डोटीका भूकम्पपीडितलाई बेवास्ता- सुदूरपश्चिम - कान्तिपुर समाचार

डोटीका भूकम्पपीडितलाई बेवास्ता

चिसोले गाउँमा सुत्केरी, ज्येष्ठ नागरिक र बालबालिकालाई समस्या
मोहन शाही

डोटी — ६ जनाको ज्यान जाने गरी भूकम्प आएको अढाई महिना बितिसक्दा पनि सरकारले पीडित परिवारको पुनःस्थापनाको काममा तदारुकता देखाउन सकेको छैन ।

सयौं घरहरू क्षतीग्रस्त हुँदा भूकम्पपीडित परिवार खुला आकाशमुनि बस्न बाध्य भएका छन् । सरकारले अहिलेसम्म क्षतिपूर्तिबारे विस्तृत तथ्यांकसमेत संकलन गर्न सकेको छैन । कठ्यांग्रिँदो चिसोमा त्रिपालमुनि ओत लगाएर बस्न बाध्य रहेको डोटीको पूर्वीचौकी गाउँपालिका– ३ काडामाडौका पदम बोहराले दुखेसो सुनाए ।

‘राहत ल्याउनेहरू लुगाफाटो र त्रिपाल बोकेर मात्र आउँछन्, टाउको निहुराउने घर पुनर्निर्माण गरिदिए सहयोग हुने थियो’, पूर्वीचौकी ३ गैरागाउँकी लक्ष्मी बोहराले दुखेसो गरिन्, ‘चिसोले गाउँमा सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिकालाई समस्या भइसकेको छ ।’

स्थानीय तहहरूले पठाएको प्रारम्भिक विवरणका आधारमा राहतका सामग्री वितरण भएपनि ती तथ्यांकहरूमा पूर्ण विश्वस्त रहन सक्ने आधार नरहेको सरोकारवाला बताउँछन् । ‘स्थानीयको दबाबमा जनप्रतिनिधिहरूले न्यून क्षति भएकालाई पनि पूर्ण क्षतिग्रस्तको सूचीमा राखेर पठाउँदा वास्तविक पीडित पहिचान गर्न कठिनाइ भएको छ’, एक गैरसरकारी संस्थाका पदाधिकारीले आरोप लगाए ।

पूर्वीचौकी गाउँपालिका, सायल गाउँपालिका, दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकामा कात्तिक २२ गतेको भूकम्पले बढी क्षति गरेको थियो ।

डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले क्षतिपूर्तिको विस्तृत सर्भेका लागि पुनर्निर्माण प्राधिकरणको प्राविधिक टोली घटनास्थल खटिएको बताइन् । निर्वाचनका कारण समयमै माथिबाट टोली आउन नसक्दा क्षतिपूर्तिको तथ्यांक संकलनमा ढिलाइ भएको श्रेष्ठको भनाइ छ । प्राधिकरणको टोलीले क्षतिग्रस्त ठाउँहरूको विस्तृत सर्भे गरेपछि मात्र वास्तविक पीडितको पहिचान हुन सक्ने बताइन् ।

केही दातृ संस्थाहरूले भने ढिलो गरी डोटीमा भूकम्पपीडितहरूका लागि अस्थायी घर निर्माण थालनी गरेका छन् । नेपाल रेडक्रस सोसाइटीले आउँदो महिनासम्म सम्पन्न हुने गरी २ सय अस्थायी घर बनाउने तयारी थालेको छ । रेडक्रस सोसाइटीका आवास अधिकृत विजय ढकालले पालिका र जिल्ला प्रशासनको अनुमति लिएर पीडितहरूको तथ्यांक संकलन गरी पूर्वीचौकी गाउँपालिका— ३ गैरामा अस्थायी घर बनाउन सुरु भएको बताए । १ कोठा, १ भान्सा र १ बरन्डा भएको अस्थायी घर बनाउन रेडक्रसले ९८ हजार रुपैयाँ पीडित परिवारलाई सहयोग गर्ने भएको छ ।

त्यस्तै, लुथरन दातृसंस्थाको सहयोगमा सामुदायिक विकास केन्द्र (सीडीसी) र उपेक्षित समुदाय सशक्तीकरण तथा विकास मञ्चले पनि अस्थायी घर बनाउने भएका छन् । सामुदायिक विकास केन्द्रका अध्यक्ष हेमराज जोशीले पीडितहरूको नामावली छनोट कार्य भइरहेको बताए । तर भूकम्पपीडितहरू ढिलो गरी बन्न लागेका अस्थायी घरहरूप्रति सन्तुष्ट छैनन् ।

‘आकाशबाट हिउँ खस्न थालिसकेको छ, चिसोले जीउनु न मर्नु बनाइसक्यो’, पूर्वीचौकी गाउँपालिका—५ का शंकर बोगटीले गुनासो गरे, ‘अहिलेसम्म अस्थायी घर बनाएर हामीलाई चिसोबाट बचाएको भए राहत हुन्थ्यो, चिसो छलिसकेपछि बनेका घरको के काम ?’ पीडितहरू अहिलेसम्म काम सुरु नभएको अस्थायी घर बनाउन फागुन महिना कट्ने तर्क गर्छन् । त्यो बेलासम्म चिसो हटिसक्ने भएकाले अस्थायी घरहरू प्रभावकारी नहुने माग राख्दै आएका छन् । पीडितहरूले स्थायी संरचना बन्ने गरी घर निर्माण गरिदिन सरकारलाई माग राख्दै आएका छन् । कतिपय परिवारले अस्थायी संरचना नचाहिने भन्दै अस्वीकारसमेत गरिसकेका छन् ।

