निःशुल्क उपचारले बयलपाटामा बिरामीको ओइरो

अहिले दिइरहेको सेवा एक निःशुल्क गर्न एक आर्थिक वर्षमा कम्तीमा २२ करोड रुपैयाँ बजेट आवश्यक
मेनुका ढुंगाना

अछाम — तीन वर्ष अगाडि कञ्चनपुरको कृष्ण नगरपालिका–२ का ३२ वर्षीय अशोक चन्द काठमाडौंको ढुंगेधारामा मोटरसाइकल दुर्घटनामा परे । बायाँ खुट्टाको हड्डी भाँचिएपछि उनले सुरुमा काठमाडौंको मनमोहन मेमोरियल अस्पतालमा देखाए । एक महिनासम्म मनमोहनमा बसेका अशोकलाई अस्पतालले प्लास्टिक सर्जरीका लागि कीर्तिपुर अस्पताल रेफर गर्‍यो ।

निःशुल्क उपचारले बयलपाटामा बिरामीको ओइरो

कीर्तिपुर अस्पतालमा पनि २४ दिन बसेका अशोकको अवस्थामा सुधार आएन । ‘कीर्तिपुर अस्पतालले खुट्टामा रड राख्यो । एघार महिनापछि धनगढीको नवजीवन अस्पतालमा रड निकाल्दा खुट्टा निको हुनुको सट्टा झन् पाक्यो,’ आफ्नो स्थिति झन् खस्किएको उल्लेख गर्दै उनले भने । खुट्टाको भित्री भागमा राखेको रडले असर गरेको हुन सक्ने भन्दै डाक्टरले खुट्टाको बाहिरी भागमा रड राखेको स्मरण गर्दै त्यो अस्पतालमा पनि एक महिना बसेको बताए । ‘७ महिनापछि रड निकालियो । सन्चो भएन,’ उनले भने, ‘त्यसपछि इन्डिया गएँ । त्यता पनि तीन महिना बसेँ । कतै गए पनि ठीक भएन ।’ काठमाडौं, धनगढी र भारतका एक दर्जन जति अस्पताल धाएर महिनौंसम्म अस्पतालको बेडमा अपांगजस्तै भएर बसेका अशोकले निको हुने आश मारिसकेका थिए ।

त्यहीबेला उनका आफन्तले अछामको बयालपाटा अस्पतालले दिने हाडजोर्नीको राम्रो उपचार हुने सुनाए । देशका नाम चलेका अस्पताल र भारतमासमेत उपचारका लागि गएका अशोकले अछामको बयालपाटा अस्पतालमा गएर आफूलाई सन्चो हुने विश्वास गरेका थिएनन् । ‘अछाम भन्नेबित्तिकै दुर्गमको अस्पतालमा के उपचार होलाजस्तो लागेको थियो । पहाडका बिरामी धनगढी, काठमाडौं आउँछन् । म धनगढीबाट उपचारका लागि अछाम जाँदा धेरैले त्यता के उपचार होला र भन्थे । मलाई पनि विश्वास थिएन,’ अशोकले भने, ‘यति धेरै अस्पताल त धाइयो । एकपटक बयालपाटा अस्पतालमा जान्छु भन्ने योजना बनाएँ ।’

अन्ततः अशोकलाई बयालपाटा अस्पतालमै आएर निको भयो । बयालपाटा अस्पतालका प्रमुख हाडजोर्नी तथा नसा रोग विषेशज्ञ डाक्टर मन्दिप पाठकको टिमले ०७८ पुस ३० गते उनको अप्रसेन गर्‍यो । ‘तपार्इँ भन्नुहुन्छ भने हामी अप्रेसन गर्न तयार छौं भन्नुभयो,’ चन्दले भने, ‘अन्तिम पटक उपचार गर्छु भनेर आएको थिएँ । अप्रेसन सफल पनि भयो । एक महिनासम्म बयालपाटा अस्पताल बसेँ ।’

बयालपाटामा अप्रेसन गरेको एक महिनामा नै अलिकति हिँड्न सकेको उनले बताए । साउन १८ गते बयालपाटा अस्पतालमा रड निकालेपछि अहिले हिंँड्न र सामान्य काम गर्न सक्ने भएको उनले सुनाए । अन्यत्र अस्पताल धाउने क्रममा २३ लाखभन्दा बढी खर्च भएको उनले बताए । ‘बयालपाटामा सबै निःशुल्क उपचार भयो । आउँदाजाँदा ४० हजार रुपैयाँ लाग्यो,’ उनले भने, ‘अन्तमा चोट लागेर पाक्दै जाँदा खुट्टा नै काट्नुपर्ने भनेर धेरै अस्पतालमा भनेका थिए । तर डाक्टर मन्दिप र बयालपाटा अस्पताल मेरा लागि भगवान् सावित भए ।’ अहिले फ्लोअप उपचारका लागि डाक्टर मन्दिप धनगढी आएका बेला भेट्ने र अरू बेला फोनबाटै सम्पर्क गरेको उनले सुनाए ।

