कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३
सुदूरको सान

उज्याला हिमाल

सुदूरपश्चिमका नौमध्ये तीन जिल्ला मात्रै हिमाली हुन्— बझाङ, दार्चुला र बाजुरा । प्रदेशका ३३ प्रतिशत जिल्ला मात्रै हिमाली जिल्ला भए पनि क्षेत्रफलमा सुदूरपश्चिमको कुल भूभागको करिब ४१ प्रतिशत हिमालमा पर्छ ।

उज्याला हिमाल

प्रदेशको कुल क्षेत्रफल १९ हजार ५४९ वर्गकिमिमध्ये७ हजार ९ सय ३३ वर्गकिमि समुद्री सतहदेखि पाँच हजार मिटरभन्दा उचाइमा छ । नेपालका ७७ जिल्लामध्ये सर्वाधिक हिमक्षेत्र भएको जिल्ला बझाङ यही प्रदेशमा छ । यस जिल्लाको ३० प्रतिशत भूभाग (करिब १ हजार २७ वर्गकिमि) हिमाली भेगमा पर्छ ।

अपी (७१३२ मिटर) र साइपाल (७०३१ मिटर) प्रदेशका अग्ला हिमाल हुन् । व्यास नाम्पा, कापुचुली, बब्बे, फिरानकोभ, दोङलिप, योकापहाड रानी हिमाल, जेठी बहुरानी, सुनखानी, शंखमाला, चाँदेशिखर, गुदुपाल, व्याँसीमारेलगायतका छ हजार मिटरभन्दा बढी र सात हजार मिटरभन्दा कम उचाइका हिमालको संख्या दर्जनौं छ । पाँच हजार मिटरभन्दा बढी उचाइ भएका हिमचुचुरा अनगिन्ती नै छन् ।

नेपालको पर्यटनको अभिन्न पाटो हो, हिमाल । यहाँ आउने धेरैजसो विदेशी पर्यटक हिमाल हेर्न र आरोहण गर्न रुचाउँछन् । पर्यटन विभागले संकलन गरेको राजस्व दाखिला विवरणका आधारमा पर्यटनका विभिन्न पाँच क्षेत्रमध्ये क्यासिनोपछि सबैभन्दा धेरै राजस्व संकलन पर्वतारोहणबाट भएको देखिन्छ । हिमाली क्षेत्रको पदयात्रा र आरोहणका दौरान पर्यटकले बढी रकम खर्च गर्ने भएकाले पर्यटन एवं होटल व्यवसायी र स्थानीयले पाउने लाभको हिस्सा अझै ठूलो छ ।

यद्यपि सुदूरपश्चिमका सबै हिमालको पहिचान र प्रचारप्रसार हुन सकेको छैन । यसर्थ भूगोलको झन्डै आधा हिस्सा हिमाली भए पनि यस प्रदेशले हिमालबाट लिनुपर्ने लाभ लिन सकेको छैन । विश्वभरका हिमालबारे जानकारी दिने वेबसाइट पिकभाइजरका अनुसार सुदूरपश्चिमका ७१ हिमालको मात्र नामकरण गरिएको छ । यद्यपि यस क्षेत्रमा ५ हजार ५ सय मिटरभन्दा बढी उचाइका दुई सयभन्दा बढी हिमाल रहेको अनुमान छ । प्रदेशमा रहेका हिमालको गणना, नापजाँच र नामकरण पनि हुन नसक्दा पर्यटनको प्रमुख आकर्षणका रूपमा रहेका हिमाल अझ पनि प्रकृतिकै गर्भमा छन् ।

