१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

‘नर्कबाट निकाल्न्याको जय होइ झाउ’

दुवै आँखाको मोतिबिन्दुको शल्यक्रिया भएपछि प्यारू बोहराको खुसी

बझाङ — नौ दशक पुग्न लागेकी प्यारु बोहराका आँखीभौं पनि सेतै भइसकेका छन् । पाँच छोरा र तीन छोरीकी आमा उनले १९ नातिनातिना र ३२ पनातिपनातिना देखिसकेकी छन् । उनी पुसको ठिहिर्‍याउने जाडोमा पनि झिसमिसेमै
उठेर आगो बाल्छिन् । त्यतिन्जेल उनले घरको वरिपरि दुई–तीन चक्कर लगाई गाईबस्तुलाई घाँसपात पनि हालिसकेकी हुन्छिन् ।

‘नर्कबाट निकाल्न्याको जय होइ झाउ’

‘यिनीहरू ढिला उठ्छन्, मलाई बिहानै निद्रा खुल्छ,’ प्यारुले दैनिकी सुनाइन्, ‘ओछ्यानमै पल्टिराख्नु निको लाग्दैन । अरू उठ्दासम्म त आधा गाउँ घुमिसक्छु ।’ उनलाई आफ्नो काम अरूले गरेको मन पर्दैन । लुगा धुने, नुहाउने, कपाल कोर्ने आफैं गर्छिन् । फुर्सद हुनेबित्तिकै आधा घण्टा हिँडेर छिमेकी गाउँ लासी र चुझाडसम्म पुग्छिन् । आफन्तसँग गफिन थाल्छिन् ।

तीन वर्षअघिसम्म साइपाल गाउँपालिका–३ की यी वृद्धाको दिनचर्या अर्कै थियो । घरको एक कुनोमा थन्किएर बस्नु, तिर्खा लाग्दा पानी पिउन मात्रै होइन, शौच गर्न पनि अरूकै सहारा चाहिन्थ्यो । अरू नभएका बेला बाहिर–भित्र गर्न खोज्दा लडेर थुप्रै पटक घाइते भएकी प्यारुको जीवन कहालीलाग्दो थियो । कारण उनी दुवै आँखा पूर्णरूपमा देख्न सक्दिन थिइन् । ७२ वर्षको उमेरदेखि दुवै आँखा बन्द भएकी उनले १५ वर्षसम्म यस्तो जीवन भोग्नुपर्‍यो । ‘बोकेरै बाहिर–भित्र गर्नुपर्थ्यो । हामी नभएका बेला शरीरमै दिसापिसाब गरेको हुन्थ्यो । कहिले लडेर चोटैचोट लागेको भेटिन्थिन् । कहिले आगोले पोलेरे फोकैफोका भैराख्थिन्,’ बुहारी खिउटी बोहराले भनिन्, ‘अहिले त सबै काम आफैं गर्छिन् । हामीलाई पो सुख भएको छ ।’

तीन वर्षअघि ०७७ असोजमा साइपाल गाउँपालिकामै सञ्चालन भएको शल्यक्रियासहितको आँखा शिविरमा दुवै आँखाको मोतिबिन्दुको शल्यक्रिया भएपछि प्यारुले गुमेको दृष्टि पाएकी हुन् । ‘सुइनामा पनि अँध्यारो मात्रै देखिन्थ्यो । विपनाका त कुरा नगर । म त झेल (जेल) परेकी थिया । यसरी बाँच्नुभन्दा मरिदिया पनि हुन्थ्यो भनेर देउदेउता पुकार्थें,’ उनले भनिन्, ‘आँखा गाड्यापछि (शल्यक्रिया गरेपछि) त सबैतिर झिलिमिली भैगयो । म त नर्कबाट फर्किया,’ आफूलाई नयाँ दृष्टि दिनेप्रति कृतज्ञ हुँदै भनिन्, ‘मलाई नर्कबाट निकाल्न्याको जय होइ झाउ ।’

थुप्रै वृद्धवृद्धाले उपचार अभावमा वर्षौंदेखि अन्धकारको जीवन भोग्नुपरेकोबारे ०७७ भदौ २४ गते ‘साइपालको अँध्यारो संसार’ शीर्षकमा कान्तिपुरमा समाचार प्रकाशित भएपछि तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा वरिष्ठ नेत्र चिकित्सक डाक्टर रीता गुरुङ नेतृत्वको टोलीले पालिकामै पुगेर ५ सय ११ जनाको आँखा जाँच गरेको थियो । ६४ जनाको मोतिबिन्दु र अन्य समस्याको निःशुल्क शल्यक्रिया गरिएको शिविरमा ३ सय ८० आँखामा समस्या भएकालाई चस्मा वितरण गरिएको थियो ।

प्यारु जस्तै वर्षौंसम्म अँध्यारो जीवन बाँचेका यहाँका वृद्धवृद्धाले उक्त शिविरमा शल्यक्रिया गरेपछि आफूहरूको जीवन पूर्ववत् लयमा फर्किएको बताए । तीन वर्षअघि बोकेर र हेलिकोप्टरमार्फत आँखाको शल्यक्रिया गर्न शिविरस्थल ल्याइएकाहरू यही पुसको पहिलो साता दिनभर ठमठम हिँडेर गाउँपालिकाको केन्द्र काँडामा आइरहेका भेटिए । उनीहरू काँडामा चलिरहेको विशेषज्ञ शिविरमा स्वास्थ्य जाँच गराउन पुगेका थिए । ‘अहिले त पहिला जस्तै भइसकेकी छु । हिँडेर जहाँ पनि जान सक्छु । घरको सबै काम गर्ने गरेकी छु,’ एक दिन हिँडेर काँडा पुगेकी धुलीकी मोतिमा रोकायाले भनिन्, ‘आँखा देख्ने भएपछि संसारै उज्यालो भयो ।’

तीन वर्षअघिको शिविरमा उपचार गर्न छुटेका र त्यसपछि थपिएका बिरामीको संख्या पालिकामा थुप्रै छ । स्थानीय स्वास्थ्यकर्मी नवीन बोहराले एकपटक आँखा शिविर सञ्चालन गर्न पाए धेरैलाई राहत हुने बताए । क्षेत्रफलका हिसाबले नेपालकै ठूलो स्थानीय तह साइपाल गाउँपालिकाबाट सदरमुकाम पुग्नै चार दिनसम्म हिँड्नुपर्छ । आँखाको शल्यक्रिया गर्न त धनगढी नै पुग्नुपर्ने भएकाले यहाँका मानिस खर्च गर्न नसकेर उपचारबाट वञ्चित हुने गरेका छन् । ‘धनगढीमा अप्रेसन गर्न गयो भने दुई/तीन लाख खर्च हुन्छ । सबैले त्यत्रो रकम व्यहोर्न सक्दैनन्,’ बोहराले भने ।

पालिका अध्यक्ष मानवीर बोहराका अनुसार गाउँपालिकाभर आँखा नदेख्ने ४० देखि ५० जना छन् । ‘कति जना कस्तो अवस्थामा छन् भनेर हामी बुझ्दै छौं । यकिन डाटा आइसकेपछि उपचारका लागि के गर्न सकिन्छ, छलफल गर्छौं,’ उनले भने, ‘नियमित जाँचको व्यवस्था नभएका कारण अन्धोपनको समस्या झेल्नुपर्ने अवस्था हुन सक्छ । उपचारका लागि कुनै दातालाई गुहार्ने सोच बनाइरहेका छौं ।’

प्रकाशित : पुस २५, २०७९ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?