भूकम्प प्रभावित क्षेत्रमा औषधि अभाव- सुदूरपश्चिम - कान्तिपुर समाचार

भूकम्प प्रभावित क्षेत्रमा औषधि अभाव

मोहन शाही

डोटी — सिमबाटा गाउँका भूकम्पपीडित ६५ वर्षीय प्रसादे लुहार दम रोगको औषधिका लागि एक महिनाको अवधीमा ३ पटक काडामाडौं स्वास्थ्यचौकी धाइसके । तर, उनी औषधि नपाएर रित्तै फर्के । गत साता ३ घण्टा टाढा पर्ने चौखुट्टेस्थित निजी मेडिकलमा उपचार गरे । त्यहाँ जाने उपचार खर्च उनले बाख्रा बेचेर जोहो गरे ।  

सिमबाटा गाउँकै देउसरा साउदले रुघाखोकीबाट छातिमा कफ जमेपछि दुई छोरीलाई स्वास्थ्यचौकी लैजाँदा उपचार पाइनन् । छिमेकीसँग ऋण लिएर उनले पनि निजी मेडिकलमा उपचार गराइन् ।

त्रिपालमुनि सुत्नु पर्दा उप्परकाडा, सिमबाटा, नुवाघर, गैरा, धानुकाडा, बटाला गाउँमा रुघाखोकी, श्वासप्रश्वास र दम लागेका अनुमानित ९ सय बिरामीहरु औषधिबाट बञ्चित रहेको स्थानीय काल्च्या साउद बताउँछन् । ‘रुघाखोकी, निमोनियाबाट संक्रमित नभएका कुनै बालबालिका छैनन्’, साउदले सुनाए ।

गत कात्तिक २३ गतेको भूकम्पबाट प्रभावित डोटीको पूर्वीचौकी गाउँपालिकाभरि अत्यावश्यक औषधि लामो समयदेखि अभाव छ । पालिकाले अझै औषधि आपूर्ति गरेको छैन । विभिन्न रोगहरुको संक्रमण फैलन सक्ने भएका बेला सरोकारवालाहरु झन् गैरजिम्मेवार बन्दै गएको स्थानीयको आरोप छ ।

भूकम्पपीडितको सहयोगका लागि कार्यरत दातृसंस्थाहरुले समेत चासो नराखेको स्थानीयको गुनासो छ । ‘चिसोले दिनरात खोक्दा-खोक्दा छाती फुट्न आटिसक्यो, राम्रो अस्पताल गएर उपचार गर्न पैसा छैन,’ सिमबाटा गाउँकी पबि ढोलीले दुखेसो पोखिन्, 'एक दिन हैन, दुई दिन हैन, जहिल्यै औषधि नपाई रित्तै फर्कनु पर्ने भएको छ ।’

पालिकामा दुई महिनायताबाट औषधि अभाव भएको स्वास्थ्य इकाई प्रमुख रामप्रसाद पाठकले बताए । उनले भण्डारणमा राखिएका औषधि सकिँदै गएकाले पनि स्वास्थ्य संस्थाहरुलाई वितरण गर्न नसकिएको बाध्यता सुनाए ।

दुई महिना अवधीमा स्वास्थ्य संस्थाहरुमा रुघाखोकी, निमोनिया तथा दमका ९ सय ९५ जना बिरामीहरु उपचारका लागि आइसकेको स्वास्थ्य इकाईमा तथ्यांक छ । तर पालिकाले भदौ महिनामा खरिद गरेको औषधि समेत वितरण नगरी थन्काएर राखेको स्रोतको दाबी छ । चालु आर्थिक वर्षका लागि टेण्डर आह्नान गरी औषधि खरिद गर्ने निर्देशन कार्यपालिकाले दिएको भए पनि कार्यालय प्रमुखले सोझै खरिद गरी ल्याउँदा विवाद भएको थियो । कार्यालय प्रमुखले मनोमानीरुपमा खरिद गरेकाले सो औषधि वितरण गर्न स्वास्थ्य इकाईलाई कार्यपालिकाले अनुमति नदिएर थन्काएको छ ।

गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्याय भने लामो समयदेखि लेखापाल र कार्यालय प्रमुख नहुँदा औषधि खरिद प्रक्रियामा ढिलो भएको बताउँछन् । नयाँ कार्यालय प्रमुख आइसकेकाले केही दिनमै औषधि अभावको समस्या टर्ने अध्यक्ष उपाध्यायको भनाइ छ ।

