सुदूरपश्चिमको उपसभामुखमा एमालेकी चौधरी निर्वाचित- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुदूरपश्चिमको उपसभामुखमा एमालेकी चौधरी निर्वाचित

अर्जुन शाह

धनगढी — सुदूरपश्चिम प्रदेशको उपसभामुख पदमा एमाले सांसद कोइलीदेवी चौधरी निर्वाचित भएकी छन् । चौधरीको पक्षमा सत्तारुढ गठबन्धन माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र राप्रपाले मतदान गरेका थिए ।

चौधरीसँग एकीकृत समाजवादीकी सांसद माया पन्त प्रतिस्पर्धामा थिइन् । पन्तलाई भने कांग्रेस, एकीकृत समाजवादी र स्वतन्त्र सांसदले समर्थन गरेका थिए ।

मुख्यमन्त्री एमाले, सभामुख माओवादी केन्द्र र उपसभामुख नागरिक उन्मुक्तिलाई भागबण्डा गरेको सत्ता गठबन्धनले उपसभामुख पद नागरिक उन्मुक्तिले लिन नमानेपछि एमालेले चौधरीलाई उम्मेदवार बनाएको थियो ।

पद नलिए पनि नागरिक उन्मुक्तिले सत्ता गठबन्धनलाई सघाइरहेको छ । उसले सरकारमा पनि नजाने बताएको छ ।

प्रकाशित : माघ ३, २०७९ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्

सुदूरपश्चिममा सभामुख‚ उपसभामुख चयन प्रक्रिया संवैधानिक जटिलतातिर

अर्जुन शाह

धनगढी — सोमबारका लागि तय गरिएको सुदूरपश्चिम प्रदेशसभाको बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ । लगातार दुई पटकको मतदानमा पनि सभामुख चयन गर्न नसकेको सभामा सोमबार तेस्रो पटक पुनः मतदान गर्ने तालिका थियो । 

सोमबार राष्ट्रिय शोक परेकाले प्रदेशसभा बैठक सञ्चालन नगर्ने सर्वदलीय निर्णय भएको सांसदहरूले बताएका छन् । उनीहरूले मंगलबार पुनः मतदान गर्ने भनेका छन् ।

तर‚ कतिपयको भनाइमा भने यो सोमबारभित्र सभामुख चयन नगरे संवैधानिक जटिलता हुने अवस्था हो । सोमबार प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिन पुग्छ ।

नेपालको संविधानको धारा १८२ मा (१) मा ‘प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरूले आफूमध्येबाट प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्नेछन्‚’ भन्ने उल्लेख छ । यस्तै, प्रदेशसभा नियमावली पहिलो संशोधन ०७६ को धारा ७ मा (१) मा ‘सभामुखको निर्वाचन संविधानको धारा १८२ को परिधिभित्र रहनेगरी तोकिएको दिनमा हुनेछ’ भनी उल्लेख छ । सभामुख नै चयन नभएकाले उपसभामुखको निर्वाचनको मिति नै तय भएको छैन ।

तर‚ दलहरूले भने निर्वाचनको प्रक्रिया सुरु गरिसकेकाले कुनै अप्ठ्यारो नहुने व्याख्या गरिरहेका छन् । माओवादी केन्द्रका सांसद अक्कलबहादुर रावलले भने‚ ‘१५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने भन्ने हो । हामीले प्रक्रिया सुरु गरिसकेकाले कुनै अप्ठ्यारो नहुने साझा बुझाइ छ ।’ कांग्रेस सांसद प्रकाशबहादुर देउवाले पनि त्यही व्याख्या गरे । तर‚ केही कानुन व्यवसायीका विचारमा भने १५ दिनभित्र संसद्‌ले सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने नियम हो ।

सत्तारुढ गठबन्धनका तर्फबाट माओवादी केन्द्रका सांसद भीमबहादुर भण्डारी र विपक्षी दलहरूका तर्फबाट कांग्रेसका मानबहादुर रावल सभामुख पदका उम्मेदवार छन् ।

पहिलो दिन २८ गते भएको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार भण्डारीलाई सभामुख बन्न एक मत अपुग भएको थियो । उनले २६ मत मात्रै पाएका थिए ।

दोस्रो पटक ३० गते भएको पुनः मतदानमा पनि भण्डारीले बहुमत प्राप्त गर्न सकेनन् बरु अघिल्लो दिन पाएको मत पनि जोगाउन सकेनन् । त्यस दिन नागरिक उन्मुक्तिका ७ सांसद तटस्थ बसेपछि भण्डारीको बहुमत नपुगेको हो ।

सत्ता गठबन्धनमा माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका एक गरी २९ मत छन् । त्यही मतले एमाले सांसद राजेन्द्रसिंह रावललाई मुख्यमन्त्री बनाएको थियो । बहुमतका लागि २७ सांसद आवश्यक पर्छ ।

प्रकाशित : माघ २, २०७९ ११:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×