१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६
सुदूरको सान

मौका स्वास्थ्य पर्यटनको

आधुनिक मात्र नभई प्राकृतिक तथा आयुर्वेद चिकित्साका लागि पनि सुदूरपश्चिम प्रचुर सम्भावनाको क्षेत्र हो
अर्जुन शाह

सुदूरपश्चिममा जति गरिबी र पछौटेपन छ, त्यति नै धेरै सम्भावना छन् । यहाँ रहेका अनेक सम्भावना र विकासका प्रयासमध्ये पछिल्लो समयमा स्वास्थ्य क्षेत्रमा देखिइरहेको उज्यालोले स्वास्थ्य पर्यटन (मेडिकल टुरिजम) को पनि ढोका ढकढक्याइरहेको छ ।

मौका स्वास्थ्य पर्यटनको

अहिलेपनि धनगढीस्थित गेटा आँखा अस्पताल गर्विलो उदाहरण हो । ०३७ मा स्थापित अस्पतालले हरेक वर्ष एक लाखभन्दा बढीलाई उपचार सेवा दिन्छ । तीमध्ये ३० प्रतिशतभन्दा बढी भारतीय बिरामीहुन्छन् । उनीहरू उपचार गरेर फर्किने मात्र होइन, समय भएसम्म धनगढी बजार, नजिकमा पर्ने स्थानीय गन्तव्यमा घुमघाम अनि किनमेल गर्ने मौका पनि छुटाउन चाहन्नन् ।

चालु आर्थिक वर्षको साउनदेखि पुससम्म उपचार गर्न आएका ४४ हजार ७९ जनामध्ये १३ हजार ६ सय ७९ जना भारतीय छन् । यस अवधिमा पाँच जना बंगालदेशी बिरामी पनि उपचारका लागि यहाँ आएको अस्पतालका आउटरिच अफिसर रमेशचन्द्र भट्ट बताउँछन् ।

२०३७ सालमा स्थापना भएको गेटा आँखा अस्पताल स्वदेशी तथा भारतीय बिरामीका लागि उपचार गर्ने प्रमुख तथा विश्वासिलो केन्द्र बनिरहेको छ । भारतको खिरी महादेव गाउँका चेतराम हालै गेटा आँखा अस्पताल उपचारका लागि आए । त्यही दिन उनको उपचार पूरा भयो । पहिलो पटक धनगढी आएका उनले दोस्रो बिहान धनगढी बजार घुमघाम गरेर किनमेल पनि गरे । उनले आफ्नै भाषामा भने, ‘यहाँपर बहुत बढिया उपचार मिलता है, और घुमघाम करनेको भी मौका मिलता हे ।’

पछिल्लो समय आधुनिक चिकित्सा सेवा प्रवाहको केन्द्र बन्दै छ, सुदूरपश्चिम।भव्य भौतिक पूर्वाधार बनिसकेकोगेटा मेडिकल कलेज सञ्चालनको सम्मुखमा छ । त्यसबाहेक सबैभन्दा महत्त्वपूर्ण अवसर प्राकृतिक तथा आयुर्वेद चिकित्साका लागि बोकेको छ । आफैं चिकित्सक रहेका खप्तडबाबाले साधना र अनुसन्धानका लागि खप्तड रोज्नुका पछाडि पनि यहाँ उपलब्ध आयुर्वेद तथा प्राकृतिक चिकित्साको प्रचुर सम्भावनालाई उजागर गर्नु थियो।

‘सुदूरपश्चिमको आर्थिक तथा सामाजिक रूपान्तरणका लागियहाँको पर्यटन विकास निर्विकल्प माध्यम हो,’ त्रिभुवन विश्वविद्यालयमा ग्रामीण पर्यटन विषयका प्राध्यापक डा. भरत बडालले भने, ‘पर्यटन विकास अनेक आयाममध्ये स्वास्थ्य पर्यटनका लागि पनि सुदूरपश्चिम प्रचुर सम्भावना बोकेको प्रदेश हो ।’

आधुनिक चिकित्सा सेवा प्रवाहका लागि धनगढीस्थित गेटा मेडिकल कलेज सञ्चालनको सम्मुखमा छ । धनगढी–अत्तरियाको बीचमा रहेको गेटामा निर्माण भएका भव्य संरचनाले अहिले नै पनि आकर्षित गरिरहेका छन् । गेटा मेडिकल कलेज/प्रतिष्ठान/विश्वविद्यालयस्थापना भएर सञ्चालन हुनेबित्तिकैसुदूरपश्चिमको स्वास्थ्य सेवास्तर बढोत्तरी हुने मात्र नभई आर्थिक क्षेत्रलाई पनि चलायमान बनाउने निश्चित छ ।

