दुर्घटना राजमार्गमा बढी- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुर्घटना राजमार्गमा बढी

भवानी भट्ट

कञ्चनपुर — पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको वेदकोट नगरपालिकाको सिसैयानजिकै पुस अन्तिममा ट्र्याक्टरको ठक्करले एक युवतीको मृत्यु भयो । वेदकोट नगरपालिका १ चम्फाुपरकी १८ वर्षीया तारा मल्ल महेन्द्रनगरबाट घरतर्फ गइरहेको अवस्थामा दुर्घटना भएको हो ।

एक महिनाअघि सोही ठाउँमा बसको ठक्करले एक स्कुले युवकको मृत्यु भयो । स्नातकमा अध्ययनरत वेदकोट नगरपालिका ६ का कविराज वैज बिहान झिसमिसेमै क्याम्पस जाने क्रममा दुर्घटना भएको हो । महेन्द्रनगरबाट दार्चुलाका लागि छुटेको बसले ठक्कर दिँदा वैजको घटनास्थलमै मृत्यु भएको थियो । पुस पहिलो साता र अन्तिम साता भएका यी घटनासहित पुसमा मात्रै ८ दुर्घटना भएका छन्, जसमा ५ जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् । अधिकांश दुर्घटना पूर्व–पश्चिम राजमार्गमै भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पुससम्म मात्रै पनि ठूलो संख्यामा दुर्घटना भएका छन् ।

५ महिनामा जिल्लाभरिमा ३३ दुर्घटनामा २१ जनाले ज्यान गुमाएका छन् । यसले सडक यातायात दिनप्रतिदिन असुरक्षित बन्दै गएको देखिएको छ । तर पनि यातायात सम्बद्ध संघसंस्थादेखि दुर्घटना न्यूनीकरणका लागि खटिएका सुरक्षाकर्मी यसतर्फ गम्भीर बन्न सकेका छैनन् । चालक वा यात्रुको लापरबाही देखाउँदै जिम्मेवार निकाय पन्छिने गरेका छन् ।

‘सवारीसाधनको संख्या दिनप्रतिदिन बढ्दो छ, सडकको अवस्था उस्तै छ,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक उमेश चन्दले भने, ‘सवारीसाधनका बढ्दो चापले दुर्घटनाको जोखिम बढेको छ ।’ चालकदेखि पैदलयात्री र साना सवारीसाधनमा यात्रा गर्नेहरू सबैले लापरबाही गरेका कारण दुर्घटना न्यूनीकरणमा समस्या भएको उनले बताए ।

सडकमा यात्रा गर्ने सबैको लापरबाहीका कारण दुर्घटना बढ्दो अवस्थामा रहेको महाकाली बहुउद्देश्यीय यातायात प्रालिका अध्यक्ष डम्मरराज पन्त बताउँछन् । उनका अनुसार ठूलादेखि साना सवारीसाधनका चालक र यात्रु सबैले ट्राफिक नियमको पालनामा लापरबाही गरिरहेको उनले बताए ।

‘ट्राफिक नियमको पालना सबैभन्दा ठूलो र प्राथमिक हुन्छ,’ अध्यक्ष पन्तले भने, ‘राजमार्गमा मापदण्डविपरीतका सवारीसाधनमा कडाइ गर्नुपर्छ ।’ उनले बढ्दो सवारीसाधनसँगै सडकको अस्तव्यस्तताका कारणसमेत समस्या सिर्जना भइरहेको बताए ।

प्रकाशित : माघ ६, २०७९ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्

खाद्यले पाएन लक्ष्यअनुसार धान

भवानी भट्ट

कञ्चनपुर — ढिलो गरी खरिद सुरु गरेको खाद्य संस्थान (खाद्य व्यापार तथा कम्पनी लिमिटेड) ले लक्ष्यअनुसार धान पाउन सकेको छैन । कृषकहरूले धान बिक्री गरिसकेपछि खरिद सुरु गरेका कारण लक्ष्यअनुसार खरिद हुन नसकेको हो । 

