ठाँटीखाँद–विनायक सडक खण्ड निर्माणमा ढिलाइ- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठाँटीखाँद–विनायक सडक खण्ड निर्माणमा ढिलाइ

सडक आयोजनाको पहिलो म्याद सकिएको ३ वर्ष पुग्दा पनि काम पूरा हुन सकेको छैन
मेनुका ढुंगाना

अछाम — सरकारले गौरवको आयोजनाका रूपमा लिएको मध्यपहाडी लोकमार्गअन्तर्गत अछामको ठाँटीखाँद–विनायक सडक खण्डको काम अझै सम्पन्न भएको छैन । बयालपाटा–मंगलसेन, मंगलसेन–ठाटीखाँद र विनायक–बेलखेत खण्डमा कालोपत्रेको काम सकिएको छ । तर बीचमा पर्ने विनायक–ठाटीखाँद खण्डको निर्माणमा पर्ने १६ किलोमिटर सडको काममा ढिलाइ भएको हो ।

२०७३ वैशाख १६ गते सम्झौता भई २०७६ वैशाख १५ सम्म कालोपत्रे सक्ने लक्ष्य रहेको यो सडक आयोजनाको पहिलो म्याद सकिएको ३ वर्ष पुग्दा पनि काम पूरा हुन सकेको छैन । आयोजनाका साइट इन्चार्ज देवेन्द्र भट्टराईका अनुसार अछामको तीन खण्डमा काम सम्पन्न भए पनि बीचको खण्डको गुणस्तर र आयोजनाबारेमा अख्तियार अनुसन्धान आयोगमा उजुरी परेकाले कागजी हिसाबमा योजना सम्पन्न हुन नसकेको हो ।

‘निर्माण कम्पनीले ९६ प्रतिशतभन्दा बढी काम सकेको छ । ठूलो पहिरो लागेको ठाउँमा अहिले अर्को ठेक्का लागेर मर्मतको काम भइरहेको छ’ भट्टराईले भने, ‘यस सडक खण्डको विषयमा अख्तियार दुरुपयोग अनुसन्धानमा उजुरी पनि परेको छ ।’ अख्तियारले अहिले हेरिरहेको भएर सडकको काम सकियो भन्न सक्ने अवस्था छैन भन्दै उनले जिल्लाको अन्य भागको काम सकिएको र कैलाश खोला नजिकैको नदीमा पुल निर्माण भइरहेको जनाए ।

आफ्नै नगरपालिकामा पर्ने सडकको काम म्याद पूरा हुँदा पनि नसकिएको बारे चासो राख्दा पनि अहिलेसम्म काम सम्पन्न हुन नसकेको पञ्चदेवल विनायक नगरपालिकाकी प्रमुख अम्बिका चलाउनेले बताइन् । ‘कालोपत्रे भएको सडकको काम पनि गुणस्तर भएन भनेर पटकपटक हामीले भन्दै आएका छौं । अर्कोतिर म्याद सकिएको धेरै समय भइसक्दा पनि निर्माण सकिएको छैन,’ उनले भनिन्, ‘सडक निर्माणको जिम्मा पाएको कम्पनीसंँग कुरा गर्दा हामी गुणस्तर पनि हेर्छौं काम पनि सक्छौं भन्छन् । तर काम भने गर्दैनन् ।’

निर्माण कम्पनीले समयमै आवश्यक सामग्री उपलब्ध नगराउँदा काम ढिलो भएको आयोजनाको निर्माणस्थलमा खटिएका एक प्राविधिकले बताए । ‘यहाँ काम गर्ने कर्मचारीको बिमा पनि भएको थिएन । उच्च जोखिममा काम गर्न चुनौती थियो । साइडको भूगोल र मौसमले पनि साथ दिएन,’ उनले भने, ‘हामीलाई पनि अन्य ठाउँमा काम भइरहेजस्तै गरी उत्साहका साथ काम गर्न मन थियो । लापरबाही धेरै भयो । कर्मचारीलाई हौसला र उत्साह त कहाँ हो कहाँ सामग्री पनि समयमा आएन ।’