गेटा मेडिकल कलेज/गेटा अस्पताल सञ्चालनका लागि सरकारले गत असारमा १०औं तहका एक चिकित्सकसहित निर्देशकमा डा. प्रमोद जोशीलाई नियुक्त गरेर खटाइसकेको छ । ०५६ सालमा ७७ बिघा जमिन छुट्याइएको थियो । ०६५ सालमा सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन भयो । ०७१ सालमा शिलान्यास भएर ०७४ मात्र पूर्वाधार निर्माणसुरु भएको गेटामा हालसम्म करिब पाँच अर्ब लागतमा ६ सय शय्याको मेडिकल कलेज सञ्चालनका लागि आवश्यक २८ वटा आधुनिक भवननिर्माणलगभग सकिएको अस्पतालका निर्देशक डा. जोशी बताउँछन् ।

गेटालाई मेडिकल कलेज प्रतिष्ठान वा विश्वविद्यालय के बनाउने भन्नेमा सरकारले अझै निर्क्योल गरिसकेको छैन । सुदूरपश्चिमका अगुवाहरूले यसलाई विश्वविद्यालय बनाउनुपर्ने माग गर्दै आएका छन् । गेटा मेडिकल कलेज वा विश्वविद्यालय स्थापना भएर सञ्चालन हुनसके विभिन्न अवसरसिर्जना हुनेछन् । नर्सिङ, पारामेडिक्सदेखि एमडी, एमएससम्मको पढाइ यहीँ हुने भएपछि यस क्षेत्रमा चहलपहल नै बेग्लै हुने निर्देशक डा. जोशीको बुझाइ छ ।

‘मेडिकल शिक्षाका लागि स्रोत र जनशक्ति भारतलगायत तेस्रो मुलुकमा जाने बाध्यात्मक अवस्था घट्नेछ,’ उनले भने,‘देश बाहिरबाट पनि अध्ययनअध्यापनका लागि यहाँ आउनेको संख्या बाक्लो हुनेछ ।’ गेटा सञ्चालनमा आउनेबित्तिकै यसका बहुआयामिक दायरा चलायमान हुनेछन्, जसले मेडिकल टुरिजमलाई बढावा दिने उनको भनाइ छ ।

यसै वर्षभित्र दुई सय शय्याको अस्पताल सञ्चालनको तयारी भइरहेको निर्देशक डा. जोशी बताउँछन् । त्यसका लागि १ सय १० जना स्वास्थ्य जनशक्तिको आवश्यकता पर्ने भएकाले माग गरी मन्त्रालयमा पठाइसकिएको उनले जनाए । ‘अब बाँकी रहेको बिजुली बत्ती, ढल, पानीलगायत पूर्वाधार पूरा गर्न र दरबन्दी कन्फर्म गरेर उपकरणको प्रबन्ध गर्न माग गरेका छौं,’ डा. जोशीले भने, ‘सात विधाका ओपीडी सञ्चालन गर्ने तयारी छ ।’

गेटा मेडिकल कलेज पूर्ण रूपमा सञ्चालनपछि सिंगो सुदूरपश्चिमवासीको स्वास्थ्य रूपान्तरणमा योगदान पुग्नेजनस्वास्थ्य विज्ञ रमेश कुँवरको पनि दाबी छ । सीमावर्ती भारतीय बस्तीबाट पनि थुप्रै संख्यामा बिरामीलाई आकर्षित गर्न सकिने अवसर रहेको उनको भनाइ छ । ‘भारतका मेडिकल कलेजसँग विशेषज्ञता आदानप्रदान गर्न सकिनेछ,’ उनले भने । तसर्थ विश्वविद्यालय बनाउन सरकारले कुनै कन्जुस्याइँ गर्न नहुनेमा उनले जोड दिए ।

