् । यहाँका होम स्टेमा मकै, भट्मास, आलु, फर्सी, इस्कुस, बन्दाकोबी, रायो, चौंरीको चिजजस्ता वस्तुका परिकारलाई प्राथमिकता दिइने सञ्चालक प्रमिला तामाङ बताउँछिन् ।

प्रकाशित : चैत्र ५, २०७९ ०७:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×