अहिले पूर्वीचौकी गाउँपालिकामा सिटामोल, ब्रोफिन, दमरोगीको लागि दिइने सालबोटामोल, बालबालिकालाई खुवाइने एमरेक्स, कोट्रिमोक्साजोल, मेट्रोनिडाजोल उच्च रक्तचापका बिरामीले दैनिक खाने एम्लोडिपिन एस्प्रिन, सुगरका बिरामीले खाने मेटफर्मिन, मानसिक समस्या भएकाले खाने एमिट्रिप्टलीन तथा बिरामीलाई नि:शुल्क दिइनु पर्ने अन्य ‌औषधिहरु एमोक्सिसिलिन, कोट्रिमोक्साजोल, एम्पिसिलिनलगायतका अत्यावश्यक औषधिसमेत नभएको सानागाउँ स्वास्थ्यचौकीका अहेब खडक विकले बताए ।

उनले पालिकाबाट ९ महिनादेखि ती औषधि उपलब्ध नहुँदा बिरामीहरुलाई रित्तै फर्काउनु परिरहेको गुनासो पोखे । बिरामी स्वास्थ्यचौकी आएपछि औषधि नहुँदा स्वास्थ्यकर्मीहरु नै लज्जित हुनुपर्ने अवस्था बनेको अहेब विकको भनाइ छ ।

प्रकाशित : माघ ११, २०७९ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्

त्रिपालमै थलिए डोटीका भूकम्पपीडित

करिब ३ महिनाअघिको भूकम्पमा ५ सय घर पूर्ण क्षतिग्रस्त र साढे ४ हजार घर चर्केका थिए
मोहन शाही

डोटी — लहरे खोकीले ७० वर्षीय मन्जिते साउदलाई सास फेर्न गाह्रो भइरहन्छ । त्रिपालमाथिबाट चुहिने शीतले ओढ्ने/ओछ्याउने कपडा भिजेका हुन्छन् । बिहानको सिरेटोमा खोकीले उनलाई सहिनसक्नुहुन्छ ।

कात्तिक २३ गते डोटीमा आएको भूकम्पले घरमा क्षति गरेपछि उनको परिवार त्रिपालमुनि बस्दै आएको छ । हिउँ जम्ने लेकमा त्रिपालभित्र सुत्नु पर्दा २० वर्ष पुरानो दमरोग बल्झिएको छ । ‘केइ दिन माठा (ढिलो) बाचन्या छ्या हजुर, ठन्न (चिसो) ले छाटाइ (छिटो) जान्या भया,’ छेउमा बसिरहेका नातिनातिनीको मुहार हेर्दै डोटीको पूर्वीचौकी–५ उत्तरकाँडाका साउदले भने, ‘घरभित्र पस्त डर लाउदो, त्रिपालमी ठन्नकी मरु हुनी, क्या अरू हजुर ऐइ वर्ष ठन्नका झाल (चिसोको दुःख भया) ।’ संयुक्त रूपमा बसे केही न्यानो हुने आसले यहाँका आठ परिवारका ३४ जना एकै त्रिपालमुनि सुत्ने गरेका छन् ।

गर्भवती रम्भा साउदलाई गर्भको शिशुलाई चिसोबाट जोगाउने चिन्ता छ । त्रिपालमुनि सुत्दा रुघाखोकीले च्यापेपछि उनी आफैं उपचारका लागि चार पटक चौखुट्टेको मेडिकल धाइसकिन् । ‘त्रिपालमुनि चिसोले साँघुरिएर बस्नुपर्दा जेलजीवनसरह भएको छ,’ गर्भवती रम्भाले दुखेसो पोखिन्, ‘पेट ओसिलो हुने, ढाड दुख्ने, टाउको दुख्ने तथा खानपानमा स्वाद नआउने भएकाले मरुँ कि बाँचुसरह भएको छ ।’ पेटमा शिशुलाई असर परिरहेकामा उनी पिरोलिएकी छन् ।

भूकम्पका सानाठूला परकम्प आइरहेकाले चर्किएको घरभित्र पूर्वीचौकी–५ उत्तरकाँडाका अधिकांश परिवार पसेका छैनन् । त्रिपालमुनि आगो बाल्न नमिल्ने भएकाले जमिनबाट आउने चिसो र त्रिपालबाट चुहिने शीतले गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीलाई सताएको छ । बालबालिकाहरूका ओठ, हातगोडा चिसोले फुटेका छन् ।

