१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

लागूऔषधको ‘अखडा’ बन्दै विद्यालय

बैतडी — जिल्ला सदरमुकामनजिकै पर्ने एक माध्यमिक विद्यालयमा नियमित कक्षा चलिरहेको थियो । एक जना शिक्षक आफ्नो पिरियड सकाएर केहीबेर टहल्न विद्यालयको छतमा उक्लिए । उनी छतमा उक्लिएका मात्रै के थिए, विद्यालय परिसरकै छेउमा एक विद्यार्थीले चुरोट खाँदै गरेको देखे ।

लागूऔषधको ‘अखडा’ बन्दै विद्यालय

विद्यालय हाताभित्रै धूमपान गरेको देखेपछि तुरुन्तै त्यहाँ पुगेर विद्यार्थीलाई समाते । मुखबाट ह्वास्स चरेस गन्हाउने कक्षा ११ मा अध्ययनरत ती विद्यार्थीको शरीर पनि खानतलास गर्दा उनको गोजीमा चरेस, चुरोट र सलाई भेटियो । विद्यार्थीलाई प्रधानाध्यापकको कोठामा लिएर शिक्षकहरूले सम्झाइबुझाइ गर्ने काम गरे । उनका अभिभावकलाई जानकारी गराएर विद्यार्थीलाई जिम्मा लगाइयो । यो घटना केही महिना अगाडिको हो ।

गत पुस १५ मा बैतडीको सदरमुकाममै पर्ने अर्को माध्यमिक विद्यालयमा पनि त्यस्तै घटना भयो । विद्यालय चलिरहेकै बेला तीनजना विद्यार्थी विद्यालयभित्रै लागूऔषध सेवन गरेर मातेको अवस्थामा विद्यालय भेटिए । ती विद्यार्थी कक्षा १० र ११ का थिए । उनीहरूलाई त्यो दिनका लागि मात्र विद्यालयबाट निष्कासन गरियो । माथिका दुई घटना मात्रै बैतडीका विद्यालयमा लागूऔषध प्रयोगकर्ताको अवस्था देखाउन पर्याप्त छैनन् । ‘यस्ता घटना त यहाँका स्कुलमा दैनिक भइरहन्छन् । ती त सरले थाहा पाएर मात्रै बाहिर आएका हुन्,’ कक्षा १० मा अध्ययनरत एक विद्यार्थीले भने, ‘नौदेखि १२ क्लासका कोठामा चेक गर्ने हो भने कम्तीमा पनि १०/१५ जना विद्यार्थीले ड्रग्स खाएको भेटिएलान् । एक दिन वासरुममा गएर निगरानी गर्ने हो भने पनि यस्ता त कति भेटिन्छन् कति ?’ उनले आफ्नो छिमेकी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरू पनि विद्यायल हाताभित्रै लागूऔषध सेवन गर्ने गरेको आफूले थाहा पाएको बताए । ‘यो कुलत महामारीका रूपमा फैलिँदै छ,’ उनले भने । यसरी कुलतमा फस्ने विद्यार्थीहरू बढीजसो ९ देखि १२ कक्षामा अध्ययनरत रहेको र उमेर १२ देखि १९ वर्षसम्म रहेको उनले बताए ।

विद्यालयमा अध्ययनरत किशोरावस्थाका थुप्रै विद्यार्थीहरू लागूऔषधको दुर्व्यसनमा फसेको र यो अवस्था नियन्त्रण बाहिर जान थालेकोप्रति यहाँका शिक्षक पनि चिन्तित छन् । विद्यार्थीहरूले स्थानीयस्तरमा उपलब्ध हुने चरेसमात्रै नभई सीमावर्ती भारतीय बजारबाट हेरोइन, ब्राउन सुगर, नाइट्राभेट र कोरेक्स जस्ता लागूऔषध ल्याएर खाने गरेको र यो दुर्व्यसन फैलँदो क्रममा रहेको शाहीलेकका एक शिक्षक आनन्द थापाले बताए । ‘थुप्रै विद्यार्थी लागूऔषध दुर्व्यसनमा फसिसकेका छन् । उनीहरूले आफ्ना अरू दौतरीहरूलाई पनि प्रयोग गर्न उक्साइरहेका छन्,’ थापाले भने, ‘समयमै केही गरिएन भने यो कुलतले भयावह रूप लिन सक्छ ।’ उनले सदरमुकाम क्षेत्रको दशरथचन्द नगरपालिकाका सबैजसो विद्यालयमा यस्ता दुर्व्यसनी रहेकाले अभिभावक, विद्यालय प्रशासन र प्रहरीले यो विषयमा संवेदनशील हुनुपर्ने बताए । दशरथचन्द नगरपालिकामा मात्रै २१ वटा विद्यालय छन् ।

कोरोना महामारी फैलिएसँगै सुरु भएको लकडाउनपछि दुर्व्यसनीको संख्या निकै बढेको नगरपालिकाको दशरथचन्द माविका शिक्षक टेकबहादुर चन्दले बताए । ‘कोरोनाभन्दा पहिला यस्तो थिएन । लकडाउनका बेला स्कुलहरू बन्द भए, यही समयमा विद्यार्थीहरू कुलतमा लागे,’ उनले भने, ‘अब त अवस्था नाजुक भइसकेको छ । शिक्षकले प्रयास गरेर मात्रै नियन्त्रण गर्न सकिएला जस्तो मलाई लाग्दैन ।’

