२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बस्तीका अपमानजनक नाम फेरिए

पाटन (बैतडी) — घटना गत भदौको हो । बैतडीको पाटन नगरपालिका वडा नं ६ भट्टाड (जुन गाउँमा भाँड र कुमाल जातिको बसोबास छ) की एक ३६ वर्षीया महिला काम विशेषले छिमेकी गाउँ सिलंगा पुगिन् । थकाइ र गर्मीले लखतरान भएकी उनले सोही नगरपालिकाको वडा नं – २ मा पर्ने एक घरमा पिउन पानी मागिन् ।

बस्तीका अपमानजनक नाम फेरिए

घरभित्रबाट लोहोटामा पानी लिएर आएकी महिलाले पानी दिनुपूर्व सोधिन्, ‘तमरो घर कहाँ हो ?’ पानी माग्नेले भनिन्, ‘भट्टाड’ । यो गाउँमा कथित दलित जातका मान्छे मात्रै बसोबास गर्छन् भन्ने थाहा पाएकी पानी दिने महिलाले लोहोटामा ल्याएको पानी शौचालयमा प्रयोग हुने जगमा खन्याइन् र आगन्तुकलाई दिइन् । गाउँको नाम सुन्नेबित्तिकै आफ्नै अगाडि भएको विभेदपूर्ण व्यवहारबाट अपमानित महसुस गरेकी ती महिलाले पिउन खान अस्वीकार गरिन् । उनले अर्को घरमा गएर पानी मागेर खाइन् । यो घटनाको नगरपालिकाभरि चर्चा भयो । यद्यपि जातीय विभेद गरेको भनेर पीडितले कुनै कानुनी उपचार खोजिनन् ।

पाटन नगरपालिकामा गाउँकै नाममा आधारमा जातीय विभेद भएको यो पहिलो घटना भने थिएन । यस्ता घटनाहरू प्रायःजसो भइरहन्थे । वडा नं ५ मा पर्ने डुमचेडा गाउँमा लुहार, ओड र कोली जातिका मान्छेको बसोबास छ । सोही वडाका डुमेओडामा हुड्के ओड र लुहार बस्छन् । वडा नं ६ मा पर्ने भुलेओडामा भुल, औजीओडामा आउजी र भट्टाडमा भाँड र कुमालको मात्र बसोबास छ । यो विषया बैतडी मात्रै नभएर छिमेकी जिल्ला डडेल्धुरा र दार्चुलाका धेरैजसो स्थानीयलाई पनि थाहा छ । गाउँको नाम भनेकै कारण जातीय विभेदको सिकार हुनुपर्ने यहाँका कतिपयले नगरपालिकाभन्दा बाहिर गएको बेला आफ्नो गाउँको नाम ढाट्नुपरेको यथार्थसँग स्कुले जीवनदेखि नै परिचित थिए– कमलसिंह बोहरा ।

‘कतिपय साथीहरूले बाहिर गएको बेला घर कुन गाउँ हो ? भनेर सोध्दा पाटन भन्थे । सोध्नेले पाटनको कुन गाउँ भनिहाल्थे,’ बोहराले गाउँको नामकै आधारमा हुने जातीय विभेदका थुप्रै घटना आफ्नै अगाडि पनि भएको सुनाउँदै भने, ‘गाउँको नाम सुनिसकेपछि सोध्नेले नाक खुम्च्याउँथे । साथीसँग गर्ने व्यवहार नै अलग भइहाल्थ्यो ।’

बाल्यकालदेखि नै यस्ता विभेदजन्य घटना देखे/सुनेका बोहोरा गत वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा नगरपालिकाको उपप्रमुख निर्वाचित भएलगतै गाउँका नाम परिर्वतन गर्न लबिइङ गर्न थाले । राज्यले जातीय विभेदलाई दण्डनीय अपराधको रूपमा परिभाषित गरेको दशकौं बितिसक्दा पनि आफ्नो नगरपालिकामा गाउँको नामकै आधारमा भइरहेको विभेद पालिकाकै कलंकका रूपमा रहेको भन्दै उनले कार्यपालिकाका पदाधिकारी र सदस्यहरूलाई नाम परिर्वतन गर्न सहमत गराए । फलस्वरूप गत भदौमा बसेको पाटन नगरपालिकाको कार्यपालिका बैठकले यहाँका अपमानजनक नाम भएका ६ वटा गाउँको नाम परिर्वतन गर्‍यो ।

बैठकले वडा नं ५ मा पर्ने साविकको डुमचेडालाई रानीघाट र डुमेओडालाई सिर्जनाटोलको नाम दियो । यसैगरी वडा नं ६ का तल्लो भुलेओडालाई बसराटोल र औजीओडालाई तिलगाउँ, भुलेओडालाई ढुंगेओखल र भट्टाडको नाम परिवर्तन गरेर बयलपाटा बनायो । गाउँकै नामको कारण वर्षौंदेखि जातीय विभेद खेप्दै

आएका दलित समुदाय नगरपालिकाको यो निर्णयबाट धेरैजसो खुसी भएका छन । ‘गाउँको नाम बदलिएपछि हामीलाई बाहिरफेर परिचय दिन सजिलो भएको छ,’ ढुंगेओखलका हरिश भुलले भने, ‘फलानो गाउँको भन्नेबित्तिकै हामीलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहार नै अलग हुन्थ्यो । अब त्यसको अन्त्य भएको छ ।’

पालिकाले गाउँको नाम परिवर्तन गरे पनि आफूहरूको अवस्था परिवर्तनका लागि काम नगरेको प्रति भने यहाँका कतिपयको विरोध पनि छ । ‘हाम्रो आफ्नो नाममा जग्गा छैन । अर्कैको नामको जग्गामा छाप्रो हालेर बसेका छौँ । बिहान खाए साँझ के खाऊँ भन्ने चिन्ता छ । यो अवस्था नगरपालिकाले कहिल्यै देखेन,’ तिलगाउँकी निर्मला आउजीले भनिन्, ‘गाउँका नाम मात्रै फेरेर यहाँ दलित नै छैनन् । गरिब नै छैनन् भन्ने देखाउन त होला । नाम फेरेर के हुन्छ ?’

नाम फेरिए पनि अवस्था नफेरिएको भन्ने तर्कप्रति पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावल पनि सहमत छन् । अरु समुदायको तुलनामा दलित समुदायले दैनिकी जीविकादेखि लिएर शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारीलगायत सवालमा निकै समस्या भोगिरहेको र त्यसलाई सम्बोधन गर्न पनि नगरपालिकाले प्राथमिकताका साथ काम गर्ने बताउँछन् ।

‘गाउँको नामकै कारण अपहेलित हुन पर्ने भएकोले सबैभन्दा पहिला नाम परिर्वतन गरेका हौ । एकै पटक सबै समस्या समाधान भइहाल्ने भन्ने हुँदैन,’ रावलले भने, ‘अब उहाँहरूको आर्थिक अवस्था परिवर्तन गर्न र समाजको मूलधारमा ल्याउनका लागि पनि हामीले दलित समुदायलाई प्राथमिकतामा राखेर काम गर्नेछौं ।’ उनले दलित समुदायमा आधारभूत पूर्वाधार निर्माण गर्ने, उनीहरूको परम्परागत सीपलाई आधुनिकीकरण गरेर रोजगारी सिर्जना गर्ने लगायतका काम नगरपालिकाले गर्ने बताए ।

प्रकाशित : पुस २८, २०७९ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?