प्रकाशित : माघ ५, २०७९ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्

संकटमा पर्दै रनपुतला नाच

मोहन शाही

डोटी — पश्चिम पहाडका गाउँघरमा गाउँदै खेल्दै मनाउने नारी प्रधान लोकनाच हो ‘रनपुतला’ । नारीका मार्मिक पीरव्यथा झल्काउने यो नाच पछिल्लो समय संकटमा पर्न थालेको छ ।

‘गाउँघरमा नारीहरूले छिट्को फरिया, रातो चौबन्दी चोलो र सेतो पटुकाको फेरो हातमा समाएर सामूहिक रूपमा रनपुतला खेलिन्छ,’ स्थानीय ऐश्वर्या विष्टले भनिन्, ‘पंक्तिबद्ध भएर विरहका गीत गाउँदै नाच्दा सुदूरपहाडका बस्तीहरूमा बेग्लै रौनकता छाउँछ ।’ तर पछिल्लो समय नयाँ पुस्तामा भने यो सहजै हस्तान्तरण हुन सकेको छैन । हस्तान्तरण नहुँदा संकटको अवस्थामा पुगको भन्दै लोकसंस्कृति प्रेमीहरूले चिन्ता व्यक्त गरेका छन् ।

अछाम, बाजुरा र डोटीको संगममा परापूर्वकालमा घ्याराघ्याम्पो नामका राजाले छोरी रनमैयाको शोकमा परेका बेला रनपुतला नाचको सुरुवात गरेको भनाइ छ । मधेसमा विवाह गरी मृत्यु भएकी छोरीको शोकमा रहेका राजाले छोरीको सम्झना गर्दै पुतला खेल खेल्न लगाएपछि यो परम्पराका रूपमा मनाउन लागिएको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संगीत विभागका पूर्वप्रमख तथा वरिष्ठ कलाकार यज्ञराज उपाध्यायले बताए ।

उपाध्यायका अनुसार इच्छाविपरीत विवाह गरिएकी छोरीले मृत्युपूर्व मधेसमा हुने गर्मी, त्यहाँ हुने सर्प बिच्छीको डरबारे दुखेसो पोख्दै बुबालाई खबर पठाएकी थिइन् । पछि उनैको मृत्यु भएको खबरले पुत्री शोकमा परेका राजाले छोरीको सम्झनास्वरूप पुतला खेल सुरु गर्न लगाएको उनको भनाइ छ ।

‘राजा घ्याम्पोकी छोरी रनमैयाको विवाह मधेसमा गर्दा सर्पको टोकाइबाट मृत्यु भएको थियो,’ रनपुतलाको इतिहासबारे उपाध्यायले भने, ‘कालान्तरमा गएर उनै छोरीका नामबाट रनपुतला संस्कृतिको नाम रहन गयो ।’

रनपुतला बझाङ, बाजुरा र अछाममा विशेष रूपमा मनाइन्छ । अछामसँग सिमाना जोडिएका डोटीका क्षेत्रहरूमा पनि यो खेल्ने प्रचलन छ । ‘संरक्षणका लागि केही समूह अहिले पनि काठमाडौंमा समेत रनपुतला खेल्दै आएका छन्,’ उपाध्यायले रनपुतलाको अस्तित्व संकटमा परिरहेको प्रति चिन्ता पोख्दै भने, ‘तर पनि पश्चिमा संस्कृतिको प्रभावले नयाँ पुस्ता प्रभावित हुँदा अन्य संस्कृतिझैं रनपुतला पनि संकटमा छ, यसको जर्गेना गर्न सचेत हुन जरुरी छ ।’ रनपुतलामा विशेष लयमा गीत गाउने चलन छ ।

वर्षमा दुई पटक मनाइन्छ । कुनै ठाउँमा पुस महिनाको १५ देखि सुरु गरी माघ १ गते विसर्जन गरिन्छ । कुनै ठाउँमा चैत २० गते सुरु गरी वैशाख १ गते विसर्जन गर्ने चलन छ । डोटेली लोकसंस्कृतिको जगेर्नामा लागेका कलाकार सुरत रावत डोटेली कान्छा रनपुतलामार्फत माइतमा आएका बेला दिदीबहिनीसँगको भेटका क्रममा विरहका ब्यथा पोख्ने चलन रहेको बताउँछन् ।

पुस १५ गते वर्षभरिको लामो रातको रूपमा लिई रातभरि गाउँखाने कथाहरू हाल्ने, जाग्राम बस्ने, तरुल सकरखण्ड खाने संस्कृति छ । सोही रातदेखि रनपुतला पर्वको सुरुवात गरी माघ १ गते पानी पँधेरोमा लगेर विसर्जन गरे देवीदेउता खुसी हुने चलन रहेको स्थानीय महिला बताउँछन् ।

माघ १ गते बिहानै प्रत्येक घरबाट खानेकुरा जम्मा गरी पानी पँधेरोमा राति स्नान गरेर रनपुतला खेल्ने चलन रहेको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ की ५८ वर्षीया पद्मादेवी विष्टले बताइन् । ‘पहिले बर्सेर्नि यसरी रनपुतला खेलिन्थ्यो,’ उनले भनिन्, ‘तर पछिल्लो समय खेल्ने चलन हराएको छ ।’

दिपायल सिलगढी नगरपालिकाको वडा नं. ७ रातुलीमा हरेक वर्ष रनपुतला खेलिने भए पनि यसवर्ष गाउँमा जुठो परेकाले ३ गतेका लागि सारिएको वडाध्यक्ष कर्णबहादुर विष्टले बताए ।

प्रकाशित : माघ ३, २०७९ ०८:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×