२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

दुर्व्यसनीले भरिए कारागार

डीआर पन्त

धनगढी — प्रदेशमा दिनहुँ लागूऔषध सेवन, ओसारपसार र बिक्रीवितरणको आरोपमा एक दर्जन बढी युवा पक्राउ पर्न थालेपछि कैलाली र कञ्चनपुरका कारागार लागूऔषध सेवनकर्ताले भरिन थालेका छन् । कैलाली र कञ्चनपुरका कारागारमा मात्र २ सय ७१ जना लागूऔषधसम्बन्धी मुद्दाका कैदीबन्दी छन् ।

दुर्व्यसनीले भरिए कारागार

कञ्चनपुर जिल्ला कारागारमा रहेका ४ सय ३५ कैदीबन्दीमध्ये १ सय १८ जना र कैलालीमा ६ सय २५ कैदीबन्दीमध्ये १ सय ५३ जना लागूऔषधसम्बन्धी मुद्दाका छन् । यसबाहेक जिल्ला प्रहरी, इलाका प्रहरी र प्रहरी चौकीमा डेढ सय बढी थुनुवा रहेका छन् । तराईका कैलाली र कञ्चनपुर मात्र होइन सात पहाडी जिल्लाका कारागारमा पनि लागूऔषध मुद्दाका कैदीबन्दी बढ्दै गएका छन् ।

‘अधिकांश कैदीबन्दी १८ देखि ४० वर्ष उमेर समूहका युवा बढी रहेका छन्,’ नशा उन्मूलन तथा पुनःस्थापना केन्द्रका सहजकर्ता अनिल जोशीले भने, ‘दैनिकजसो दर्जन बढी लागूऔषध दुर्व्यसनी पक्राउ पर्ने क्रम जारी रह्यो भने केही महिनामा कैलाली र कञ्चनपुरका कारागारले थेग्न सक्ने अवस्था छैन ।’

जोशी मात्र होइन कारागार प्रशासनका अधिकारी कारागार सुरक्षाका प्रमखुहरू पनि लागूऔषध मुद्दाका कैदीबन्दी थपिने क्रम जारी रह्यो भने कारागारमा गम्भीर समस्या हुने बताउँछन् । ‘जिल्ला कारागारहरूको क्षमता उसै पनि निकै कम छ,’ एक जना प्रशासकीय अधिकृतले भने, ‘लगातार थपिँदै जान थालेका लागूऔषधसम्बन्धी मुद्दाका कैदीबन्दीका कारण कारागारका बरन्डा र बाहिर पाल टाँगेर राख्नुपर्ने बाध्यता भएको छ ।’ जम्मा १ सय ५० जनाको क्षमता भएका जिल्ला कारागारमा पछिल्लो तथ्यांकअनुसार ४ सयभन्दा बढी कैदीबन्दीको व्यवस्थापन हुँदै आएको छ । ‘सरकारले लागूऔषधसम्बन्धीका कैदीबन्दीका लागि छिट्टै धेरै क्षमता भएका पुनःस्थापना केन्द्र खोल्न आवश्यक भइसकेको छ,’ उनले भने ।

‘लागूऔषध नियन्त्रणमा प्रहरी निकै सक्रिय भएपछि पछिल्ला ६ महिनामा कैदीबन्दीका रूपमा कारागार चलान हुने संख्या दोब्बरले बढ्न थालेको छ,’ कैलालीका निवर्तमान प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले भने, ‘खुला सिमानाका कारण भारतबाट आउने लागूऔषध नियन्त्रणमा चुनौती बढेको छ ।’ दुई वर्षअघि र अहिलेको तथ्यांकमा तुलना गर्ने हो भने दोब्बरभन्दा बढीले लागूऔषधसम्बन्धी मुद्दाका कैदीबन्दी कारागार पठाउने गरिएको पनि उनले बताए ।

प्रहरीले लागूऔषध सेवनकर्ता र बिक्रीवितरणमा संलग्नलाई पक्राउ गरिरहेको भए पनि नियन्त्रण भने हुन सकेको देखिँदैन । उन्मूलन तथा पुनःस्थापना केन्द्रका सहजकर्ता जोशी भन्छन्, ‘प्रहरी बिक्रीवितरणमा संलग्न ठूला गिरोहसम्म पुग्न सकेको देखिँदैन । पक्राउ पर्ने जति सेवनकर्ता बढी रहेका छन् ।’ गाउँघरमा सहज रूपमा पाइने गाँजा चरेसदेखि ब्राउन सुगर जस्ता घातक लागूपदार्थका सेवनकर्ता जसरी बढ्दै गएका छन्, यसले कारागार भरिने मात्र होइन युवापिँढी नै गम्भीर समस्यामा पर्ने देखिएको जोशीले बताए ।

प्रकाशित : माघ २, २०७९ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?