सम्झौताको सात वर्षसम्म झोलुंगे पुल अधुरै- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सम्झौताको सात वर्षसम्म झोलुंगे पुल अधुरै

वसन्तप्रताप सिंह

बझाङ — सात वर्षअघि निर्माण पूरा गर्ने भनेर ठेक्का सम्झौता भएको दुर्गम साइपाल गाउँपालिकाको एउटा झोलुंगे अझै पूर्णरूपमा सम्पन्न हुन सकेको छैन । पुल निर्माण भए पनि बाटो नबनेका कारण वारपार गर्न समस्या छ । स्थानीय श्रमिकले काम गरेको ज्याला नदिई ठेकेदार सम्पर्कविहीन भएका छन् ।

जिल्लाको विकट साइपाल गाउँपालिकाको उत्तरी क्षेत्रमा रहेको इंगलद्वार खोलाको पुल ठेकेदार कम्पनीको लापरबाहीका कारण अलपत्र परेको हो । उक्त खोलामा पुल नहुँदा साँघुबाट खसेर र जंघार तर्ने क्रममा खोलामा बगेर सात वर्षको अवधिमा सात जनाले ज्यान गुमाइसकेका छन् ।

स्थानीय र जनप्रतिनिधिको निरन्तरको दबाबपछि ठेकेदारले झोलुंगे पुल निर्माण गरे पनि पुलको उतरी छेउको पहरामा बाटो नबनाउँदा वारपार गर्न असहज छ । ‘पुल त बनेको छ । पुलसँगै जोडिएको पड (चट्टान) नकाटेको कारण तर्न मिल्दैन,’ साइपाल गाउँपालिका –४, धुलीका लालबहादुर बोहराले भने, ‘पुल जोडिसकेपछि ठेकेदार भागिसकेको छ ।’ उनले पुलको मुख पहरामा जोडिएकाले पुल बनेर पनि प्रयोग हुन नसकेको बताए ।

२०७३ मंसिरमा स्थानीय विकास मन्त्रालयअन्तर्गतको डोलिडार परियोजनासँग ठेक्का सम्झौता गरी एक वर्षभित्र निर्माण सम्पन्न गर्ने जिम्मा लिएको हरिहरि निर्माण सेवा प्रालिले काम अधुरै छोडेर भागेपछि समस्या भएको धुलीका गोरख लामाले बताए । उनले ठेकेदारले रकम नदिएर भागेपछि श्रमिकहरूले आफूलाई दुःख दिन थालेको सुनाए ।

‘पुलमा काम गरेका स्थानीयको ३२ लाख जति रकम दिन बाँकी नै छ । तपार्इं काम गराउनुहोस् रकमको चिन्ता नगर्नुहोला भनेको थियो । अहिले फोन नै नउठाउने भएको छ,’ लामाले भने, ‘ठेकेदारले फोन उठाउँदैन । कामदारले काम गरेको पैसा चाहियो भनेर मलाई कचकच गरिरहेका छन् ।’

बझाङका स्थानीयको भोट (कैलाश मानसरोवर) जाने मुख्य मार्गमा रहेको यो पुलको लम्बाइ १ सय २० मिटर छ । बर्सेनि सयौंको संख्यामा मानसरोवर जाने तीर्थयात्री, चीनको ताक्लाकोट जाने व्यापारी, जडीबुटी संकलक र पशुपालकहरू यो बाटो भएर ओहोरदोहोर गर्छन् । १ करोड ७८ लाख २८ हजारको लागतमा २०७४ मंसिरमै निर्माण सम्पन्न हुनुपर्ने पुल ठेकेदारले अलपत्र पारेपछि गाउँपालिकाका स्थानीय र जनप्रतिनिधिहरूले निर्माणका लागि ठेकेदारलाई दबाब दिँदै आएका थिए । ‘धेरै पटक काठमाडौंमै पुगेर ठेकेदारलाई भेटेर दबाब दिएपछि पुल त जोडेर गएको छ तर पूरा काम गरेको छैन,’ गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले भनिन्, ‘कामदारको रकम पनि दिएको छैन ।’