पूर्वीचौकी–५ सिमबाटाकी २४ वर्षीया देउमती साउद र २५ वर्षीया झुमा साउदलाई दुधेबालक चिसोबाट जोगाउन सास्ती छ । खप्तड मध्यवर्ती क्षेत्रभित्र पर्ने सिमबाटा गाउँमा ज्येष्ठ नागरिक र बालबालिकाहरू चिसोले थला परेपछि कतिपय जोखिम मोलेर क्षतिग्रस्त घरभित्रै सुत्न थालेका छन् । ‘घरका हुने (श्रीमान्) देश गया, बूढा सासूससुरा र हामी मात्तै छौं,’ चार सन्तानकी आमा २४ वर्षीया देउमती साउदले भनिन्, ‘ठन्नका उपचारमी १३ हजार खर्च भइग्या, ठन्नले मद्दु भन्ना च्यापीवर मरुँला भनिवर घर पस्यौं ।’ सिमबाटा गाउँमा भने चिसो सहन नसकेर एक सातायताबाट क्षतिग्रस्त घरमै सुत्न सुरु गरिसकेका छन् ।

भूकम्पले घरभित्रै पुरिएर ६ जनाको ज्यान गएको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा पनि खुला आकाशमुनि नै बसेका छन् । दिनभर चिसो हावा चल्ने, राति शीत चुहिने भएकाले भूकम्प प्रभावितहरूको जनजीवन कष्टकर बनेको छ । त्रिपालबाट शीत चुहिँदा ओढ्ने लुगा नै भिजेर हैरान हुने गरेको रूपाकुमारी साउदले सुनाइन् । भूकम्पका कारण पूर्वीचौकी, सायल, दिपायल सिलगढी र शिखर नगरपालिकामा क्षति पुर्‍याएको थियो । उक्त भूकम्पमा परी करिब ५ सय घर पूर्ण क्षतिग्रस्त र चार हजार ५ सय घर चर्केको अनुमान छ ।

भूकम्पपीडितहरूमा चिसो सहन नसकेर शारीरिक तथा मानसिक समस्या देखा पर्न थालेका छन् । पूर्वीचौकी गाउँपालिका स्वास्थ्य इकाइ प्रमुख रामप्रसाद पाठकले अढाई महिनायता रुघाखोकी र दमका ९७६ बिरामी उपचारका लागि आएको बताए । पाठकका अनुसार भूकम्प प्रभावित रहेको पूर्वीचौकी क्षेत्रमा मात्रै २ सय ५५ गर्भवती महिला छन् भने ३ सय हाराहारीमा दमका रोगी छन् । पीडितहरूका समस्याबारे भने सरकारले तदारुकता देखाउन सकेको छैन । पीडितहरूको विस्तृत क्षति विवरणको तथ्यांक संकलनमा समेत ढिलाइ गरिरहेको सरकारले उनीहरूको स्वास्थ्य उपचार र पुनःस्थापनाका लागि पनि बेवास्ता भएको छ ।

त्रिपाल, न्यानो लुगा, कम्बलहरू पालिका तथा विभिन्न दातृसंस्थाहरूले वितरण गरे पनि चिसोबाट भने बचाउन नसकिएको उत्तरकाडाका खन्टे साउदले आरोप लगाए । उनले सरकारबाट अस्थायी घर र पुनःस्थापनाका काम चाँडो हुनुपर्ने माग राखेका छन् ।

प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले पीडितहरूलाई चिसोबाट जोगाउन रेडक्रस सोसाइटी, सामुदायिक विकास केन्द्र सीडीसी र उपेक्षित समुदाय सशक्तीकरण तथा विकास मञ्चद्वारा अस्थायी घर निर्माण भइरहेको बताइन् । तर ती दातृसंस्थाहरूले अस्थायी घर निर्माणको काम भने अझै सुरु गरेका छैनन् ।

रेडक्रसले २ सय तथा सीडीसी र उपेक्षित समुदाय सशक्तीकरण तथा विकास मञ्चले डेढ सय अस्थायी घर निर्माण गर्ने बताउँदै आएका छन् । रेडक्रस डोटीका सभापति लक्षीराम कुँवरले पीडितहरूको छनोट गर्न र केही प्रक्रियागत विषयमा अलमल भएकाले अस्थायी घर निर्माणमा ढिलाइ भएको बताए ।

प्रकाशित : माघ १०, २०७९ ०७:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×