पहिरो प्रभावित क्षेत्रमा वर्षा मापनयन्त्र

बझाङ — बझाङ र बाजुराको पहिरो प्रभावित क्षेत्रमा अनुगमन गर्न वर्षा मापनयन्त्र जडान गरिएको छ । पहिरोको जोखिम, फैलावट र त्यसले पार्न सक्ने सम्भावित असरको अध्ययन गर्न उक्त यन्त्र जडान गरिएको हो । 

पहिरो प्रभावित क्षेत्रमा वर्षा मापनयन्त्र

पहिरोका कारणले बढी जोखिमयुक्त रहेका बाजुराको बूढीगंगा नगरपालिकाको थुमा, ताप्रिसेरा र बजेडी, खप्तडछेडेदह गाउँपालिकाको गोइवन र आटीचौर तथा बझाङको बित्थडचिर गाउँपालिकामा पर्ने सुनकुडा र धरानबजार सातवटा वर्षा मापनयन्त्र (रेन गेज) स्थापना गरिएको छ । युनेस्को र द स्मल अर्थ नेपाल नामक संस्थाले बझाङको बित्थडचिर गाउँपालिका, बाजुराको बूढीगंगा नगरपालिका र खप्तडछेडेदह गाउँपालिका पहिरो प्रभावित क्षेत्रमा यस्ता उपकरण राखेर पहिरोको अध्ययन र अनुगमन थालेका हुन् ।

यी यन्त्रले त्यस क्षेत्रमा भएको वर्षा र तापक्रमको अवस्था स्वचालित रूपमा रेकर्ड गर्नेछन् । उक्त तथ्यांकको विश्लेषण गरेर पहिरोको फैलावट र जोखिमको अवस्था पत्ता लगाउन सकिने द स्मल अर्थका अनुसन्धानकर्ता त्रिविक्रम बस्नेतले बताए ।

‘त्यो क्षेत्रमा कुन समयमा कति वर्षा भयो भन्ने तथ्यांक रेन गेजबाट पत्ता लाग्छ । कति वर्षा हुँदा पहिरोको फैलावट कस्तो रह्यो भनेर यही रेकर्डको आधारमा अध्ययन र अनुगमन गर्छौं,’ उनले भने, ‘यो तथ्यांकले पहिरोको जोखिमको अवस्था पत्ता लगाउने र त्यसले पार्न सक्ने सम्भावित असरलाई न्यूनीकरण गर्न सघाउँछ ।’ उनले रेकर्ड गरिएको तथ्यांक आधारमा स्थानीय सरकारलाई विपत् व्यवस्थापन योजना बनाउन सहयोगी हुने बताए ।

ल्यान्डस्लाइड इन्भारोन्मेटल भर्चुअल अर्ब्जभेटरिज (लेभो) नाम दिइएको यो परियोजनाअन्तर्गत बाजुराको बडीमालिका नगरपालिकाको ओलेनामा मौसमी गतिविधिको अनुगमन गर्न स्वचालित मौसम (हावा, वर्षा, आर्द्रता र तापक्रम) मापन स्टेसन पनि जडान गरिएको हो । द स्मल अर्थका कार्यक्रम संयोजक निरन्जन बिष्टका अनुसार यो स्टेसनले स्वचालित रूपमा मौसमी गतिविधिको तथ्यांक रेकर्ड गरेर सर्भरमा पठाउनेछ । यी तथ्यांकको आधारमा पूर्वसूचना प्रणाली विकास गर्न सहयोग पुग्ने उनले बताए । कर्णालीको चिसापानीमा तीनवटा जलस्तर मापकयन्त्र जडान गरेर बाढीको अवस्थाको पनि अनुगमन गरिरहेको उनको भनाइ छ ।

‘लामो समयसम्मको दैनिक तथ्यांक संकलन गरेर बाढीपहिरो, वर्षा, खडेरी जस्ता विपद्को प्रवृत्ति वैज्ञानिक तरिकाबाट अध्ययन गर्ने र यसको विश्लेषण गर्ने काम पनि भइरहेको छ,’ उनले भने । बाजुराको बूढीगंगा नगरपालिका बाढी र पहिरोको उच्च जोखिममा छ । तीन वर्षअघिको बाढीले यहाँको ताप्रिसेरालगायत बूढीगंगा नदीको आसपासमा रहेका सडक पुल, खेतबारी बगाएको थियो । यही नगरपालिकामा रहेको पहिरोका कारण बर्सेनि साँफे मार्तडी सडक अवरुद्ध हुँदै आएको छ । बूढीगंगा नदीको दुवैतिरबाट सुरु भएको पहिरोका कारण बूढीगंगा र त्रिवेणी नगरपालिका बस्तीहरू जोखिममा छन् ।

यस्तै, बाजुराको खप्तड छेडेदह र बझाङको बित्थडचिर गाउँपालिका पनि पहिरोको जोखिममा छ । साउनमा खप्तड छेडेदहमा आएको पहिरोले स्वास्थ्यचौकीको भवन बगाएको थियो । यी दुवै पालिकाका आधा दर्जन बस्ती पहिरोको जोखिममा छन् । ‘उच्च गुणस्तरीय प्रविधिबाट संकलन गरिएको तथ्यांकको वैज्ञानिक विश्लेषण गरेर विपद्को जोखिम कसरी कम गर्न सकिन्छ भनेर अध्ययन थालिएको हो,’ युनेस्कोका सल्लाहकार भानु न्यौपानेले भने, ‘यो तथ्यांक स्थानीय सरकारहरूलाई सार्थक विपद् व्यवस्थापन योजना निर्माण गर्न र समुदायलाई विपद्बाट सुरक्षित राख्नका लागि उपयोगी हुनेछ ।’

उनले लेभो परियोजनाअन्तर्गत वातावरण संरक्षण र विपद् व्यवस्थापनका लागि स्थानीय सरकारलाई सहयोग गर्ने कार्यक्रम पनि सञ्चालन गरिने सुनाए । पहिरोका कारण बस्ती विस्थापित हुनुपर्ने अवस्थामा यसको अध्ययन र अनुसन्धानमा परियोजनाले गरेका कामले सहयोग पुग्ने जनप्रतिनिधिको भनाइ छ ।

‘हामी निकै ठूलो समस्यामा परेका छौं तर पहिरो कसरी नियन्त्रण गर्न के गर्न सकिन्छ भनेर वैज्ञानिक अध्ययन गर्ने जनशक्ति हामीसँग छैन,’ बूढीगंगा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँले भने, ‘यस्तो अवस्थामा विज्ञहरूको सहयोग पाउनु हाम्रा लागि खुसीको कुरा हो ।’ उनले पहिरोको जोखिम कम गर्न पालिकालाई प्राविधिक र अन्य सहयोग गर्न पनि विज्ञहरूलाई अनुरोध गरिरहेको बताए ।

प्रकाशित : माघ ७, २०७९ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?