सुदूरपश्चिमका हिमालसँग जोडिने अर्को आकर्षण भनेको यहाँको हिमाली पर्यावरण र जनजीवन हो । यहाँका कैलाली र कञ्चनपुरबाहेक अरू सबै जिल्लाबाट सुन्दर हिमशृंखला अवलोकन गर्न सकिन्छ । सुदूरका हिमाली क्षेत्रको अद्वितीय जैविक विविधता, अनुपम भूधरातल र परम्परागत जीवनशैली पर्यटकका लागि नौलो र अविस्मरणीय अनुभव दिने खालका छन् । हिमाल हेर्न वा आरोहण गर्न सुदूरपश्चिम पुग्नेहरूको यात्रालाई पृथक् बोलीचाली, खानपान, वेशभूषा र कला–संस्कृतिको सुन्दर संयोजनले थप रोमाञ्चक बनाउँछ ।

नेपालको पर्यटन नीति–०६५ मा पर्वतारोहणलाई व्यवस्थित र वातावरणमैत्री बनाई नेपाललाई यस क्षेत्रमा विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्ने उल्लेख छ । पर्वतारोहणका लागि पहुँच नपुगेका सम्भाव्य क्षेत्रमा पर्वतारोहण शुल्क मिनाहा गर्ने, नेपालका हिमचुली आरोहणका लागि क्रमशः खुला गर्दै जाने र निश्चित उचाइभन्दा मुनिका र पर्वतारोहणका दृष्टिले सरल मानिएका पदयात्रा चुलीका रूपमा प्रवर्द्धन गर्ने पर्यटन नीतिमा उल्लेख छ ।

पर्यटन नीतिलाई केही परिमार्जन गर्ने र निर्दिष्ट गरेका व्यवस्थालाई सबै तहका सरकारले प्राथमिकतासाथ व्यवहारमा लागू गर्न सक्रियता लिने हो भने सुदूरपश्चिमका हिमाल यहाँको समृद्धिका आधारशिला बन्ने पर्यटनसम्बद्ध सरोकारवाला बताउँछन् । ‘सरकारले ८ हजार मिटरभन्दा माथिका हिमाल चढ्न चाहनेलाई त्योभन्दा पहिला ८ हजार मिटरभन्दा होचा हिमाल अनिवार्य चढेको हुनुपर्ने व्यवस्था गर्न सक्यो भने सुदूरपश्चिमका हिमाल प्रवर्द्धनमा सहयोग पुग्छ,’ नेपाल पर्यटन बोर्डका पूर्वसदस्य एवं सुदूरपश्चिमका अग्रणी पर्यटन व्यवसायी कृष्णबहादुर महराले भने, ‘नीति निर्माण गरेर मात्रै पनि हँॅदैन । कार्यान्वयनका लागि सबै तहका सरकारले पूर्ण इच्छाशक्ति देखाउन सके सुदूरका हिमालले देशको पर्यटन क्षेत्रमा राम्रै योगदान दिने सम्भावना राख्छन् ।’

पूर्वाधार आवश्यक

आरोहण वा पदयात्रा चुलीका रूपमा सुदूरका हिमाललाई प्रवर्द्धन गर्ने हो भने अत्यावश्यक पूर्वाधार निर्माणमा लगानी गर्नु आवश्यक छ । हिमालका आधार शिविरसम्म पुग्ने सुरक्षित पदमार्ग, क्याम्प साइट, बाटोबारे जानकारी दिने संकेत चिह्न र शौचालय अभावबारेका दुःख यहाँ पुग्नेहरूले सुनाउँछन् । स्थानीय सरकारकै सक्रियतामा यस्ता पूर्वाधार निर्माण गर्न सकिने भए पनि यसतर्फ प्रयास केन्द्रित छैनन् । यसो हुन सकेयहाँका हिमाली क्षेत्रमा पर्यटकको आगमन दर बढ्ने सुदूरपश्चिमका थुप्रै हिमालका आधार शिविर भ्रमण गरिसकेका युट्युबर कञ्चन राईको अनुभव छ । ‘पर्यटकीय आकर्षणका हिसाबले सुदूरका हिमाल अन्य क्षेत्रको भन्दा विशेष र आकर्षक छन्,’ उनी भन्छन्, ‘पर्यटकले नयाँ ठाउँको अनुभव लिन खोजिरहेका हुन्छन् । न्यूनतम पूर्वाधारको व्यवस्था गर्न सकियो भने मानिस ओइरिने भनेको पश्चिमतिरै हो ।’

