सुदूरपश्चिममा सभामुख‚ उपसभामुख चयन प्रक्रिया संवैधानिक जटिलतातिर- सुदूरपश्चिम - कान्तिपुर समाचार

सुदूरपश्चिममा सभामुख‚ उपसभामुख चयन प्रक्रिया संवैधानिक जटिलतातिर

अर्जुन शाह

धनगढी — सोमबारका लागि तय गरिएको सुदूरपश्चिम प्रदेशसभाको बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ । लगातार दुई पटकको मतदानमा पनि सभामुख चयन गर्न नसकेको सभामा सोमबार तेस्रो पटक पुनः मतदान गर्ने तालिका थियो । 

सोमबार राष्ट्रिय शोक परेकाले प्रदेशसभा बैठक सञ्चालन नगर्ने सर्वदलीय निर्णय भएको सांसदहरूले बताएका छन् । उनीहरूले मंगलबार पुनः मतदान गर्ने भनेका छन् ।

तर‚ कतिपयको भनाइमा भने यो सोमबारभित्र सभामुख चयन नगरे संवैधानिक जटिलता हुने अवस्था हो । सोमबार प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिन पुग्छ ।

नेपालको संविधानको धारा १८२ मा (१) मा ‘प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरूले आफूमध्येबाट प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्नेछन्‚’ भन्ने उल्लेख छ । यस्तै, प्रदेशसभा नियमावली पहिलो संशोधन ०७६ को धारा ७ मा (१) मा ‘सभामुखको निर्वाचन संविधानको धारा १८२ को परिधिभित्र रहनेगरी तोकिएको दिनमा हुनेछ’ भनी उल्लेख छ । सभामुख नै चयन नभएकाले उपसभामुखको निर्वाचनको मिति नै तय भएको छैन ।

तर‚ दलहरूले भने निर्वाचनको प्रक्रिया सुरु गरिसकेकाले कुनै अप्ठ्यारो नहुने व्याख्या गरिरहेका छन् । माओवादी केन्द्रका सांसद अक्कलबहादुर रावलले भने‚ ‘१५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने भन्ने हो । हामीले प्रक्रिया सुरु गरिसकेकाले कुनै अप्ठ्यारो नहुने साझा बुझाइ छ ।’ कांग्रेस सांसद प्रकाशबहादुर देउवाले पनि त्यही व्याख्या गरे । तर‚ केही कानुन व्यवसायीका विचारमा भने १५ दिनभित्र संसद्‌ले सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने नियम हो ।

सत्तारुढ गठबन्धनका तर्फबाट माओवादी केन्द्रका सांसद भीमबहादुर भण्डारी र विपक्षी दलहरूका तर्फबाट कांग्रेसका मानबहादुर रावल सभामुख पदका उम्मेदवार छन् ।

पहिलो दिन २८ गते भएको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार भण्डारीलाई सभामुख बन्न एक मत अपुग भएको थियो । उनले २६ मत मात्रै पाएका थिए ।

दोस्रो पटक ३० गते भएको पुनः मतदानमा पनि भण्डारीले बहुमत प्राप्त गर्न सकेनन् बरु अघिल्लो दिन पाएको मत पनि जोगाउन सकेनन् । त्यस दिन नागरिक उन्मुक्तिका ७ सांसद तटस्थ बसेपछि भण्डारीको बहुमत नपुगेको हो ।

सत्ता गठबन्धनमा माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका एक गरी २९ मत छन् । त्यही मतले एमाले सांसद राजेन्द्रसिंह रावललाई मुख्यमन्त्री बनाएको थियो । बहुमतका लागि २७ सांसद आवश्यक पर्छ ।

प्रकाशित : माघ २, २०७९ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्

सुदूरपश्चिममा पुनः मतदानबाट पनि सभामुख चयन हुन सकेन

अर्जुन शाह

धनगढी — सुदूरपश्चिम प्रदेशसभाले शनिबार पनि सभामुख चयन गर्न असफल भएको छ । सभामुख चयनका लागि बिहीबार भएको मतदानमा कुनै पनि उम्मेदवारले निर्वाचित हुन आवश्यक मत ल्याउन नसकेपछि शनिबार पुनः मतदान भएको हो ।

पुनः मतदानमा पनि सत्ता गठबन्धनका उम्मेदवार भीमबहादुर भण्डारीको पक्षमा २२ मतमात्र परेपछि सभामुख चयनसम्बन्धी प्रस्ताव सभाध्यक्ष शिवराज भट्टले अस्वीकृत भएको घोषणा गरे । सत्ता गठबन्धनको निर्णायक घटक नागरिक उन्मुक्तिका ७ जना सांसदहरु तटस्थ बसेपछि भण्डारीको पक्षमा बहुुमत जुुट्न नसकेको हो ।

सुदूरपश्चिममा गठबन्धन सम्बद्ध माओवादी केन्द्र ११, एमाले १०, नागरिक उन्मुक्ति ७ र राप्रपा १ सांसद छन् । ५३ सदस्यीय सुदूरपश्चिममा सभामुख निर्वाचित हुन २७ सांसद आवश्यक पर्छ ।

बिहीबारको मतदानमा ५० जना सहभागी भएका थिए । त्यसमध्ये सत्तारुढ गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका भण्डारीको पक्षमा २६ मत खसेको थियो ।

विपक्षी गठबन्धनका तर्फबाट भने कांग्रेसका मानबहादुर रावल सभामुख पदका उम्मेदवार छन् । उनले पहिलो दिनको मतदानमा २३ मत पाएका थिए भने शनिबार भएको मतदानमा २२ मत पाए । विपक्षमा कांग्रेस, एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसद छन् ।

सुदूरपश्चिममा एमालेलाई मुख्यमन्त्री र माओवादी केन्द्रलाई सभामुखको बाँडफाँट छ । नागरिक उन्मुक्तिलाई उपसभामुख दिने भनिएको छ । तर मुख्यमन्त्री नियुक्त गर्न सघाएको नागरिक उन्मुक्तिले सभामुख निर्वाचनमा सघाइरहेको छैन ।

शनिबार बसेको प्रदेशसभा बैठकमा नागरिक उन्मुक्तिका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले भने, ‘सहमतिविपरीत मन्त्री नियुक्तिको विरोधस्वरुप बिहीबार सम्पन्न पहिलो दिनको सभामुख चयनको मतदानमा अनुपस्थित भएको हुँ, हामीसँगका सम्झौता कहिल्यै पालना भएनन् । आजको मतदानमा हाम्रा सबै सांसदहरु तटस्थ बस्नेछन् ।’

एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री नियुक्त भएका थिए । तर उनी मुख्यमन्त्री नियुक्त भएकै दोस्रो दिन अर्थात् उनले पद तथा गोपनियताको शपथ लिएकै दिन बिहीबार भएको सभामुख निर्वाचनमा भने सभामुख पदका उम्मेदवाका लागि बहुमत नजुटेपछि शनिबार पुनः मतदान भएको हो । तर, शनिबारको मतदानमा पनि बहुमत नजुटेपछि अनिश्चय झन् बढेको छ ।

सत्तारुढ गठबन्धनका तर्फ उम्मेदवार रहेका भण्डारीको पक्षमा माओवादी केन्द्र ११, एमाले १०, नागरिक उन्मुक्ति ७ र राप्रपाको एक सांसदको समर्थन थियो । त्यस अनुसार उनले २९ मत पाउनुपर्थ्यो ।

आगामी माघ २ गते प्रदेशसभाको अर्को बैठक बोलाइएको छ ।

प्रकाशित : पुस ३०, २०७९ २०:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×