न्यायिक समितिमा अझै अलमल- सुदूरपश्चिम - कान्तिपुर समाचार

न्यायिक समितिमा अझै अलमल

मेनुका ढुंगाना

अछाम — अछाम ढकारीकी रुपा (नाम परिवर्तन) ले श्रीमान्ले बेवास्ता गरेको, परिवारलाई समय दिन नसकेको र अन्य पारिवारिक समस्या भएकाले श्रीमान्बाट अलग बस्न गाउँपालिकाको न्यायिक समितिमा मुद्दा दर्ता गरिन् । उजुरी परेपछि न्यायिक समितिले दुवै पक्षलाई बोलायो ।

उपाध्यक्षको कार्यकक्षमै छलफल गर्नुपर्ने भएकाले गोपनियता कायम नहुने हुँदा मुद्दाको टुंगो लाग्न असहज भयो । ‘विवाद चर्किदा श्रीमान् श्रीमतीका गोप्य कुरा पनि बाहिर आउँथे । दुई पक्ष बीच भनाभन र कुटाकुट हुने अवस्था आउँदा बहस गर्न गाह्रो भयो,’ ढकारी गाउँपालिकाका उपाध्यक्ष नेत्रकला शाहीले भनिन्,‘धेरैजसो श्रीमान् श्रीमती बीचका विवादका मुद्दा आउँछन् । यौनजन्य विषय र अन्य पारिवारिक विषयमा खुल्ला छलफल गर्दा गोप्य रहँदैनन् मुद्दा टुंगो लगाउनै समस्या पर्छ ।’

उनकाअनुसार पालिकामा इजलाशको त के कुरा, उपाध्यक्षलाई समेत बेग्लै बस्ने ठाउ छैन । ‘बस्ने ठाउँसमेत नभएको अवस्थामा कसरी काम गर्न सकिन्छ ?’ उनले भनिन् । पालिकाको नयाँ भवन नबनेको र पुरानैबाट काम चलाउँदा असजिलो वातावरणमा काम गर्नु परेको उनले बताइन् । गोपनीयता कायम नहुने भएकाले धेरैजसो मुद्दा स्थानीय तहमा नआउने गरेको उनी बताउँछिन् । उनका अनुसार उपाध्यक्षकै कार्यकक्षमा मुद्दाको छिनोफानो हुने भएकाले न्यायिक समितिलाई काम गर्न सहज छैन । न्याय सम्पादन गर्दा गोपनीयता कायम गर्न नसक्ने, कानुनी जटिलता थियो नै दुई पक्षबीच कुटाकुटको अवस्था आएपछि असहज हुने गरेको उपाध्यक्ष शाहीले बताइन् । ‘न्यायिक समितिमा दिनहुँजसो मुद्दा पर्छन् । ‘मुद्दाको संख्या दिनदिनै बढेको छ । साँघुरो कोठाबाट कार्यसम्पादन गर्दा निकै अप्ठ्यारो भएको छ,’ उनले भनिन्, ‘न्याय गर्ने निकायमा हामी आफैं असुरक्षित पनि हुने गरेका छौं ।’

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको दोस्रो कार्यकालको पनि ९ महिना हुन लाग्दा न्यायिक समितिले अपेक्षाकृत कार्य सम्पादन गर्न सकेका छैनन् । जिल्लाका चार नगरपालिका उपप्रमुख र ६ गाउँपालिका उपाध्यक्षसँग कानुनी ज्ञानको अभाव तथा कानुनी सल्लाहकार नहुँदा उनीहरू पुरानै शैलीमा काम गरिरहेका छन् । कानुनी सल्लाहकार नहुँदा न्यायिक समितिका पदाधिकारीलाई न्याय निरूपण गर्न अप्ठ्यारो भइहरेको उपप्रमुखहरू बताउँछन् ।

जिल्लाका १० मध्ये कुनै पनि स्थानीय तहले कानुनी सल्लाहकार नियुक्त गर्न सकेका छैनन् । ‘न कानुनबारे पर्याप्त जानकारी छ, न त कानुनी सल्लाहकार नै छन्,’ चौरपाटी गाउँपालिकाका उपाध्यक्ष सरुदेवी खड्काले भनिन्, ‘न्यायिक समितिमा आउने सामान्य मुद्दा किनारा लगाउन पनि असहज हुने गर्छ । त्यसैमाथि म साक्षर मात्रै हो । अरुभन्दा मलाई धेरै गाह्रो भएको छ ।’ कानुनी प्रक्रियाबारे जानकारी नभएपछि न्यायिक समितिका पदाधिकारी नै अलमलमा छन् । ‘हामीलाई कानुनबारे खासै जानकारी छैन’, उपाध्यक्ष खड्काले भनिन्,‘गाउँकै अगुवा बोलाएर पुरानै शैलीमा मेलमिलाप र बहस गर्ने गरेका छौं ।’

१० स्थानीय तहमध्ये साफेँबगर नगरपालिका र मेल्लेख गाउँपालिकामा उपाध्यक्ष पुरुष भएकाले महिला सम्वन्धि उजुरीहरू निकै कम आउने गरेका छन् । ‘मेल्लेखमा त पहिले पनि पुरुष, अहिले पनि पुरुष नै न्यायिक समिति संयोजक छन् । महिलाहरू जानै सकिरहेका छैनन्,’ मेल्लेख गाउपालिका ७ की जानकी बुढाले भनिन् । समितिमा न्यायिक कार्यसम्पादनसम्बन्धी विज्ञ नहुँदा कानुनी जटिलता देखिएको जिल्लाका सबै न्यायिक समिति संयोजकहरूको तर्क छ ।