बाजुराको दुर्गम जगन्नाथ गाउँपालिका–६ डुंग्रीबाडाकी ४७ वर्षीया कास्मिरा बुढा र उनका श्रीमान् मानबहादुर बुढा पहिलो पटक बयालपाटा अस्पताल आए । काखमा एक वर्षीय छोरासहित आएका बुढा दम्पती निःशुल्क उपचार हुने र रोग निको हुने आशमा यहाँ आएका हुन् । बर्सेनि सन्तान जन्मिँदा कास्मिराको स्वास्थ्य अवस्था दिनप्रतिदिन खस्किँदै गइरहेको थियो । बयालपाटा आउन बुढा दम्पतीलाई पैदल र गाडीको यात्राबाट यहाँ पुग्न ५ दिन पूरै लाग्यो । ‘यहाँ सबै उपचार निःशुल्क रै’छ । अब सन्चो होला कि भन्ने लागेको छ,’ सोमबारदेखि उपचार थालेकी कास्मिराले भनिन्, ‘हाम्रा गाउँका धेरै बिरामी यहाँ आएको सुनेर हामी पनि आयौं ।’

बयालपाटा अस्पतालमा छिमेकी जिल्लाका मात्रै नभएर सुदूरपश्चिमका सबैजसो जिल्ला र कर्णाली प्रदेशका बिरामीहरू पनि आउने गरेका छन् । कोलीकोटको नरहरिनाथ गाउँपालिका–७ का मंगल बोहरा एक सातादेखि २ वर्षीया छोरीको उपचारका लागि बयालपाटा अस्पतालमा बसिरहेका छन् । उनकी छोरीको दायाँ खुट्टाको मुख्य हड्डी नै नदेखिएपछि खुट्टाको शल्यक्रिया गरिएको छ । ‘यहाँ हड्डीको ठूलो अप्रेसन पनि हुने रहेछ । पहिले सुर्खेतको एक अस्पतालमा पनि लगेका थियौं । त्यहाँ सामान्य उपचार गरेर घर ल्यायौं । आफ्नै लापरबाहीले छोरीलाई गाह्रो भयो,’ उनले भने, ‘ब्लड ग्रुप सबै मिलेको भए बुबाआमाको हड्डी नै छोरीको खुट्टामा हाल्ने डाक्टरसँग सल्लाह भएको थियो । तर ब्लड ग्रुप नै मिलेन ।’

छोरीको खुट्टामा राख्ने वैकल्पिक सामग्री काठमाडौंबाट मगाएर अस्पतालका अर्थोपेडिक डाक्टर पाठक नेतृत्वको टोलीले सफल शल्यक्रिया गरेको उनले बताए । ‘सुर्खेतमा जाँदा यहाँ उपचार सम्भव छैन । काठमाडौंको राम्रो अस्पतालमा लैजानुस् भनेका थिए,’ बोहराले भने, ‘सबैले बयालपाटा अस्पताल जान सुझाएपछि यहाँसम्म आएका हौं । काठमाडौं जाँदा कम्तीमा पनि यही उपचारका लागि १० लाखसम्म लाग्छ भनिएको थियो । यहाँ सबै निःशुल्क भयो ।’

पुसमा कर्पोरेट क्लब नेपालले देशकै उत्कृष्ट अस्पताल घोषणा गरेको बयालपाटा अस्पताल अन्य जिल्लाका बिरामीको पनि भरोसाको केन्द्र बन्दै गएको छ । दैखेलको आठबिस नगरपालिका–४ राकमका ५० वर्षीय आशुराम विक सोमबार श्रीमतीको उपचारको लागि बयालपाटा अस्पताल आइपुगे । उनले भने, ‘खान, बस्न र गाडीभाडा लागे पनि अस्पतालको उपचार खर्च नलाग्दा हामीजस्ता आर्थिक अवस्था कमजोर भएकाहरूका लागि अस्पताल वरदानजस्तै भएको छ ।’

