३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

तीन वर्षदेखि खुलेन ताक्लाकोट नाका

मनोज बडू

दार्चुला — तीन वर्षदेखि बन्द पश्चिम नेपालको ताक्लाकोट नाका अहिलेसम्म खुलेको छैन । नाका बन्द भएपछि यहाँका व्यवसायी मर्कामा परेका छन् । ६ महिना ताक्लाकोट बजारमै बसेर व्यापार गर्ने दार्चुलाका स्थानीय व्यवसायी चीनले नाका बन्द गरेपछि जान पाएका छैनन् ।

तीन वर्षदेखि खुलेन ताक्लाकोट नाका

नाका नखुल्दा त्रिदेशीय रूपमा व्यापार गर्दै आएका व्यवसायी समस्यामा परेका हुन् । जिल्लाका सबैजसो बजारमा चीनबाट ताक्लाकोट भएर भित्रिने चिनियाँ सामान खोज्ने ग्राहकहरू धेरै छन् । तीन वर्षदेखि ताक्लाकोटबाट चिनियाँ सामान ल्याउन नसक्दा बजारमा चिनियाँ वस्तु उपलब्ध हुन नसकेको स्थानीय दानसिह तिंकरीले बताए । चीनसित जोडिएका अन्य उत्तरी नाका खोल्न पहल भए पनि दार्चुलासितको नाका सञ्चालनका लागि कुनै पहल नभएको स्थानीय व्यापारीहरूले गुनासो गरेका छन् । तीन वर्षदेखि चीनले नाका बन्द गर्दा वर्षको ६ महिना ताक्लाकोट पुगेर व्यापार गर्ने व्यापारीहरू मर्कामा परेको ब्यास गाउँपालिका–१ का जितसिह बोहराले बताए । ताक्लाकोट नाका बन्द भएपछि त्यहाँ विभिन्न व्यवसाय गर्दै आएका नेपाली व्यवसायीको आयस्रोतको बाटो बन्द भएको छ ।

विगतमा ताक्लाकोटबाट भन्सार पास नहुदा नेपाल–चीनको व्यापार बन्द भए पनि दार्चुलाको व्यासका स्थानीयले ताक्लोकाट बजारमै ६ महिना व्यापार व्यवसाय गर्दै आएका थिए । कोरोना आएपछि ताक्लाकोट बजार जान नपाउँदा अहिले तीन वर्षदेखि व्यापार व्यवसाय नै ठप्प रहेको व्यापारी विमलकुमार बोहराले बताए । दार्चुलाका तांक्लाकोट बजारका धेरै व्यवसायीले पसलमा राखेको सामानको अवस्थासमेत थाहा पाउन सकेको छैनन् ।

व्यास गाउँपालिका–१ छाङ्रु र टिंकरका अधिकांश परिवारसहित ताक्लाकोटमा व्यापार गरिरहेकाहरू थिए । लामो समयदेखि व्यापार बन्द भएपछि धेरैजसोको जीविकामै समस्या परेको छ । ‘ताक्लाकोट जान नपाएको तीन वर्ष पुग्दै छ । पसलमा भएको सामानमा मुसा लागेर नोक्सानी भएको होला’ उनले भने, ‘नाका बन्द हुँदा ठूलै घाटा लागेको छ ।’ वैशाखदेखि कात्तिक महिनासम्म यहाँका स्थानीय ताक्लाकोट बजारमा व्यवसाय गर्दै आएका थिए ।

पुस्तौंदेखि यहाँका स्थानीयका व्यापार यात्रा तीन वर्षदेखि कोरोनाले रोकिएको छ । २०७६ मंसिरमा नेपाल आएका उनीहरू कोरोना संक्रमणको जोखिमका कारण चीनले नाका बन्द गरेपछि ताक्लाकोट फर्किन पाएका छैनन् । भाडामा लिएको पसलमा ताल्चा लगाएर नेपाल आएका व्यवसायीहरू ताक्लाकोट नाका कहिले खुल्ला र पहिलेजस्तै व्यवसाय चलाउला भनेर कुरिबसेका छन् ।

चिनियाँ सिमावर्ती बजार ताक्लाकोट जोड्ने बाटो छैन । बाटो नभएका कारण ताक्लाकोटबाट हुने दार्चुला व्यापार सुन्यमा झरेको लामो समयदेखि तांलाकोटको गुत्गाउँमा व्यापार गर्दै आएका टिंकरका स्थानीय दानसिंह तिंकरी बताउँछन् । उनका अनुसार नेपाली व्यावसायीहरूले ताक्लाकोटमा होटल, नेपाली उत्पादनका पसल, काठका भाडाकुडा, हाते होजियारीका सामान, नेपाली गलैंचा, बास, निगालो, छाला र अन्य हस्तकलाका सामानको वर्षौंदेखि व्यापार गर्दै आएका थिए । मह, घिउ, छुर्पी, खुर्सानी, टिमुर र जडीबुटीलगायत नेपालमा उत्पादित कृषिजन्य दैनिक उपभोग्य सामानको व्यापार पनि हुँदै थियो ।

सन् २०१४ अगाडिसम्म भारत–चीन नाकामा भन्सारको व्यवस्था थिएन् । चीनको त्रिदेशीय नाका क्षेत्रमा हुने व्यापार भारत चीन सरकारले गरेको व्यापार सम्झौतापछि भारतसँग बढेको छ । नेपालसंँग विगतमा हुने गरेको व्यापार पछिल्लो समय बन्द हुन पुगेको हो । यहाँका भारतसित सीमा जोडिएका नेपाली बजारमा ५/७ वर्षअघिसम्म चिनियाँ रेडिमेड सामान खासगरी कपडाको राम्रो बजार थियो । अहिले धेरै घटिसकेको छ । नेपाली बजारमा चिनीया सामान किनमेलका लागि आउने भारतीय ग्राहक ६०/७० प्रतिशतले कमी आएका हुँदा सीमावर्ती बजार खस्कँदो अवस्थामा रहेको बडूले बताए ।२०६९ सम्म भारतीय बाटो प्रयोग गरी खलंगामा भन्सार काटेर भए पनि ताक्लाकोटको सामान भित्रिएको थियो ।

हालका वर्षमा दार्चुला सदरमुकाम खलंगादेखि छाङरुसम्मको घोरेटो बाटो बन्द भएदेखि ताक्लाकोटबाट कुनै किसिमको सामान नेपाल नभित्रिएको खलंगा छोटी भन्सारका कर्मचारी बताउँछन् । देशका अन्य उत्तरी सीमाका जिल्लाका चीनसित जोडिएका अन्य नाकाबाट व्यापार सुरु भए पनि पश्चिम नेपाल दार्चुलासित जोडिएको ताक्लाकोट नाका सञ्चालनका लागि कुनै किसिमको जानकारी नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित : माघ २६, २०७९ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?