यो पुल अलपत्र भएको बारेमा कान्तिपुर दैनिकमा पटकपटक समाचार प्रकाशित भएपछि दुई वर्षअघि ठेकेदारले हेलिकप्टरमार्फत निर्माण सामग्री ढुवानी गरी पुल निर्माणको सुरुवात गरेको थियो । पुल अधुरै रहेको र ज्याला नपाएको विषयमा बुझ्न कान्तिपुरले पटकपटक सम्पर्क गर्दा निर्माण कम्पनी हरिहरि निर्माण सेवाका सञ्चालक प्रकाश शाहले फोन सम्पर्कमा आएनन् । पुल निर्माणस्थल जिल्लाको अन्तिम मानवबस्ती साइपाल गाउँपालिकाको धुली गाउँबाट करिब २० किलोमिटर उत्तरमा छ । यो बाटो भएर साइपाल गाउँपालिकाका बासिन्दाको दैनिक कामकाज र पशुपालनका लागि ओहोरदोहोर गर्छन् । पुल नहुँदा खोला तर्ने क्रममा बर्सेनि मानिसहरूले ज्यान गुमाउने गरेका छन् ।

पुल निर्माणस्थलमा आफैं पुगेर अनुगमन गर्दा बाटो नबनेको र कामदारले रकम नपाएको जनगुनासो आएपछि सम्पर्क गर्दा ठेकदारले फोन नै नउठाउने गरेको गाउँपालिका अध्यक्ष मानवीर बोहरा बताउँछन् । ‘म आफैं त्यहाँ पुगेर अनुगमन गरेको छु । पुल जोडेको भए पनि बाटो नभएकाले वारपार गर्न मिल्दैन । कामदारको ज्याला पनि नदिएको रहेछ,’ उनले भने, ‘यो विषयमा बुझ्न फोन गर्दा फोन नै उठाउँदैनन् ।’ उनले ठेकदार सम्पर्कमा नआए प्रशासनिक कारबाहीका लागि पहल गरिने बताए ।

प्रकाशित : चैत्र ३, २०७९ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्

वाट्सनको ‘ब्युटी एन्ड द बिस्ट’ सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् २०१७ मा आजकै दिन (मार्च १७) मा इमा वाट्सन, अभिनीत ‘ब्युटी एन्ड द बिस्ट’ फिल्म सार्वजनिक प्रदर्शनमा आएको थियो । बिल कन्डनद्वारा निर्देशित ‘ब्युटी एन्ड द बिस्ट’ २०१७ को फेब्रुअरी २३ मा लन्डनको स्पेन्सर हाउसमा प्रिमियर गरिएको करिब तीन सातापछि सार्वजनिक प्रदर्शनमा आएको हो । 

फिल्ममा डान स्टेभेन्स, लुक इभान्स, केभिन केलिन, जोस गाड, इवान क्याकग्रेर, स्टान्ली टुसी, इयान क्याककेलेन, इमा थोम्पसनलगायतले अभियन गरेका छन् । ‘ब्युटी एन्ड द बिस्ट’ उपन्यासमा आधारित फिल्मका निर्माताद्वय डेभिड होभरम्यान र टोड लिबरम्यान हुन् ।

भर्जिनिया काट्जले सम्पादनमा गरेको १ सय २९ मिनेट लामो फिल्म करिब २५४ मिलियन अमेरिकी डलरमा बनेको जनाइएको छ । फिल्मले बक्स अफिसमा १.२६६ बिलियन अमेरिकी डलर कलेक्सन गरेको थियो । त्यसमध्ये अमेरिकाम ५०४ मिलियन र क्यानडामा ७५९ मिलियनको व्यापार गरेको थियो ।

फिल्म ९० औं ओस्कार अवार्डमा दुई विधामा मनोनयमा परेका थियो । त्यस्तै, २३ औं क्रिटिक्स च्वाइस अवार्डमा ४ विधामा र ७१ औं ब्रिटिस एकेडेमी फिल्म अवार्डमा दुई विधामा मनोनयनमा परेको थियो ।

वाट्सन ह्यारी पोर्टर सिरिजका फिल्मबाट निकै चर्चामा आएकी थिइन् । ९ वर्षबाट अभिनय यात्रा थालेकी वाट्सनले ह्यारी पोर्टर सिरिजका सबै आठ फिल्ममा अभिनय गरेकी छन् । उनी फ्रान्सको राजधानी पेरिसमा १९९० को अप्रिल १५ मा जन्मिएकी हुन् ।

प्रकाशित : चैत्र ३, २०७९ ०७:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×