१४ हजार क्विन्टल धान खरिदको लक्ष्य भएको संस्थानको महेन्द्रनगरस्थित कार्यालयले एक महिनामा २८ सय क्विन्टल मात्रै धान खरिद गर्न सकेको छ । अहिले कृषकहरूबाट बिक्रीका लागि धान आउने क्रम निकै कम भएको छ । खाद्य संस्थानले मंगलबारसम्म २८ सय १९ क्विन्टल मात्रै धान खरिद गरेको महेन्द्रनगर कार्यालयका निमित्त प्रमुख तपेन्द्र उपाध्यायले बताए । उनका अनुसार न्यून मात्रामा धान आइरहेका कारण खरिदको अवधि एक महिना अझै रहनेछ । ‘धान आइरहेको छैन, तैपनि हामीले एक महिना अझै काँटा लगाउँछौं,’ उनले भने, ‘ढिलो गरी खरिद सुरु भएकै कारण कोटाअनुसार धान आएन ।’

सरकारले गतवर्षभन्दा प्रतिक्विन्टल २१५ रुपैयाँ वृद्धि गरेको मोटो धानको समर्थन मूल्य २९ सय ६७ र मसिनो धानको ३१ सय २८ पुर्‍याएको थियो । तर समयमै धान खरिद सुरु भएन । कृषकहरूले गतवर्षभन्दा सस्तोमा धान बिक्री गरे । यस वर्ष कृषकहरूले प्रतिक्विन्टल २१/२२ सयका दरले बिक्री गरे ।

अहिलेसम्म १० हजार क्विन्टल हाराहारी धान खरिद भइसक्नुपर्ने उपाध्याय बताउँछन् । तर संस्थानले खरिद सुरु गर्नुभन्दा अगावै कृषकहरूले व्यपारीकहाँ बिक्री गरिसकेको देखिन्छ । संस्थानले ३ हजार ३५ सय क्विन्टलसम्म धान खरिद हुने अनुमान गरेको छ ।

कञ्चनपुरमा खाद्य व्यापार कम्पनीले पुस १ देखि खरिद सुरु गरेको थियो । सुरुको केही दिन धान आए पनि त्यसपछि भने फाटफुट मात्रै आएको उपाध्यायले बताए । संस्थानको महेन्द्रनगर कार्यालयले १० हजार क्विन्टलको कोटा माग गरेको थियो । केन्द्रले १४ हजार क्विन्टलको अनुमति दियो ।

गतवर्ष पनि संस्थाले लक्ष्यअनुसार धान खरिद गर्न सकेको थिएन । ६ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य पाए पनि ११ सय ६१ क्विन्टल मात्रै खरिद भएको थियो । गतवर्ष कात्तिक पहिलो साताको बेमौसमी वर्षाका कारण धान खेतमै कुहिएपछि लक्ष्यअनुसार धान खरिद गर्न नसकेको हो । कञ्चनपुरमा करिब ५० हजार हेक्टरमा धान खेती गरिन्छ । यहाँ धानको उत्पादकत्व प्रतिहेक्टर ४ मेट्रिक टन रहेको छ । यस वर्ष पनि धानबाली भित्र्याउने बेला भएको बेमौसमी वर्षाले उत्पादनमा केही ह्रास आएको कृषि प्राविधिक बताउँछन् ।

‘गतवर्ष जस्तो ठूलो क्षति नभए पनि केही ह्रास भएको छ,’ कृषि ज्ञान केन्द्रका सूचना अधिकारी जनकराज जोशीले भने, ‘अब खेतीपातीको समय नै बदल्नुपर्ने देखिन्छ, धान केही ढिलो वा ढिलो पाक्ने धान लगाउनुपर्छ ।’ विगतकै सिजनअनुसार धान लगाउँदा रोपाइँका बेला खडेरीले समस्या हुने र भित्र्याउँदा वर्षाले समस्या हुने गरेको उनले बताए ।

प्रकाशित : माघ ४, २०७९ ०८:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×