कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

धार्मिक गन्तव्य बन्दै बडीकेदार

मोहन शाही

डोटी — जिल्लाको दक्षिणी लेकको मध्यमा पर्ने बडीकेदार धाम धार्मिक पर्यटकीय गन्तव्यको रोजाइमा पर्न थालेको छ । श्रद्धा र मनोकामना बोकेर बर्सेनि भारत र तराईका जिल्लाबाट तीर्थालुहरू बडीकेदार पुग्न थालेका छन् ।

डोटीको बडीकेदार गाउँपालिका–५ मा पर्ने बडीकेदार धाममा फागुनमा पर्ने महाशिवरात्रि र कात्तिकको बैकुण्ठ चतुर्दशीमा हजारौं तीर्थालुको भीड हुने गर्छ । ‘महाशिवरात्रिभन्दा कात्तिकको बैकुण्ठ चतुर्दशीमा भव्य मेला लाग्छ,’ बडिकेदार मेला ब्यवस्थापन समितिका पूर्वअध्यक्ष टोपबहादुर चन्दले भने, ‘त्रयोदशीको राती र चर्तुदशीको दिउँसो बडीकेदारको दर्शन गर्न भारत र तराईबाट थारु समुदायको विशेष घुइँचो लाग्छ ।’ तराईबाट थारुहरू पैदल हप्ता दिनसम्म हिँडेर बडीकेदारको दर्शन गर्न आउने गर्छन् । लेकाली जंगलको बिच भागमा बडीकेदारको शिला पुज्ने गरिन्छ ।

मनमोहक बडीकेदार

तराईको समथर भूमि र भारतको उत्तरप्रदेशका समथल भूभागसम्म देखिने अग्लो लेकाली क्षेत्र हो यो । जिल्लाका सबै भेग, अछामको मंगलसेन, सुर्खेतका अग्ला पहाडी चुचुराहरू नियाल्न सकिन्छ । बडीकेदारको महिमाले ताजा सास र आँखाले विचित्र संसार हेर्ने अवसर जुराएको भारतको बरेलीबाट दर्शनका लागि ७ औं पटक आएका रामबाबु कुरैशीले बताए । उनी केदारबाबाका चार धाममध्ये डोटीको बडीकेदार प्राकृतिक सुन्दरतासंँगै धार्मिक रूपमा शक्तिशाली भएकाले आफू बर्सेनि दर्शनका लागि आउने गरेको बताउँछन् । समुद्री सतहदेखि दुई हजार पाँच सय मिटर उचाइमा रहेको बडीकेदार दक्षिण डोटीको बडीकेदार गाउँपालिका र बोगटान गाउँपालिकाको दोसाँधमा पर्छ । बडीकेदारको अग्लो डाँडामा मनमोहक दृश्य अवलोकन गर्दा नरमाउने बिरलै भएको बडीकेदार गाउँपालिका अध्यक्ष भैरव साउद बताउँछन् । सिरसिरे हावासंँगै सधै उही र उस्तै प्रकृतिको वातावरण रहने बडीकेदारको सुन्दरता मनोरम रहेको बडीकेदार गाउँपालिका वडा नं. ५ का पूर्व वडाध्यक्ष बुद्धिसागर बिनाडीले बताए ।

सन्तान, जागिर र पदोन्नीको वरदान माग्न दर्शनार्थीहरू बडीकेदार धाउने गर्छन् । मनोकामना पूरा हुने भन्दै तराईका आदिबासी थारू समुदाय र भारतको उत्तर प्रदेशका सहर लखिमपुर, पलिया, बरेली, साहजहापुर, खटिमा र सिगाहीबाट बर्सेनि कात्तिक बैकुण्ठ चतुर्दशीमा हजारौं तीर्थालु आउने गरेको बडीकेदारका मुख्य पुजारी सिद्धराज बिनाडी बताउँछन् । ‘शिलाको दर्शन र यहाँको तिलकलाई प्रसादका रुपमा लिन हजारौंको भक्तिभाव झल्कन्छ’, पुजारी बिनाडीले भने, ‘यो वर्षौदेखि भइरहेको भए पनि हामीले धार्मिक आस्थाका रूपमा मात्र लियौं, पछिल्लो समय धार्मिक पर्यटनसंँग जोडिन लागेको छ ।’

बडीकेदारको महिमा

किंवदन्तीअनुसार परापूर्वकालमा स्थानीय गाउँको एउटा गाई लेकमा चर्न आउने र दिनभर बडीकेदार शिलामा दूध चढाएर फर्कन्थ्यो । घरमा गाईले दूध नदिने भएकाले गोठालोले चियो गर्दा शिला भएको ठाउँमा दूध दिएको देखेपछि लाना गाउँ वरपरका ब्राह्मण आएर पूजाआजा गर्न थालेका हुन् । त्यहीबेलाबाट कार्तिक चतुर्दशीका बेला बडीकेदारमा पूजाआजा हुने गरेको स्थानिय बताउछन् ।

प्रकाशित : माघ १९, २०७९ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?