विदेशी पर्यटकले यात्राका दौरान सरसफाइ र स्थानीयको व्यवहारलाई विशेष ख्याल गर्ने गरेको तर सोचेजस्तो नभेटेका कारण आफू फर्केर नआउने र अरूलाई पनि घुम्न सिफारिस गर्न त्यति नरुचाएको सुदूरपश्चिमका व्यावसायिक पथप्रदर्शक आशिष चौधरीले बताए । थुप्रै विदेशी पर्यटकलाई अपी, साइपाललगायतका हिमाल घुमाइसकेका उनले भने, ‘बाटोमा पर्ने होटल र चिया पसलको सरसफाइ व्यवस्थापन गर्ने, भरियालाई तालिम दिनेजस्ता स–साना कुरामा ध्यान दिन सकियो भने पनि यसले विदेशी पर्यटकलाई ठूलो प्रभाव पार्छ ।’ स्थानीय उत्पादनमा आधारित खानेकुराको प्रवर्द्धन र स्थानीय सीपमा आधारित हस्तकलाका सामग्री निर्माण गर्ने विषयलाई पनि पर्यटन पूर्वाधारकै रूपमा लिएर सरकार र निजी क्षेत्रले काम गर्नुपर्नेमा चौधरीले जोड दिए।

जैविक विविधता संरक्षणमा चुनौती

सुदूरपश्चिमका हिमाली क्षेत्र यार्चागुम्बुलगायत सयौं प्रजातिका बहुमूल्य जडीबुटी, डाँफे, कस्तूरी, हिमचितुवाजस्ता वन्यजन्तु र भोजपत्र, धुपीजस्ता हिमाली वनजंगलले सुसज्जित छन् । यहाँ पाइने जैविक विविधता हेर्न मात्रै नभएर स्थानीयको जीविकाका आधार पनि हुन् । विश्वमै दुर्लभ बन्दै गएको हिमाली पारिस्थितिकीय प्रणाली संरक्षणका दृष्टिले पनि उत्तिकै संवेदनशील छ । यद्यपि यसको संरक्षणको पाटोलाई पूर्ण बेवास्ता गरेका कारण केही वर्षयता भइरहेको अस्वाभाविक दोहनले अस्तित्व नै संकटमा पर्ने चिन्ता बढेको छ ।

एकातिर बढ्दै गएको विश्व तापमान र अस्वाभाविक मौसमी परिवर्तनले हिमालहरू काला पहाडमा रूपान्तरण हुँदै गएका छन् । अर्कोतिर जडीबुटी संकलनका लागि बर्सेनि ठूलो संख्यामा हिमाली क्षेत्रमा पुग्ने मानिसले जथाभावी चोरी सिकार गर्ने, डढेलो लगाउने, फोहोर फाल्ने, वन फँडानी गर्नेलगायत गतिविधि गर्दा हिमाली क्षेत्रको जैविक विविधता सखाप हुने क्रममा छ । हिमनदी, हिमताल र पानीका स्रोत सुक्न थालेका छन् । जंगल, जडीबुटी र वन्यजन्तु लोपोन्मुख छन् । हराभरा हिमाली क्षेत्र वनस्पतिविहीन–जीवविहीन फोहोरको डंगुरमा रूपान्तरण हुने बाटोमा छ । हिमाल र यहाँको जैविक विविधता जोगाउने हो भने मानवीय गतिविधिलाई नियन्त्रण र नियमन गरी सखाप भएको वन क्षेत्रको पुनर्भरण गर्नु अहिलेको मुख्य चुनौती हो ।

प्रकाशित : माघ ९, २०७९ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?