दार्चुलामा ४६ मेट्रिक टन मह उत्पादन- सुदूरपश्चिम - कान्तिपुर समाचार

दार्चुलामा ४६ मेट्रिक टन मह उत्पादन

कान्तिपुर संवाददाता

दार्चुला — जिल्लामा व्यवसायीक मह उत्पादन बढ्न थालेपनि यसपालि मौसम परिवर्तनका कारण मह उत्पादनमा कमी आएको छ । गत आर्थिक वर्षमा ५२ मेट्रिक टन मह उत्पादन भएकोमा यसपाली ४६ टनमा झरेको हो ।

जिल्लामा महको माग बढेपनि मह उत्पादन गरिने समयमा वर्षा हुँदा उत्पादनमा ह्रास आएको कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ । असोज र कार्तिक महिनामा लामो बर्षाको कारण यो वर्ष मह उत्पादनमा कमी आएको केन्द्र प्रमुख प्रकाशकुमार पन्तले बताए । गत वर्ष विगतको तुलनामा १२ प्रतिशत मह उत्पादन बढेको थियो । यो पाली १३ प्रतिशतले घटेको छ । तर, किसानहरूले यो वर्ष महको मूल्य भने राम्रो मिलेको उनको भनाई छ । गत वर्ष दार्चुली महको मूल्य प्रतिकिलो एक हजार थियो । यो वर्ष एक हजार ५ सयमा मह बिक्री भइरहेको पन्तले जानकारी दिए ।

मह उत्पादक किसानहरूले प्राविधिक सहयोग पाउन थालेपछि जिल्लामा मह उत्पादन व्यावसायिक रूपमा बढेको छ । सरकारी तथा गैरसरकारी निकायबाट अनुदान तथा प्राविधिक सहयोग पाएपछि यहाँका केही किसानहरूले व्यवसायिक रुपमा मौरीपालन गर्दै आएको केन्द्र प्रमुख पन्तले बताए । जिल्लाभरि करिब ६ हजार आधुनिक र मुणेघारबाट किसानहरूले मह उत्पादन गर्दै आएका छन् । जिल्लाका सबै स्थानीय तहमा मह उत्पादन हुने भएपनि लेकम, मालिकार्जुन, मार्मा र नौगाड गाउँपालिकामा मौरीपालन व्यवसाय फस्टाउँदै छ । परम्परागत रूपमा मौरी पालन गर्दै आएका किसानहरू बिस्तारै व्यवसायतर्फ आकर्षित हुँदा उत्पादन बढिरहेको उनको भनाई छ ।

केन्द्र प्रमुख पन्तकाअनुसार जिल्लाको लेकम गाउँपालिकाका वडा नम्बर १, २ र ३, मालिकार्जुन गाउँपालिकाको १ नम्बर वडा, शैल्यशिखर नगरपालिकाको ३ नम्बर वडा, नौगाड गाउँपालिकाको ६ नम्बर वडालाई मह उत्पादनको पकेट क्षेत्रको रूपमा राखेर व्यवसायीक मह उत्पादनमा जोड दिइँदै आएको हो । यी वडाहरूमा कृषि ज्ञान केन्द्रले सघन रुपमा मह उत्पादनमा प्राविधिक, आर्थिक लगायतको सहयोग गर्दै आएको र जिल्लाका मह उत्पादन गरिने अन्य ठाउँमा पनि प्राविधिक र आर्थिक सहयोग गर्दै आएको उनले बताए । त्यस्तै कृषि ज्ञान केन्द्रले दार्चुलेली महको ब्रान्ड बनाउन स्टिकर छापेर डिब्बा किसानहरूलाई सहयोग गरिरहेको छ । जिल्लाभरिको मह उत्पादनको एकै किसिमको ब्रान्ड बनाउन र उपभोक्ताहरूले सफा एवं चिटिक्क देखिने हुँदा मन पराइरहेका छन् । १० घारसम्म मौरी राखेका परिवार, समुह, संस्था एवंम सहकारीलाई एक किलो बराबर ५० रुपैयाँ प्रतिफलमा आधारित प्रोत्साहन स्वरूप सहयोग गरिने केन्द्र प्रमुख पन्तले बताए ।

पछिल्लो समय जिल्लामा मौरीपालनतर्फ किसानको चासो बढेको र मौरीपालन व्यवसाय गर्ने किसान बढ्न थालेका छन । यहाँका किसानहरूले वार्षिक ६ करोड ९० लाख हाराहारीमा मह बिक्री गर्ने गरेको छन । गत वर्ष मात्रै विभिन्न स्थानीय तहमा उत्पादन भएको मह विक्रीबाट किसानहरूले आम्दानी बढाएका छन् । किसानहरूले अहिले सरकारी अनुदान र प्राविधिक सल्लाह पाइरहेका छन् । अझै मह उत्पादनमा स्थानीय तहहरूले आधुनिक मौरीघार र प्राविधिक सहयोग पाए किसानलाई उत्पादनमा सहजता आउने थियो ।

प्रकाशित : माघ २३, २०७९ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्

कर्णालीमै मिर्गौला प्रत्यारोपण

कान्तिपुर संवाददाता

सुर्खेत — कर्णाली प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको छ । शनिबार सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार श्रेष्ठ नेतृत्वको टोलीले प्रदेश अस्पतालमा निःशुल्क प्रत्यारोपण सेवा सुरु गरेको हो । उक्त दिन नवलपरासी जिल्ला बर्दघाट नगरपालिका–४ की ४३ वर्षीया एक आमाले २२ वर्षीया छोरालाई मिर्गौला दान गरेकी थिइन् । दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक डा. डम्बर खड्काले बताए ।

विरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पताल

डा. श्रेष्ठले काठमाडौं उपत्यका बाहिरको सरकारी अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरेको जानकारी दिए । ‘केन्द्रले प्रत्यारोपण धान्न सकेको छैन, बुटबलबाट महेन्द्रनगरसम्मका बिरामी कर्णालीले धाने केन्द्रका बिरामीले पनि छिटो पालो पाउने थिए,’ उनले भने, ‘काठमाडौंका अस्पतालमा नदेखेका उपकरण कर्णालीका अस्पतालमा देख्न पाइयो, यो धेरै खुसीको कुरा हो ।’

प्रदेश अस्पतालले अनुमति पाएको ३ महिनापछि मिर्गौलाको प्रत्यारोपण गरेको हो । जसका लागि केन्द्रका शल्यचिकित्सक डा. रविकिरण गौतम, डा. हरि बराल, एनेस्थेसियोलोजिष्ट डा. सोभित थापा, डा. रस्मीत श्रेष्ठ, नेफ्रोलोजिष्ट डा.सुमित आचार्यलगायतको टोली सुर्खेत पुगेको थियो । अस्पतालले यसै आर्थिक वर्षबाट आँखाको शल्यक्रिया (फेको पद्धति) सेवा पनि सुरु गरेको छ भने ७ वटा मोडुलर ओटी सञ्चालन भइरहेको छ ।

त्यस्तै डायलसिस, आइसीयुलगायत सेवालाई पनि निरन्तरता दिइरहेको अस्पतालका निर्देशक डा. खड्काले बताए । अर्थोडिक सर्जरी सातामा ६ दिन र जनरल सर्जरी हप्तामा ४ दिन सञ्चालन भइरहेको उनको भनाइ छ । हाल प्रदेश अप्तालसँग २ सय ९७ शय्या उपलब्ध छ ।

प्रकाशित : माघ २३, २०७९ १०:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×