कञ्चनपुरमा १५ किलो चरेससहित दुई पक्राउ- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कञ्चनपुरमा १५ किलो चरेससहित दुई पक्राउ

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुर प्रहरीले १५ किलोग्रामभन्दा बढी चरेससहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले बझाङको केदारस्यु गाउँपालिका-७ का करन धामी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ का महेशप्रसाद भट्टलाई शुक्रबार साँझ पक्राउ गरेको हो । धामी कञ्चनपुरको भीमदत्त नगरपालिका-३ तिलकपुर र भट्ट शुक्लाफाँटा-१२ बाट पक्राउ गरेका हुन् । 

धामीबाट १५ किलो ५२० ग्राम र भट्टबाट ७५ ग्राम चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले बताए । गिरीका अनुसार धामी तिलकपुरमा आफन्तको घरमा बस्छन् । उनले आफन्तकै घरभित्र लुकाइराखेको अवस्थामा चरेस बरामद भएको बताए । उनकै सूचनाका आधारमा शुक्लाफाँटा नगरपालिका- १२ का भट्ट पनि पक्राउ परेका हुन् । धामीले भट्टलाई चरेस बिक्री गरेको जानकारी दिएका थिए ।

प्रकाशित : माघ ७, २०७९ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्

भारततर्फ जानेलाई नाकामा कडाइ

लकडाउनका बेला भारततर्फ प्रवेश गर्नेहरुलाई एसएसबीले अनिवार्य गरेको परिचयपत्र अहिले पनि जारी
भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको गड्डाचौकी नाका भएर भारततर्फ जाने यात्रुलाई चेकजाँचमा कडाइ गरिएको छ । केही दिनयता भारततर्फ जानेहरूसँग परिचयपत्र सँगै चेकजाँचका नाममा लामो समय लाइन लगाउने गरेका कारण यात्रुहरूले सास्ती खेप्नुपरेको छ । 

कोरोना संक्रमणका बेला लकडाउन सुरु भएसँगै भारततर्फ प्रवेश गर्नेहरूलाई एसएसबीले परिचर्यपत्र अनिवार्य गरेको थियो, जुन अहिले पनि जारी छ । सीमावर्ती बजारमा किनमेलका लागि जानेहरू घण्टौं लाइन लागेर चेकजाँच गराउँदा समस्यामा परेको बताउँछन् । ‘कहिले नागरिकता माग्छ, कहिले अन्य थोक माग्छ,’ कञ्चनपुरको भीमदत्त नगरपालिका ८ तिलाचौरका राज भट्टले भने, ‘लाइन लागेर नाम दर्ता गराउँदा आधा घण्टा लाग्छ, त्यसपछि पनि भित्र लगेर फेरि चेक गराइन्छ ।’

‘नागरिकता वा परिचयपत्र अनिवार्य गरेको कोरोनादेखि नै हो,’ भीमदत्त नगरपालिका ११ गड्डाचौकीका किसन खड्काले भने, ‘कोरोनाका बेला संक्रमण रोकथामका लागि लागू भएको कडाइ एसएसबीले अहिले पनि जारी राखेको छ ।’ उनका अनुसार चेकजाँचकै कारण अहिले किनमेलका लागि भारततर्फ जाँदा आधा/एक घण्टा बढी समय लाग्ने गरेको छ । एसएसबीले नियमित चेकजाँचभन्दा केही कडाइ गरेको सुरक्षाकर्मीहरू बताउँछन् । उनीहरूका अनुसार भारतमा २६ जनवरी अर्थात् गणतन्त्र दिवस नजिकिँदै गरेका कारण पनि कडाइ भएको हो ।

एक महिनाअघि भीमदत्त नगरपालिका ११ को वडा कार्यालयले सीमामा आवागमन सहज बनाउन दुवैतर्फका सुरक्षाकर्मीबीच छलफल गरेको थियो । भारततर्फ आउजाउ गर्नेले निकै सास्ती खेप्नुपरेपछि वडा कार्यालयले सहजीकरण गरेको थियो । त्यसपछि आवागमनमा केही सहजता आएको थियो । तर एक महिना नबित्दै फेरि नाकामा कडाइ हुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।

‘केही दिनदेखि नाकामा कडाइ बढाएको छ, चेकजाँचमा निकै सास्ती भइरहेको छ,’ कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले भने, ‘अहिले एसएसबीको नयाँ टोली आएका कारण पनि केही कडाइ भएको हो ।’ उनले नाकामा नेपाल र भारत दुवैतर्फ नागरिकले सास्ती खेपिरहेको बताए ।

सीमा क्षेत्रका सुरक्षा निकायका प्रमुखहरूको संयुक्त बैठकमा नाकामा हुने सास्ती र दुर्व्यवहार न्यूनीकरणका विषयमा छलफल हुने गरेको छ । नेपाल र भारत सीमावर्ती क्षेत्रका सुरक्षा निकायका प्रमुखले यो विषयलाई प्राथमिकताका साथ उठाउनुका साथै समाधान गर्ने प्रतिबद्धता पनि गर्छन् । तर यो समस्या कहिल्यै समाधान हुन सकेको छैन । उसो त भारतबाट मजदुरी गरेर घर फर्किने नेपालीले पनि निकै सास्ती व्यहोर्नुपर्छ । भारत र नेपालतर्फ आधा दर्जन ठाउँमा चेकजाँचको सास्ती छ । सुरक्षाकर्मीबाट मात्रै होइन गाडी चालकहरूबाट पनि यात्रुहरुले दुःख पाउने गरेका छन् ।

सवारीसाधनमा भारतबाट घर फर्किनेले ५० रुपैयाँ भाडा तोकिएको ठाउँमा ५ सयदेखि हजारसम्म तिर्नुपर्छ । भारततर्फ मात्रै नभई नेपालतर्फ पनि यात्रुहरूले चर्के भाडा तिर्नुपर्छ । कतिपय बाटोमै लुटिएर अलपत्र परेका पनि हुन्छन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले भारततर्फ नाकामा भएको कडाइको विषयमा गुनासो नआएको बताए ।

प्रकाशित : माघ ७, २०७९ १०:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×