कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

दुर्घटना राजमार्गमा बढी

भवानी भट्ट

कञ्चनपुर — पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको वेदकोट नगरपालिकाको सिसैयानजिकै पुस अन्तिममा ट्र्याक्टरको ठक्करले एक युवतीको मृत्यु भयो । वेदकोट नगरपालिका १ चम्फाुपरकी १८ वर्षीया तारा मल्ल महेन्द्रनगरबाट घरतर्फ गइरहेको अवस्थामा दुर्घटना भएको हो ।

दुर्घटना राजमार्गमा बढी

एक महिनाअघि सोही ठाउँमा बसको ठक्करले एक स्कुले युवकको मृत्यु भयो । स्नातकमा अध्ययनरत वेदकोट नगरपालिका ६ का कविराज वैज बिहान झिसमिसेमै क्याम्पस जाने क्रममा दुर्घटना भएको हो । महेन्द्रनगरबाट दार्चुलाका लागि छुटेको बसले ठक्कर दिँदा वैजको घटनास्थलमै मृत्यु भएको थियो । पुस पहिलो साता र अन्तिम साता भएका यी घटनासहित पुसमा मात्रै ८ दुर्घटना भएका छन्, जसमा ५ जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् । अधिकांश दुर्घटना पूर्व–पश्चिम राजमार्गमै भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पुससम्म मात्रै पनि ठूलो संख्यामा दुर्घटना भएका छन् ।

५ महिनामा जिल्लाभरिमा ३३ दुर्घटनामा २१ जनाले ज्यान गुमाएका छन् । यसले सडक यातायात दिनप्रतिदिन असुरक्षित बन्दै गएको देखिएको छ । तर पनि यातायात सम्बद्ध संघसंस्थादेखि दुर्घटना न्यूनीकरणका लागि खटिएका सुरक्षाकर्मी यसतर्फ गम्भीर बन्न सकेका छैनन् । चालक वा यात्रुको लापरबाही देखाउँदै जिम्मेवार निकाय पन्छिने गरेका छन् ।

‘सवारीसाधनको संख्या दिनप्रतिदिन बढ्दो छ, सडकको अवस्था उस्तै छ,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक उमेश चन्दले भने, ‘सवारीसाधनका बढ्दो चापले दुर्घटनाको जोखिम बढेको छ ।’ चालकदेखि पैदलयात्री र साना सवारीसाधनमा यात्रा गर्नेहरू सबैले लापरबाही गरेका कारण दुर्घटना न्यूनीकरणमा समस्या भएको उनले बताए ।

सडकमा यात्रा गर्ने सबैको लापरबाहीका कारण दुर्घटना बढ्दो अवस्थामा रहेको महाकाली बहुउद्देश्यीय यातायात प्रालिका अध्यक्ष डम्मरराज पन्त बताउँछन् । उनका अनुसार ठूलादेखि साना सवारीसाधनका चालक र यात्रु सबैले ट्राफिक नियमको पालनामा लापरबाही गरिरहेको उनले बताए ।

‘ट्राफिक नियमको पालना सबैभन्दा ठूलो र प्राथमिक हुन्छ,’ अध्यक्ष पन्तले भने, ‘राजमार्गमा मापदण्डविपरीतका सवारीसाधनमा कडाइ गर्नुपर्छ ।’ उनले बढ्दो सवारीसाधनसँगै सडकको अस्तव्यस्तताका कारणसमेत समस्या सिर्जना भइरहेको बताए ।

प्रकाशित : माघ ६, २०७९ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?