महाकालीमा तटबन्ध निर्माण ढिलाइ- सुदूरपश्चिम - कान्तिपुर समाचार

महाकालीमा तटबन्ध निर्माण ढिलाइ

नेपाल–भारत सहमतिअनुसार अहिलेसम्म तटबन्ध निर्माण गरेको ठाउँको अस्थायी संरचना हटाइसक्नुपर्ने भए पनि अझै हटेका छैन
मनोज बडू

दार्चुला — करिब ५ महिनाअघि लास्कु खोलामा आएको बाढीले भत्किएको तटबन्ध निर्माणमा ढिलाइ भइरहेको छ । भदौ २४ मा आएको बाढीले सदरमुकाम क्षेत्रमा बनेको पक्की तटबन्धको रिङनेतालदेखि लास्कु खोलासम्म क्षति पुर्‍याएको थियो । बाढीले एक विद्यालयसहित एक दर्जनभन्दा बढी घर बगाएको थियो ।

उक्त क्षेत्रमा समयमै तटबन्ध नबने फेरि बाढी बंगाबगर क्षेत्रको बस्तीमा पस्ने सम्भावना रहेको स्थानीय मानसिंह बोहराले बताए । भारतीय पक्षले महाकालीको प्राकृतिक बहाव नेपाल फर्काएर तटबन्ध निर्माण गरिरहेकाले जोखिम बढ्ने सम्भावना उत्तिकै छ । भारतले महाकाली किनारमा अहिले धमाधम तटबन्ध निर्माण गरिरहेको छ ।

दार्चुला सदरमुकामको महाकाली किनारमा २०७० आएको बाढीले क्षति गरेपछि पक्की तटबन्ध निर्माणाधीन अवस्थामै छ । कैलाशपति आधारभूत विद्यालय छाङरु पछाडिको भागदेखि उक्त बाढीले पूरै तटबन्ध पुरेको छ । बाढीले विद्यालय पछाडिको भागदेखि करिब ५० मिटरमाथिदेखि लास्कु खोलासम्म महाकालीको धार भारततिर छ । भारतले बंगाबगरको पारिपट्टि घटखोलादेखि नै महाकालीको बहाव नेपालतर्फ फर्काइरहेको छ ।

भारतले लास्कु खोला पारिसम्म अहिलेकै बनाइरहेको तटबन्ध निर्माण गरे महाकालीको बहाव नेपालतर्फ मोडिने सम्भावना धेरै रहेको बंगाबगरका स्थानीय बताउँछन् । स्थानीय मानबहादुर बमका अनुसार लास्कु खोला नजिकबाट नेपालतर्फ बनेको तटबन्ध पुरिएको छ । महाकाली सतहबाट ९ मिटर उचाइमा भारतले तटबन्ध बनाए महाकालीको बहाव सोझै बंगाबगरमा फर्कन्छ । ‘खोतिलादेखि घटखोलासम्म महाकालीको बहाव अहिले त पारि (भारत) तिर नै छ,’ बमले भने, ‘हाम्रो तटबन्ध पुरिएको छ, भारतले ९ मिटर उचाइको तटबन्ध बनाए महाकाली हाम्रैतिर फर्कन्छ ।’

महाकाली नदी नियन्त्रण आयोजनाका प्रमुख मनोहरकुमार शाहका अनुसार महाकाली नदी क्षेत्रमा कोर र अन्य एरिया भनेर ठेक्का लागिसकेको छ । उक्त ठेक्कामा ठेकेदारले काम नगरेर हैरान हुनुपरेको प्राविधिकहरूको भनाइ छ । ‘एक/दुई वर्षअगाडि नै उक्त ठेक्कामा काम सकिनुपर्ने हो, अहिलेसम्म प्रगति नै हुन सकेको छैन,’ शाहले भने, ‘निर्माण व्यवसायीले काम नगरेर समस्या भएको छ ।’ महाकाली नदी क्षेत्रको कोर र अन्य एरियामा गरेर १४ करोडको ठेक्का छ । आयोजनासित बजेट नभएकाले लास्कु खोलामा विभागको मौखिक सहमतिमा उधारोमा टेन्डर खोलेर काम भइरहेको उनले बताए ।

