सडकले उत्पादन बिक्री सहज

मनोज बडू

दार्चुला — ग्रामीण भेगको उत्पादनले बजार नपाउने स्थिति घट्दै गएको छ । ग्रामीण भेगमा सडकको पहुँच विस्तार हुन थालेपछि स्थानीय उत्पादन बजारसम्म पुर्‍याउन सहज भएको हो । ग्रामीण बस्तीमा सडकको पहुँच पुगेपछि गाउँमा उत्पादन हुने वस्तुले बजार पाउन थालेको स्थानीय बताउँछन् ।

सडकले उत्पादन बिक्री सहज

केही विकट बस्तीबाहेक यहाँका स्थानीय तहका धेरै वडासम्म सडकको पहुँच पुगेको छ । सडकले गाउँमा उत्पादन भएका कृषिजन्य वस्तु बजारसम्म ढुवानी गर्न पाएपछि सहजता आएको दुहु गाउँपालिका–१ का तोयराज जोशीले बताए । यहाँ उत्पादन भएको वस्तु सदरमुकामको बजारसम्म ढुवानी गर्न पाएपछि फलफूललगायत तरकारीले राम्रो मूल्य पाएको छ ।

दुहु गाउँपालिका–५ सन्तोष बडालले यसपालि उत्पादन गरेको आलु सदरमुकाम खलंगा पुर्‍याएको बताए । स्थानीयस्तरमा उत्पादन भएको आलु खलंगा पुर्‍याएर बिक्री भएपछि राम्रो मूल्य पाएको उनको भनाइ छ । टिंकर सडक बनेपछि दुहुमा उत्पादन भएको वस्तुले सदरमुकामको खलंगा बजार पाउने गरेको छ । सडकले बजारसँगै स्थानीय उत्पादनले राम्रो मूल्य पाएको छ । उनले यसअघि आलु सस्तोमा गाउँमै बिक्री गर्नुपर्ने र बिक्री नभए नजिकका आफन्तलाई दिनुबाहेकको विकल्प नभएको सुनाए ।

त्यस्तै नौगाड गाउँपालिकाका सडकको पहुँच पुगेका बस्तीको उत्पादन सिधै सदरमुकामको खलंगा बजार पुग्छ । वर्षात्को केही महिला ग्रामीण सडक अवरुद्ध हुने समयबाहेक अन्य बेला उत्पादन हुने स्थानीय वस्तुले राम्रो बजार पाएको नौगाड गाउँपालिका–३ का प्रेमसिंह ठगुन्नाले बताए । सडक पुगेपछि सदरमुकामको खलंगासँगै, धुलीगडा, होपरी र गोकुलेश्वर बजारसम्म यहाँका उत्पादन पुगेको छ । सडकको पहुँच नहुँदासम्म स्थानीय परम्परागत खेतीमै मिहिनेत गर्थे । अहिले नगदे बाली उत्पादनमा जोड दिएका छन् ।

तीन वर्षअघिसम्म अपिहिमाल गाउँपालिकाको धेरैजसो बस्तीका स्थानीय बासिन्दा खाद्यान्न तथा लत्ताकपडा लिन मार्माको लटिनाथसम्म आउँथे । ५/७ घण्टा पैदल हिँडेर लटिनाथ पुग्दा एक दिनको बास हुन्थ्यो । लटिनाथसम्म भर्खर सडक पुग्दै थियो । बिटुले–पारिबगर सडक खण्ड विस्तार भएसँगै मार्मा गाउँपालिका–१ पारिबगरमा बजार विस्तार भएपछि लटिनाथ पुग्नु नपरेको अपि हिमाल गाउँपालिका–६ का स्थानीय मानसिंह बुढाथोकीले बताए ।

अहिले अपिहिमाल गाउँपालिका–५ मकरीगाडसम्म सडकको ट्र्याक खुलेपछि अपि हिमालका स्थानीयलाई अझ सहज भएको छ । दुई/तीन वर्षअघिसम्म बजार क्षेत्रमा पुग्न सबैभन्दा जिल्लाकै विकट अपिहिमाल गाउँपालिका थियो । बुढाथोकीले भने, ‘अहिले मकरीगाडसम्म सडकको पहुँच पुगेपछि दुई/तीन घण्टामै बजार पुगिन्छ ।‘ सदरमुकाम खलंगाबाट २३ कोस टाढा रहेको अपि हिमाल गाउँपालिकाको मकरीगाडसम्म नियमित रूपमा यातायात सञ्चालन हुन थालेपछि स्थानीयवासीको उत्पादनले समेत बजार पाउन थालेको छ । अहिले दार्चुलाका अधिकांश ग्रामीण बस्तीमा उत्पादित कृषि उपजले सहज रूपमा बजार पाउन थालेको उनको भनाइ छ ।

बुढाथोकीका अनुसार सडक पुगेपछि अपि हिमाल गाउँपालिकाको आलु, सिमी, प्याज, गोलभेंडालगायतले राम्रो मूल्य पाउन थालेको छ । गाउँमा उत्पादन भएको आलु मकरीगाडमै ५० रुपैयाँ किलोमा बिक्री हुने गरेको कृषक बताउँछन् । लटिनाथ बोकेर पुर्‍याउन सम्भव थिएन, सडक सुविधा पुगेपछि उत्पादनको राम्रो मूल्य पाएको हो । टिंकर सडकको ट्र्याक खुलेपछि दुहु गाउँपालिकाका सबै वडा सडकको पहुँचमा छन् । ‘पहिले गाउँमा उत्पादन गरिएको आलु, सागपात, सिमीलगायत अन्य कृषि उपज सडक नहुँदा गाउँमै थन्किन्थ्यो,’ दुहु गाउँपालिकाका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले भने, ‘स्थानीय उत्पादन बजारमा पुर्‍याउन सहज भएको छ ।’

टाढाको बस्तीका स्थानीयले बढीमा एक घण्टाको बाटोमा पैदल हिँडेपछि सडकमा पुगिन्छ । त्यहाँबाट पिठ्युँमा बोक्नुपर्छ । त्यसपछि सदरमुकामसँगै भारतीय धारचुला बजारसम्म यहाँको उत्पादन पुग्ने गर्छ । स्थानीयको उत्पादन बढाउन गाउँपालिकाले अनुदानमा बीउ, बोटबिरुवा उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित : पुस २७, २०७९ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?