प्रकाशित : माघ २०, २०७९ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्

४२ फिटको ढुंगामा बुद्धमूर्ति बनाइने

योजना पूरा भए नेपालको सबैभन्दा अग्लो तथा एउटै ढुंगाबाट बनेको पहिलो बुद्धमूर्ति हुने दाबी
सुशीला तामा‌ङ

काठमाडौँ — नागार्जुन नगरपालिकामा ४२ फिट लामो एउटै ढुंगाबाट मैत्रेय बुद्ध निर्माण गरिने भएको छ । वडा ७ को गोदामथोकस्थित गुरुङ डाँडाको करिब ४ रोपनी क्षेत्रफलभित्र मूर्ति स्थापना गर्ने गुरुयोजना छ । योजनाअनुसार काम सम्पन्न भए नेपालको सबैभन्दा अग्लो तथा एउटै पत्थरबाट बनेको पहिलो बुद्धमूर्ति हुने नेपाल विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रका अध्यक्ष तथा दृष्टिविहीन वैज्ञानिक रमेशप्रसाद दाहालले बताए ।

झाँक्रीबास सामुदायिक वनमा रहेको चार कुना मिलाएर काटिएको ४२ फिट लम्बाइ, ४४ इन्च चौडाइ र ३० इन्च मोटाइ रहेको ढुंगाको वजन ९० टन रहेको अनुमान गरिएको छ । गोदामथोककै स्थानीय दाहालले अनुसन्धान गर्ने क्रममा बुद्धमूर्ति बनाउने अवधारणा बनाएका थिए । त्यहीअनुसार स्थानीय, वडा तथा नगरपालिकाले सहमति जनाएपछि झन्डै डेढ वर्षअघि नै कार्ययोजना अगाडि बढेको उनले बताए । ‘पत्थरबाट मैत्रेय बुद्धमूर्ति निर्माणको जिम्मेवारी नाल्जोर्मा आर्ट्सका प्रोपाइटर तथा मूर्तिकार रवि शाक्यलाई दिइएको छ,’ उनले भने, ‘ढुंगा तल खोँचमा रहेकाले माथि ल्याउन मात्र ४०/५० लाख रुपैयाँ लाग्ने अनुमान छ । स्थानीय, वडा र नगरपालिका सकारात्मक देखिए पनि आर्थिक स्रोत जुटाउन कठिनै भएको छ ।’

मूर्ति निर्माण र स्थापना कार्यका लागि मात्र शाक्यसँग १ करोड ५७ लाख १७ हजार रुपैयाँ लागतमा सम्झौता गरिएको दाहालले बताए । मूर्ति वरिपरि पानीको फोहोरासहितको पोखरी, बगैंचा, पुस्तकालय, साहित्यकार तथा कलाकारका लागि ध्यान केन्द्रको डिजाइन तयार गरिने परियोजना दाहालको छ । मूर्ति स्थापना गर्ने डाँडामा प्रशस्त हावा चल्ने भएकाले पानी पम्प गर्न चाहिने उपकरण जडान गर्ने योजनासमेत प्रस्तावनामा समावेश छ । प्रथम चरणमा ढुंगालाई डाँडामा पुर्‍याउनकै लागि आर्थिक स्रोत जुटाउनु पहिलो प्राथमिकता रहेको दाहालले सुनाए । यसकै निम्ति अहिले उनी सैनिक मुख्यालयदेखि पर्यटन तथा रक्षा मन्त्रालयमा दौडधुपमा छन् ।


बुद्ध जन्मेको देशमा मूर्ति निर्माण कार्य राष्ट्रिय गौरवका रूपमा मात्र नभई नागार्जनु क्षेत्रकै लागि ऐतिहासिक रहेकाले स्थानीय परियोजनाप्रति निकै हर्षित छन् । ‘बुद्ध निर्माणपछि गोदामथोकको ऐतिहासिक स्थलका रूपमा ख्याति बढ्नाले पर्यटन वृद्धिले हाम्रो पनि जीवनस्तर माथि उठ्न सक्छ । हामी त खुसी छौं,’ स्थानीय उमेश पौडेलले भने । उनका अनुसार उक्त ढुंगालाई हालको आकारमा ल्याउन राणाकालीन समयमा दरबारबाट घोडामा मानिसहरू आवातजावत गर्थे । पछि उनीहरूले ढुंगालाई त्यतिकै अवस्थामा छोडे । त्यसपछि वर्षौंसम्म ढुंगाको झन्डै आधाजस्तो भाग माटो र झारपातले पुरिएको थियो । गोथामथोक मल्लकालीन समयमा मूर्ति, मन्दिर र दरबार निर्माणका लागि ढुंगा उत्खनन गर्ने स्थलका रूपमा चिनिने यहाँका बुढापाका बताउँछन् ।


आर्थिक स्रोत जुटे १० महिनामा मूर्ति निर्माण र २० महिनामा सम्पूर्ण कार्य योजना पूरा गर्ने दाहालको लक्ष्य छ । ठूलो लागतको योजना भएकाले वडा र नगरपालिकाले समेत तत्काल आर्थिक स्रोत जुटाउन नसकेको वडा नम्बर–७ का अध्यक्ष शैलेन्द्र लामाले बताए । ‘नगरपालिकाबाट मूर्ति निर्माणमा ५ लाख रुपैयाँ सहयोगका लागि प्रतिबद्धता जाहेर गरेको छ ।’ उनले भने ।

प्रकाशित : माघ २०, २०७९ ०७:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×