‘सरकारबाट तटबन्ध निर्माणका लागि बजेट प्राप्त भएको छैन,’ उनले भने, ‘चालु आर्थिक वर्षमा महाकाली, चौलानी, नौगाड नदीमा तटबन्धको काम गर्न विभागमा ९० करोड बजेट माग गर्न फायल पठाएका छौं ।’ अहिले लास्कु खोलामा दुहु क्षेत्र जोड्ने पुलेदेखि माथि बस्ती भएको क्षेत्रसम्मको करिब १८० मिटर लम्बाइको ब्रिस्ट वाल बनिरहेको छ । बंगाबगर बजार क्षेत्रमा महाकाली तटबन्ध र पारिपट्टि केही ठाउँमा सुदूरपश्चिम सरकारले तटबन्ध निर्माण काम गरिरहेको शाहले बताए ।

यसैबीच, अन्तर्राष्ट्रिय सीमा नदी महाकालीको बंगाबगर क्षेत्रमा नेपालतिर नदीको सतह खोलिरहँदा भारत भने साँघुरिर्‍याउँदै गएको छ । भारतले तारजालीमा ढुंगा भरेर महाकाली नदीको बहाव परिवर्तन गर्दै आएको छ । नेपालले उक्त क्षेत्रमा भारतलाई तटबन्ध निर्माणमा सहजताका लागि नदीको सतह फराकिलो बनाइरहेको छ । भारत भने ठीक त्यसको पारिपट्टि तारजालीमा ढुंगा बेरेर नदीको सतह साँघुरो बनाएर बहाव नेपालतर्फ फर्काइरहेको छ ।

मंसिर १८ गते भारतले महाकालीको प्राकृतिक बहाव नेपाल फर्काएपछि सीमा क्षेत्रमा स्थानीयबीच ढुंगा हानाहान भएको थियो । त्यसको तीन दिनपछि नेपाल–भारतका सीमा अधिकारीबीचको बैठकले भारतीय पक्षबाट तटबन्ध निर्माणका क्रममा निर्माण गरेका अस्थायी संरचना १० दिनमा हटाइसक्ने सहमति भएको थियो । तर, उक्त सहमतिअनुसार अहिलेसम्म तटबन्ध निर्माण गरेको ठाउँको अस्थायी संरचना हटाइसक्नुपर्ने भए पनि अझै हटेका छैन । भारतले सीमा पुलको तलको केही क्षेत्रबाहेक अधिकांश ठाउँमा तटबन्ध बनाइसकेको छ ।

प्रकाशित : माघ २४, २०७९ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्

रुकुम बदल्ने मार्ग

८५ प्रतिशत काम सकिएको मध्यपहाडी लोकमार्गले कृषि उत्पादनकोबजारीकरण र रोजगारीमा टेवा पुग्ने आशा
महेश केसी

रुकुम पूर्व — पूर्व–पश्चिम राजमार्गको विकल्पमा रूपमा निर्माण थालिएको राष्ट्रिय गौरवको आयोजना हो– पुष्पलाल मध्यपहाडी लोकमार्ग । नेपालको पूर्व पाँचथरको चियोभन्ज्याङदेखि मध्यपहाडका २६ जिल्लालाई जोड्दै सुदूरपश्चिम बैतडीको झुलाघाटसम्म यो मार्ग फैलिएको छ । यसको कुल लम्बाइ १ हजार ८ सय ७९ किमि छ । यसमध्ये रुकुम पूर्व र पश्चिममा गरेर १ सय २५ किमि पर्छ ।