चन्दले कुनै शिक्षकले यस्तो नगर भनेर दुर्व्यसनीलाई सम्झाइबुझाइ गरे पनि अप्रत्यक्ष रूपमा धम्की दिने गरेकाले शिक्षकहरू पनि असुरक्षित महसुस गर्ने गरेको बताए । ‘उनीहरू समूहमा हुन्छन् । बाटो हिँड्दा आक्रमण गर्न सक्छन् भनेर शिक्षकहरू पनि डराउँछन्,’ उनले भने । दुर्व्यसनमा फसेका विद्यार्थीहरू पढाइमा ध्यान नदिने, कक्षा छोड्ने, टोलाएर बस्ने गरेको शिक्षकहरू बताउँछन् । समूहमा गएर राजमार्ग छेउका जंगलमा लागू पदार्थको सेवन गर्ने, झैझगडा गर्ने तथा अन्य चोरी, लुटपाटजस्ता आपराधिक काममा बढी लाग्ने गरेको उनीहरूको भनाइ छ । ‘दुव्यर्सनले विद्यार्थीहरूको भविष्य नै डामाडोल हुने अवस्था छ । झुलाघाट नाकानजिक भएको हुनाले पारिबाट लागूऔषध ल्याउने र प्रयोग गर्न यहाँ सजिलो छ,’ वीरेन्द्र माविका प्रधानाध्यापक कैलाश कनौजियाले भने, ‘हामीले प्रहरीलाई र अभिभावकलाई पनि योबारे जानकारी गराएका छौं । प्रहरीले विद्यालय र विद्यार्थीहरू जम्मा हुने ठाउँमा गस्ती बढाएर केहीलाई पक्राउ पनि गरेका छौं । तर अभिभावकले नै चासो दिँदैनन् ।’ उनले अभिभावकहरूलाई पत्र लेखेर बोलाउँदा पनि नआउने गरेको र अभिभावकले आफ्ना छोराछोरीको बेवास्ता गरेका कारण दुर्व्यसनी बढ्दै गएको बताए ।

जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार तीन वर्षको अवधिमा १३ जनालाई लागूऔषधसहित पक्राउ गरी मुद्दा चलाइएको छ । आर्थिक वर्ष २०७६/७७ मा लागूऔषध नाइट्राभेट र चरेसमा चार जना, ०७७/७८ मा पनि यस्तै लागूऔषध प्रयोग गरेको अभियोगमा चार जना र यो आर्थिक वर्षको नौ महिनामा चरेस र हेरोइन सेवन गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरी कारबाही गरिएको छ । यसरी पक्राउ परेकाहरू २० देखि ३३ वर्ष उमेरका छन् । यसअघि लागूऔषधको सेवन नियन्त्रण गर्न प्रहरीले खासै सक्रियता नदेखाउने गरेको स्थानीयको गुनासो छ । ‘प्रहरीले पक्राउ गरे पनि केही दिनमै छाडिहाल्छन् । छुटेपछि उनीहरू फेरि खान सुरु गरिहाल्छन्,’ एक स्थानीयले भने ।

प्रहरीको लागूऔषध अनुसन्धान ब्युरोमा लामो समय काम गरिसकेका डीएसपी प्रेम शाही जिल्ला प्रहरी प्रमुखका रूपमा आइसकेपछि यो समस्यालाई गम्भीर रूपमा लिएर अभियान थालेको प्रहरीको भनाइ छ । दुर्व्यसनीलाई नियन्त्रणमा लिने, पुनःस्थापना केन्द्रमा पठाउनेदेखि खेती गरिएको ४० रोपनीभन्दा बढी गाँजा पनि फडानी गरेको प्रहरीले जानकारी दिएको छ । ‘हामीले लागूऔषधको ओसारपसार र दुर्व्यसन नियन्त्रण गर्नका लागि कारबाही मात्रै नभएर अभियानसमेत चलाएका छौं,’ डीएसपी शाहीले भने, ‘प्रत्येक विद्यालयमा गएर लागूऔषध दुर्व्यसन नियन्त्रण गर्न कक्षासमेत सञ्चालन गरिरहेका छौं ।’ दुर्व्यसनीलाई पुनःस्थापना केन्द्रसम्म पुर्‍याउनका लागि प्रहरीले सहजीकरण पनि गरिरहेको बताउँदै यो आफ्ना बालबालिकालाई दुर्व्यसनबाट बचाउन अभिभावकहरू सचेत हुनुपर्ने शाहीले बताए । अभिभावकले आफ्ना केटाकेटीको चालचलन निगरानी गर्ने, कुलतमा फसिसकेको छ भने पुनःस्थापनाका लागि पहल गर्ने काम गर्‍यो भने यस्तो समस्या नियन्त्रण गर्न सहज हुन्छ,’ उनले भने । प्रहरीले लागूऔषध प्रयोगकर्तालाई अपराधीका रूपमा मात्रै नभई बिरामीका रूपमा पनि व्यवहार गर्नुपर्ने भएकाले सधैं थुनेर राख्न सम्भव नहुने शाहीको भनाइ छ । लागूऔषधको प्रयोग र ओसारपसार भइरहेको बारे अभिभावक मात्रै नभई समुदाय र विद्यालय पनि सचेत भई समयमै प्रहरीलाई सूचना दिने र दुर्व्यसनीको उपचारका लागि पहल गर्ने हो भने यो समस्या समाधान गर्न सकिने शाहीले बताए ।

प्रकाशित : माघ २, २०७९ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?