सुदूरपश्चिम निजी क्षेत्रका लगानीकर्ताको पनि आकर्षणको केन्द्र हो । यहाँ हाल २८ वटा निजी अस्पताल सञ्चालनमा छन् । नेपाल निजी अस्पताल संघ (अफिन) का अनुसार १४ वटा त धनगढीमै छन् । त्यसैले सुदूरपश्चिम निजी तहबाट स्वास्थ्य क्षेत्रमा लगानीकर्ताका लागि आकर्षक क्षेत्रका रूपमा स्थापित छ । पछिल्लो दुई वर्षमा ६ वटा अस्पताल धनगढीमै खुलेको संघका अध्यक्ष जनकराज जोशी छन् ।स्वास्थ्य सेवामा निजी क्षेत्रको प्रवेशले ६० प्रतिशतभन्दा बढी बिरामीलाई भारततिर जानुपर्ने बाध्यता हटेको उनको भनाइ छ । ‘भारतीय सीमा क्षेत्रमा खुलेका अस्पताल बन्द हुने अवस्थामा छन्,’ उनले भने । अस्पतालहरूले रोजगारी सिर्जना पनि गरेका छन् । एउटा अस्पतालले कम्तीमा एक सय जनालाई रोजगारी दिएको अध्यक्ष जोशी बताउँछन् । ‘वार्षिक एक अर्ब रुपैयाँभन्दा बढीको पँॅजी पलायन रोकिन थालेको छ,’ उनले भने, ‘केही वर्षअघिसम्म मेडिकल अधिकृत पनि आउन नमान्ने सुदूरपश्चिम अहिले भने देशमै नाम चलेका विशेषज्ञ चिकित्सकको पनि रोजाइको ठाउँ बन्न थालेको छ ।’

पर्यटनका अनेक आयाममध्ये सुदूरपश्चिमले स्वास्थ्य पर्यटनको प्रचुर सम्भावना बोकेको छ । आधुनिक चिकित्साका साथै आयुर्वेद, योग तथा प्राकृतिक चिकित्साको केन्द्रका रूपमारहेको प्रदेशमा यी विधाको विस्तार र विकासले समग्र विकासमा छलाङमार्दै छन् ।

आधुनिक मात्र नभई प्राकृतिक तथा आयुर्वेद चिकित्साका लागि पनि सुदूरपश्चिम प्रचुर सम्भावना रहेको क्षेत्र हो । डोटी, अछाम, बाजुरा र बझाङको संगममा रहेको खप्तड, बडिमालिका, रामारोशनलगायत ठाउँ सुदूरपश्चिममै छन् । यी ठाउँ प्राकृतिक तथा आयुर्वेद चिकित्साका लागि निकै उपयोगी गन्तव्य हुन् ।

१००८ स्वामी सच्चिदानन्द सरस्वती अर्थात् खप्तडबाबाले डोटी, अछाम, बाजुरा र बझाङको संगममा रहेको खप्तडमा ५० वर्ष बिताएर यस क्षेत्रको महिमा र महत्त्व मात्रै बढाएनन्, योग साधना, आयुर्वेद र प्राकृतिक चिकित्साका दृष्टिले यो किन महत्त्वपूर्ण छ भन्ने रहस्य पनि उद्घाटन गरिदिए । खप्तड क्षेत्रको प्राकृतिक तथा जैविक विविधताका कारण उनको आयु लम्बिएको बताइन्छ । ‘मानसिक शान्तिका लागि खप्तड, बडिमालिकाभन्दा उपयुक्त ठाउँ विरलै छन्,’सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा. नीराजनदत्त शर्मा पौडेलले भने ।

प्रकृति विज्ञानको जननी हो । खप्तडबाबा आयुर्वेद र प्राकृतिक चिकित्साका पनि ज्ञाता थिए । खप्तडमा त्यसको भण्डार देखेर त्यो ठाउँ उनले रोजेको पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले जनाए । प्राकृतिक चिकित्साअन्तर्गत विशेष गरी पञ्चमहाभूत (आकाश, घाम, पानी, वायु र माटो) र शारीरिक अभ्यासका रूपमा योगभित्र आठ हाँगा छन् । मानिसलाई शारीरिक, मानसिक, आध्यात्मिक र संवेदनात्मक रूपमा स्वस्थ राख्न योगको ठूलो भूमिका रहने आयुर्वेद

चिकित्सक डा. खगेन्द्र बमको भनाइ छ । ‘सुदूरपश्चिममा खप्तड, बडिमालिकालगायत क्षेत्र प्राकृतिक चिकित्सा र योगका लागि सर्वाधिक उपयुक्त ठाउँ हुन्,’ उनले भने ।

प्रकाशित : माघ ९, २०७९ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?