निर्माणको जिम्मा पाएको राजेन्द्र निर्माण सेवाका प्रमुखको बेवास्ताकै कारण निर्माणमा ढिलाइ भएको साइडमा कार्यरत उनले बताए । साइडमा काम गर्ने मान्छेले कहिल्यै निरन्तरता नदिएको स्थानीयको भनाइ छ । ‘महिनाको एक दुई पटक यहाँ काम गर्ने मान्छे देखिन्छन् । फेरि बीचमै छोड्छन् । काममा निरन्तरता नै छैन’ स्थानीय मिनराज तिमिल्सैनाले भने ,‘यहाँ मान्छे आएका बेला किन ढिलो भयो भनेर हामी पनि सोधिरहेका छौं । तर, वास्ता नै गर्दैनन् ।’ स्थानीयका अनुसार एकै पटक धेरै मान्छे आएर सडकमा काम गरेजस्तो मात्रै भएको छ । निर्माण कम्पनीको लापरबाहीका कारण यो खण्डको काम तीव्र गतिमा अघि बढ्न नसकेको उनीहरूको ठहर छ । ‘मंगलसेनदेखि सुर्खेत जोड्ने मुख्य सडकमा ठूलो पहिरो छ । वर्षामा धेरै जोखिम हुन्छ । ठेकेदारले पहिले पहिरोको काम सक्नुपर्ने हो,’ स्थानीय नैना तिमिल्सेनाले भनिन् ,‘सरोकारवालाले चासो नदिएसम्म यो सडकको काम सकिएलाजस्तो लाग्दैन ।’

सडक कालोपत्रे भएपछि आर्थिक गतिविधि बढ्ने, तराईका जिल्ला जोड्नका लागि छोटो रुट हुनेलगायतका सुिवधाका कारण स्थानीयहरू लोकमार्ग कालोपत्रेको ब्यग्र प्रतीक्षामा छन् । मध्यपहाडी लोकमार्ग निर्माण कार्य सम्पन्न भएपछि अछामसहित छिमेकी जिल्लाहरूमा पनि आर्थिक गतिविधिहरू बढ्नेछ ।

प्रकाशित : चैत्र ३, २०७९ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्

विकासका नाममा खोला दोहन बढ्यो

मापदण्डभन्दा बढी गिट्टीबालुवा निकाल्दा नदी र खोलाको गहिराइ बढेकाले खेतीयोग्य जग्गामा सिँचाइको समस्या
विप्लव महर्जन

सल्यान — पक्की भवन, सडक स्तरवृद्धि, कालोपत्र, पुल, पर्खालजस्ता विकास निर्माणको नाममा सल्यानमा खोला दोहन बढ्दै गएको छ । स्थानीय तहले आर्थिक स्रोत जुटाउने नाममा टेन्डर गरेर गिट्टीबालुवा र ढुंगा उत्खनन गर्ने जिम्मेवारी ठेकेदारलाई जिम्मेवारी दिएका छन् । ठूला योजनाका लागि कम्पनीले सम्बन्धित निकायको सहमतिमै उत्खनन गर्न पाउने भएपछि खोला दोहन बढ्दै गएको हो ।

सल्यानस्थित शारदा नदीको बीचबाटै डोजर लगाएर गिट्टीबालुवा उत्खननले परेका खाल्डाखुल्डी । तस्बिर : विप्लव/कान्तिपुर

दोहनका कारण जिल्लाको प्राकृतिक सम्पदाको रूपमा चिनिने शारदा, बबई नदी, बन्गाड, त्रिवेणी, मास खोला, संग्रहीलगायत जिल्लाभरिका अधिकांश खोला मात्र नभई खेतीयोग्य जग्गा र बस्तीसमेत जोखिममा परेका छन् । हिजोआज कतिपय खोलामा ढुंगा, बालुवा पाउनै मुस्किल हुन थालेको छ ।

स्थानीय तहबाट ठेक्का लिएका ठेकेदारले आईईईमा तोकेभन्दा बढी गिट्टीबालुवा निकाल्दा शारदा नदी, बन्गाड, त्रिवेणीलगायत खोलाको गहिराइ बढेकाले खेतीयोग्य जग्गामा सिँचाइको समस्या देखिएको छ । खोलाबाट माछासमेत हराउँदै गएका छन् ।