सन् २००८ मा न्याय हेल्थ नेपाल र अमेरिकामा रहेको पोसिबल नामक गैरसरकारी संस्थाको आर्थिक र प्राविधिक सहयोगमा बयलपाटा अस्पताल स्थापना भएको हो । यो अस्पतालले आव ०७८/७९ सम्म ११ लाख ५२ हजार बिरामीलाई सेवा दिएको अस्पतालका मेडिकल निर्देशक एवं हाडजोर्नी विषेशज्ञ पाठकले बताए । विषेशगरी ग्रामीण भेगमा उपचार नपाएका र बाहिर गएर उपचार गर्न नसक्ने आर्थिक अवस्था कमजोर भएका बिरामीलाई अस्पतालले बढी प्राथमिकता दिएर सेवा दिइरहेको उनको भनाइ छ । ‘दैनिकजसो बालबालिकाको हातखुट्टा र काम गर्ने क्रममा धेरै महिलाको हड्डी भाँचिएका केसहरू आउँछन् । उनीहरू राम्रो उपचारका लागि हत्तपत्त बाहिर गइहाल्ने अवस्था हुँदैन,’ पाठकले भने, ‘ग्रामीण भेगमा रहेका केसलाई अस्पतालसम्म ल्याउने गरी सेवा दिइरहेका छौं ।’

हाडजोर्नीको गम्भीर समस्यासँग जुधेका धेरैको शल्यक्रियामार्फत नै उपचार गरेको ७ वर्षदेखि हाडजोर्नी विशेषज्ञका रूपमा कार्यरत डाक्टर पाठकले बताए । ‘सुदूरपश्चिम र कर्णालीको पहाडी भेगका बिरामी मात्रै होइन । कैलाली कञ्चनपुरबाटसमेत उपचार लिन आएका छन् । यसरी आउने केस जटिल नै हुन्छन्,’ उनले भने, ‘३/४ पटक अन्य अस्पतालमा अप्रेसन गरेर बिग्रेका हाडजोर्नीसम्बन्धी केसहरू, लाखौं रुपैयाँ खर्च गरेर अप्रेसन गर्ने भनिएका केसहरू निःशुल्क उपचार पाइन्छ भनेर पनि आउँछन् ।’

लामो समयसम्म अस्पतालमा बसेर नै उपचार गर्नुपर्ने हाडजोर्नीका बिरामीका लागि उपचार खर्च, खान, बस्न निःशुल्क भएकाले बयालपाटा अस्पताल नै रोजाइमा पर्ने गरेको उनले बताए । दार्चुलाबाट डडेलधुराको अस्पताल हुँदै बयालपाटा अस्पतालसम्म आएको हाडजोर्नीसम्बन्धी एक बिरामीलाई सम्झदै डाक्टर पाठकले भने, ‘दार्चुलाको दुर्गम भेगबाट डडेलधुरा अस्पताल हुँदै बयलपाटा आएका बिरामीले डडेलधुरामा उपचार गर्न पैसा लाग्छ भनेपछि यहाँ आएका रहेछन् । उनको उपचार पनि भयो । अहिले सन्चो भइसकेको छ ।’ अस्पतालले गत आवमा मात्रै हाडजोर्नीसम्बन्धी ७ सय ३४ मेजर केसको शल्यक्रिया गरेको उनले बताए ।

विदेशी दाताको सहयोगबाट लामो समय चलेको अस्पताललाई अहिले सुदूरपश्चिम सरकार र संघीय सरकारले पनि सहयोग गरिरहेको छ । पहिल्लो समय विदेशी दाताले केही प्राविधिक सहयोग गरेको र आर्थिक संकटमा परेको अस्पतालको अवस्था अहिले सुधारोन्मुख भएको अस्पतालका प्रमुखसमेत डा. पाठकले बताए ।एक आर्थिक वर्षमा अस्पतालले अहिले दिइ रहेको सेवा निःशुल्क गर्न कम्तिमा २२ करोड रुपैयाँ बजेट आवश्यक पर्ने उनको भनाइ छ । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक लगानी, न्याय हेल्थ नेपाल, अछामका १० वटै पालिका र बाजुराको त्रिवेणी नगरपालिकालगायतको आर्थिक सहयोगमा अस्पतालले निःशुल्क सेवा दिइरहेको अस्पतालका सूचना अधिकारी पूर्ण खड्काले बताए । उनका अनुसार बयालपाटा अस्पताल अछाम, बाजुरा र डोटीको लागि पहिलो अस्पतालको रूपमा छ । हाडजोर्नी विशेषज्ञ डा. पाठकसहित ७ चिकित्सक कार्यरत छन् ।

प्रकाशित : फाल्गुन २६, २०७९ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?