२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९७

शुक्लाफाँटामा ८८ प्रजातिका माछा

भवानी भट्ट

कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ८८ प्रजातिका माछा भेटिएका छन् । दुई वर्षअघि २०२० मा गरिएको अध्ययनले निकुञ्जमा विश्वमै लोपोन्मुख प्रजातिसहितका माछा रहेको पाइएको हो । निकुञ्ज स्थापना हुनुअघि उक्त क्षेत्रमा पहिलो पटक सन् १९७३ मा माछाको विषयमा अध्ययन भएको देखिन्छ ।

शुक्लाफाँटामा ८८ प्रजातिका माछा

१९७३ देखि २०१९ सम्म निकुञ्ज क्षेत्रमा ३५ प्रजातिका माछा भेटिएको अध्ययनले देखाएको छ । २०२० मा निकुञ्जका तत्कालीन प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्याल र त्रिभुवन विश्वविद्यालयका प्राकृतिक विज्ञान संग्रालयका माछा विज्ञ गणेशबहादुर थापा र सोही विश्वविद्यालयमा स्नातकोत्तरका विद्यार्थी विशाल पौड्यालले अध्ययन गरेका हुन् । ‘विगतमा गरिएका अध्ययन र हामीले गरेको अध्ययनका आधारमा शुक्लाफाँटामा ८८ प्रजातिका माछा रेकर्ड गरिएका छन्,’ निकुञ्जका तत्कालीन प्रमुख संरक्षण अधिकृत पौड्यालले भने, ‘विगतमा भएका अध्ययन र हामीले गरेको अध्ययनको निचोडका आधारमा हामीले यि प्रजातिसहितको रिपोर्ट सार्वजनिक गरेका हौं ।’ उक्त अध्ययन प्रतिवेदन त्रिभुवन विश्वविद्यालयको जर्नल अफ नेचुरल हिस्ट्री म्युजियममा प्रकाशित भएको छ ।

निकुञ्जभित्रका स्याली नदी, चौधर नदी, बाहुनी नदीसँगै रानी ताल, सालगौडी ताल, कालीकिच ताललगायत क्षेत्रमा अध्ययन गरिएको हो । यसका साथै महाकाली नदी र महाकाली सिंचाई नहरमा समेत अध्ययन गरिएको हाल शिवपुरी राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रहेका पौड्यालले बताए । उनका अनुसार वर्षमा ताल तलैया र नदीहरूमा दुई सिजनमा अध्ययन गरिएको हो । ‘चैत-वैशाख र असोज-कात्तिकमा फिल्डमा अध्ययन गरिएको हो,’ पौड्यालले भने, ‘वर्षायाम सुरु हुनुभन्दा अघि तालतलैया र नदीनाला सुख्खा हुन्छन्, त्यतिबेला माछा सहजै देख्न सकिन्छ, बर्खापछिको सिजनमा पनि पानी सफा भएर माछा देख्न सजिलो हुन्छ ।’ उपयुक्त नतिजाका लागि यहि सिजनमा अध्ययन गरिएको उनले बताए ।

अध्ययनले विश्वमै दुर्लभ मानिएका ५ प्रजातिका माछा भेटिएको जनाएको छ । त्यसैगरी संरक्षण नगरिए लोपोन्मुख अवस्थामा पुग्न सक्ने ४ प्रजातिका माछा भेटिएका छन् । उनका अनुसार तीनवटा प्रजाति विश्वमै अध्ययन नभएका पनि भेटिएका छन् । ‘माछाका प्रजातिले जलीय जैविक विविधताको अवस्थासँगै चराचुरुंगीको आहाराको अवस्था दर्साउँछ,’ पौड्यालले भने, ‘शुक्लाफाँटामा ठूलो संख्यामा माछाका प्रजाति भेटिनु चराचुरुंगीका लागि उपयुक्त आहारासँगै जलीय जीवका लागि समेत बासस्थान राम्रो रहेको दर्साउँछ ।’ उनले धेरै प्रजाति मानिसले खान मिल्ने भएकाले तिनको खेतीपाती गर्न सकिने बताए ।

महाकालीमा महाशिर लोपोन्मुख अवस्थामा छ । अनियन्त्रित रुपमा माछा मार्ने गतिविधिका कारण यो प्रजाति लोप हुने अवस्थामा पुगेको हो । निकुञ्ज क्षेत्रमा महाशिर पनि रेकर्ड भएको पौड्यालले बताए । उनका अनुसार असलालगायत अन्य विभिन्न स्थानीय प्रजातिका माछासमेत भेटिएका छन् । तिनको संख्यात्मक अवस्था भने अध्ययन हुन नसकेको उनले बताए । ‘पहिलो चरणमा माछाका प्रजातिबारे अध्ययन भयो, अब तिनको आहारा, बासस्थानको अवस्थाबारे अध्ययन आवश्यक देखिन्छ,’ उनले भने, ‘हालसम्म यसबारे अध्ययन नै भएको छैन, एउटा सुरुवात भएको छ ।’ उनकै पहलमा निकुञ्जमा रहेका स्तनधारी वन्यजन्तु र चराचुरुंगीको अध्ययन भएको थियो ।

प्रकाशित : माघ १३, २०७९ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?