सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

अर्जुन शाह

धनगढी — बुधबारका लागि बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयले मंगलबार प्रदेशसभा सदस्यहरुलाई अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी पठाएको छ ।

सुदूरपश्चिममा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको लिएका छैनन् । दल तथा सांसदहरुबीच समझदारी भएको भए बुधबार बस्ने भनिएको बैठकमा विश्वासको मत लिने तयारी मुख्यमन्त्रीको थियो । तर निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीसँग अझै ठोस समझदारी भइनसकेकाले विश्वासको मत लिने दिन पनि अनिश्चित भएको हो ।

यतिबेला मुख्यमन्त्री रावल काठमाडौंमा छन् । काठमाडौंमा उनले नागरिक उन्मुक्तिका सांसदहरु तथा नेताहरुसँग आफ्नो र प्रधानमन्त्रीसहित शीर्ष तहको राजनीतिक भेटघाट गराएर समझदारीको प्रयत्न गरिरहेका छन् ।

सुदूरपश्चिम प्रदेशसभामा संख्यात्मक रूपमा निर्णायक घटकका रूपमा रहेको नागरिक उन्मुक्तिका सांसदहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त भएको एमाले संसदीय दलका नेता रावललाई विश्वासको मत दिने नदिने बारेमा नागरिकले अझै ठोस निर्णय गरिसकेको छैन । तर आफ्ना नेता रेशम चौधरीको रिहाइ मुख्यमन्त्रीलाई समर्थन गर्ने मुख्य ‘बटम लाइन’ रहेको संसदीय दलका नेता रामेश्वर चौधरी बताउँछन् ।

त्यो कदममा प्रदेश सरकारको कुनै ठोस भूमिका नहुने भएकाले केन्द्र सरकारले नै गाँठो फुकाइदेओस् भन्ने मुख्यमन्त्रीको चाहना र अपेक्षा देखिएको छ । रेशम चौधरीको रिहाइ गर्न एमाले अध्यक्ष र प्रधानमन्त्रीको संयुक्तप्रयास रहने आश्वासन प्राप्त भएको नेताहरुले बताए ।

प्रकाशित : माघ ११, २०७९ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्

भूकम्पका कारण बाजुरामा एक जनाको मृत्यु [अपडेट]

अर्जुन शाह

धनगढी — बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्याँमा केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पका कारण एक जनाको मृत्यु भएको छ । गौमुल गाउँपालिका-२ की जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सूर्यबहादुर थापाले बताए ।

घाँस काटिरहेको बेला भूकम्पका कारण माथिबाट खसेको ढुंगा लागेर उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।

बाजुराकै हिमाली गाउँपालिकाको बिच्छ्याँ केन्द्रबिन्दु बनाएर गएको ५.९ रेक्टरको भूकम्पले जिल्लाभर थुप्रै घरहरुमा आंशिक र पूर्ण क्षति भएको खबर आएको र विवरण संकलन गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रकाशित : माघ १०, २०७९ १७:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×