बागलुङ र रुकुम पूर्वको सीमास्थल पाथीहाल्नेबाट दर्जनौं बस्तीलाई जोड्दै जिल्ला सदरमुकाम रुकुमकोटबाट यो मार्ग पश्चिमतर्फ अघि बढ्छ । त्यसपछि रुकुम पश्चिमको खोपिचारदेखि जिल्ला सदरमुकाम खलंगा भएर भेरी नदीको तीरैतीर चौरजहारी हुँदै जाजरकोटतर्फ लाग्छ । यो मार्गको कुल लम्बाइमध्ये रुकुम पूर्वमा ५५ किमि पर्छ भने पश्चिममा ७० किमि ।

सिस्ने–५ रुकुमकोटका मदन शाह यस मार्गलाई रुकुमको लाइफलाइन मान्छन् । रुकुमलाई पूर्व–पश्चिम राजमार्गसँग जोड्न कुनै बेला एक मात्र सडकका रूपमा राप्ती लोकमार्ग थियो । वैकल्पिक राजमार्गका रूपमा मध्यपहाडी लोकमार्गले रुकुमलाई जोडेपछि यसले यहाँको विकासमा महत्त्वपूर्ण टेवा पुगेको शाहको भनाइ छ । रुकुमको उत्पादनको बजारीकरण, यहाँका जनताको व्यावसायिक विकास, रोजगार सिर्जनाका साथै यस क्षेत्रको सुन्दर प्रकृति, भाषा, कला र संस्कृतिलाई प्रचार–प्रसार गर्न लोकमार्गले निकै ठूलो अर्थ राख्ने शाहको ठम्याइ छ । ‘सडक पुग्यो भनेर मक्ख परेर मात्रै हुँदैन,’ उनले भने, ‘यसबाट अधिकतम लाभ लिन सक्नुपर्छ । यसका लागि स्थानीय सरकारले विशेष योजना बनाएर लाग्न जरुरी छ ।’

भुमे–२ काँक्रीकी ६७ वर्षीया कमेनी बुढालाई आफ्नो घरछेउ हुँदै सडक आउला र गाडी चढ्न पाइएला भन्ने कल्पनासम्म थिएन । १५ वर्षअघि जब बाटोको नापनक्सा सुरु भयो, तब पनि उनले पत्याइनन् । तर, जब मूल लोकमार्ग बन्यो, बुढालाई सपनाजस्तो लाग्दै छ । ‘हिँडेरै डाँडापाखा र पहाड छिचोलेका हामीलाई यति राम्रो सडक बनेको देख्दा खुसीले त्यसै फुरुङ फुरुङ पारेको छ,’ उनले भनिन् ।

अग्ला–अग्ला पहाड छिचोलेर लमतन्न परेको फराकिलो लोकमार्ग बनेकामा बुढा मात्रै होइन, अघिल्लो पुस्ताका जोकोहीलाई पनि सपनाजस्तै लाग्छ । सिस्ने–५, रुकुमकोटका खिमानन्द गौतम कुनै बेला नुन–तेल ल्याउन बटौली (बुटवल) गएको सम्झन्छन् । ‘सात दिन लगाएर हिँडेरै बटौली पुग्थ्यौं । नुन–तेल र कपडालत्ताको भारी बोकेर फर्कंदा अरू सात दिन लाग्थ्यो,’ उनले भने, ‘अहिले त आँगनछेउमै गाडी गुड्छ ।’

मध्यपहाडी लोकमार्ग सञ्चालनमा आउनुपूर्व रुकुमबाट सल्यान हुँदै दाङ झरेर लमहीबाट पूर्व–पश्चिम हुँदै काठमाडौं जाँदा करिब दुई दिनमा काठमाडौं पुगिन्थ्यो भने यो मार्ग सञ्चालन भएपछि रुकुमबाट बागलुङ, पोखरा हुँदै डेढ दिनमै काठमाडौं पुगिन्छ । ‘अब त दाङ हुँदै काठमाडौं जान उल्टोजस्तो लाग्न थाल्यो,’ मुसीकोट–१ रुकुम पश्चिमकी शारदा डाँगीले भनिन्, ‘मध्यपहाडी लोकमार्ग भएर यात्रा गर्दा सहज र छोटो पनि छ ।’