संरक्षण गर्ने जिम्मेवारी पाएको स्थानीय तहले नै स्थानीय स्रोतका नाममा टेन्डर गर्दै आएका छन् । विकास निर्माणको काममा गिट्टीबालुवा उत्खनन गर्न पाउने व्यवस्था मिलाएपछि कालीमाटी गाउँपालिकाभित्र पर्ने शारदा, बबई नदीलगायत अन्य खहरेखोलामा दोहन बढेको कालीमाटी गाउँपालिका ५ का स्थानीय तथा माओवादीका नेता पुरुषोत्तम भट्टराईले बताए । सम्बन्धित निकायले कहाँबाट उत्खनन गर्ने/नगर्ने मापदण्ड बनाए पनि विकासको काममा निर्माण कम्पनी, उपभोक्ता समितिलगायत अन्यले मापदण्डबाहिर गएर खोलाजन्य वस्तु उत्खनन गरिरहेको उनको भनाइ छ । ‘खोला दोहन तथा गिट्टीबालुवा उत्खननले गर्दा खेतीयोग्य जग्गा सिँचाइको अभावमा पाखोमा परिणत हुँदै आएका छन्,’ उनले भने, ‘केही स्थानमा नजिकै नदी भए पनि खोलाको गहिराइ बढेकाले खेतमा सिँचाइ गर्न कुलो नहुँदा पम्प सेट जडान गर्नुपर्ने अवस्था छ ।’ नदीको बीचभागबाट डोजर लगाई उत्खनन गर्न नपाइने भए पनि अहिले खुलेआम विकास निर्माणको काम गर्ने कम्पनीले डोजरले गिट्टीबालुवा तान्दै आएकाले शारदा नदीमा भएका ढुंगाहरू देखिन छाडेका छन् ।

जसका कारण खाल्डाखुल्डी भएकाले डुबेर ज्यान जान सक्ने अवस्था रहेको त्रिवेणी गाउँपालिका १ तल्नो काभ्राका खड्कबहादुर बस्नेतले बताए । दोहनका शारदाको गहिराइ बढ्दा वर्षात्को समयमा आउने भेलले विभिन्न किसिमको क्षति पुर्‍याउँदै आएको र नदी वारपार गर्न गाह्रो हुने उनले जनाए । जथाभावी खोला दोहन नगर्न बारम्बार आग्रह गर्दै आए पनि सम्बन्धित निकायले कुनै चासो नदेखाएको उनको गुनासो छ । ‘विकास निर्माणका नाममा भएको दोहनले अहिले कसैले घर, शौचालय निर्माण गराउनुपर्दा सजिलै बालुवा पाइँदैन, धेरै तल पुग्नुपर्छ । उस्तै परे धेरै रकम खर्च गरेर भेरी नजिकैबाट टेक्टरमा घरसम्म ल्याउनुपर्छ,’ बन्गाड कुपिण्डे नगरपालिका १० ढोरपिपलका वर्ष ४५ का हेरम घर्तीले भने, ‘पहिला खोलामा प्रशस्त ढुंगा थिए । घर नजिकैको खोलामा माछा पाइन्थे । अहिले न ढुंगा छ, न माछा ।’

खोलाजन्य वस्तु उत्खननले जिल्लाका खेतीयोग्य जग्गामा सिँचाइका लागि किसानले विभिन्न किसिमका समस्या झेल्नुपरेको छ । सिँचाइका लागि बाँध बनाउनुपर्ने अवस्था आएको कृषि विकास कार्यालय सल्यानका प्रमुख भरतकुमार बस्नेतले बताए । उत्खननले गर्दा केही खेतीयोग्य जग्गासमेत मासिएको उनले जनाए । जथाभावी उत्खननले खोलामा पानी पातलिने समस्या पनि आउने उनको भनाइ छ । विकास निर्माणको काम गर्दा निर्माण कम्पनीले खोला जन्य वस्तु उत्खनन गर्दा कतै कुलो, कतै खोलै पुरिए पनि अहिलेसम्म त्यस्तो गम्भीर खालको समस्या नआएको कालीमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर खत्रीले सुनाए । केही वर्षअघि पालिकामा एक योजनाका लागि क्रसर सञ्चालन गर्दा केही समस्या आएको र अहिले बन्द भएकाले त्यत्ति समस्या नभएको उनको दाबी छ । पालिकाले गिट्टीबालुवा उत्खननका लागि प्रत्येक दुई वर्षमा आईईई गरेर मात्र टेन्डरको आह्वान गर्दै आएको उनको भनाइ छ ।

ठूला योजनाका लागि सम्बन्धित निकायबाटै गिट्टीबालुवा उत्खनन गर्न पाउने इजाजत आउने भएकाले पालिकाले त्यसमा कुनै रोक लगाउन नसकेको बताउँदै त्रिवेणी गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले उत्खनन गरेबापत कर मात्र लिँदै आएको सुनाए । पालिकाले सञ्चालन गरेको योजनाका लागि खोलाजन्य वस्तु उत्खनन गर्दा शुल्क नलाग्ने उनको भनाइ छ । जिल्ला प्रशासन कार्यालय सल्यानका सहायक प्रजिअी थमन खड्काले मापदण्ड नपुर्‍याई उत्खनन गरेकालाई कारबाही हुने बताए ।

प्रकाशित : चैत्र ३, २०७९ ०७:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×