रुकुमबाट काठमाडौं जान मध्यपहाडी लोकमार्ग प्रयोग गर्दा यात्रा रोमाञ्चक भएको अनुभव सुनाउँछन् मुसीकोट–१ का सन्तोष थापा । ‘खोला तर्दै, पहाड चढ्दै उत्तरका हिमाली दृश्यसँग समेत साक्षात्कार भएर यो बाटोमा यात्रा गर्नुको आनन्द बेग्लै छ,’ उनले भने । पश्चिमको होचो भाग चौरजहारीबाट भेरी नदी तीरैतीर हुँदै सदरमुकाम खलंगा अनि त्यहाँबाट मनोरम साँखको बस्ती छिचोलेर पूर्वको सदरमुकाम रुकुमकोट पुगी कमल दहको दर्शन गरेर भुमे हुँदै अघि बढ्नुमा छुट्टै आनन्दको अनुभव बुटवलका युवराज कँडेलले पनि बटुलेका छन् । ‘मध्यपहाडी लोकमार्गको यात्रा भनेपछि मनै फुरुंग हुन्छ,’ उनले भने, ‘यो लोकमार्गमा जति यात्रा गरे पनि थकाइ हैन, आनन्द मिल्छ ।’

यस मार्गको निर्माण ८५ प्रतिशत सकिएको आयोजना कार्यालय दैलेखले बताएको छ । रुकुम खण्डको १ सय २५ किमिमध्ये १ सय ६ किमि कालोपत्र सम्पन्न भइसकेको छ भने बाँकी १९ किमि पनि कालोपत्र गर्नका लागि आवश्यक तयारी भइरहेको आयोजना प्रमुख युवराज पोखरेलले जनाए ।

रुकुम पूर्वको भुमे र सिस्ने गाउँपालिकालाई यो मार्गले जोड्छ भने पश्चिमको चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिका र मुसीकोट नगरपालिकालाई पनि यस मार्गले जोड्छ । पूर्वमा दाङ घोराहीबाट रोल्पा हुँदै आउने सहिद मार्ग मध्यपहाडसँग जोडिन्छ भने पश्चिममा दाङ तुलसीपुरबाट सल्यान हुँदै आउने राप्ती लोकमार्ग पनि यस मार्गसँग जोडिन्छ । पछिल्लो समय मध्यपहाडी लोकमार्गलाई मूल मार्ग मानेर विभिन्न ग्रामीण सडकको विकास तथा विस्तार भइरहेको भूमे गाउँपालिका अध्यक्ष होमप्रसाद श्रेष्ठले बताए । यस मार्गअन्तर्गत छिमेकी जिल्ला बागलुङको निसी गाउँपालिकासँग जोडिएर सीमास्थल पाथीहाल्नेलाई साझा पर्यटकीय गन्तव्य बनाउने योजनामा गाउँपालिका रहेको अध्यक्ष श्रेष्ठले जनाए । यस मार्गअन्तर्गत रुकुम खण्डमा जम्मा १२ वटा पक्की पुल पर्ने आयोजना कार्यालय दैलेखका इन्जिनियर होमनाथ पौडेलले बताए । उनका अनुसार ११ वटा पुलको निर्माण सम्पन्न भइसकेको छ । बाँकी एउटा पुल मात्रै बन्न बाँकी छ । रुकुम पश्चिम र जाजरकोट जोड्ने चौरजहारीस्थित भेरी नदीमा बन्नुपर्ने पुल निर्माण अलपत्र छ, जसका कारण चौरजहारीसँग मध्यपहाडी लोकमार्गको सम्पर्क विस्तार हुन सकेको छैन । यहाँ पुल नबन्दा मध्यपहाडीसँग जोडिएर योजना बनाउन नसकिएको चौरजहारी नगरपालिका प्रमुख पुष्प वादीले बताए । मध्यपहाडी लोकमार्गअन्तर्गत १० ठाउँमा आधुनिक सहर बनाउन पनि नेपाल सरकारले काम गरिरहेको छ । त्यसैमध्येको एउटा प्रस्तावित सहर चौरजहारी पनि हो । सहरीकरणको कामलाई गति दिन र यहाँ मानवीय गतिविधि बढाउन पुल निर्माण चाँडो गर्नुपर्नेमा प्रमुख वादीको जोड छ ।

लुम्बिनीको एक मात्र हिमाली जिल्लाका रूपमा रहेको रुकुम पूर्वका पर्यटकीय स्थल ढोरपाटन सिकार आरक्ष, पुथा र सिस्ने हिमाल, अग्ला पहाड र सुन्दर बुकी पाटन अनि सिस्नेको गुप्ता दह, कमल ताल, महत र चुन्बाङको युद्ध स्मृति संग्रहालयका साथै यहाँको भाषा कला र रीति–संस्कृतिलाई प्रचार–प्रसार गरेर यसबाट पनि लाभ लिन सकिने लेखक तथा पत्रकार सुरेन्द्र रानाले बताए । ‘यो मार्गले सहजता मात्रै थपेको छैन । यसले सम्भावनाको ढोकासमेत खोलिदिएको छ,’ उनले भने, ‘रुकुमले यसबाट अधिकतम लाभ लिन सक्नुपर्छ ।’

रुकुम पश्चिमको स्यार्पु ताल, सानीभेरी, ठूलीभेरी अनि यहाँका अन्य विभिन्न ऐतिहासिक एवं पर्यटकीय स्थलसँग पर्यटकलाई जोड्न यो मार्ग सहायक हुने पर्यटन अभियन्ता सिर्जना ओलीको भनाइ छ । ‘रुकुम हुँदै सुर्खेत, जुम्ला र डोल्पासम्म आवागमन गर्न मध्यपहाडी लोकमार्गको ठूलो भूमिका छ,’ उनी भन्छिन्, ‘काठमाडौंबाट पोखरा हुँदै रुकुम पूर्व–पश्चिम भएर डोल्पाको से–फोक्सुन्डो तालसम्म जान यो मार्गको बाटो सबैभन्दा छोटो पर्छ । तर, यसको प्रचार–प्रसार र त्यसअनुसारको विकास भने हुन सकेको छैन ।’

रुकुमका सम्भावनाको उजागर गर्दै विकाससँग जोड्न मध्यपहाडी लोकमार्गले निकै ठूलो भूमिका खेल्ने तत्कालीन जिल्ला विकास समिति रुकुमका पूर्वसभापति खेममान खड्काले बताए । ‘यसका लागि यहाँका स्थानीय सरकारले योजना बनाएर कार्यान्वयनमा लैजानुपर्छ,’ उनले भने, ‘मध्यपहाडी लोकमार्गमा कसरी धेरैभन्दा धेरै मान्छे हिँडाउने र यसबाट लाभ लिने भन्ने कुरामा स्थानीय सरकारले ध्यान दिन जरुरी छ ।’

पोखराबाट मुस्ताङसम्म आएका पर्यटकलाई रुकुमसम्मै ल्याउन सक्ने व्यावसायिक वातावरण बनाउन जरुरी रहेको उनले सुनाए । निर्माणाधीन मध्यपहाडी लोकमार्गको सम्पूर्ण निर्माण चालु आर्थिक वर्षभित्र सक्ने लक्ष्यका साथ काम भइरहेको र आयोजना सम्पन्न भएपछि सम्बन्धित सडक कार्यालयमा हस्तान्तरण गर्ने आयोजना कार्यालयका प्रमुख पोखरेलले बताए ।

प्रकाशित : माघ २४, २०७९ ०८:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×