डोटीमा शैक्षिक गुणस्तर खस्कियो- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डोटीमा शैक्षिक गुणस्तर खस्कियो

नयाँ पाठ्यक्रम उपयोगी र समयानुकूल भए पनि अधिकांश विद्यालयले त्यसअनुसार शिक्षण गर्न सकेका छैनन्
मोहन शाही

डोटी — शैक्षिक गुणस्तर खस्कँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै डोटीमा सरोकारवालाले यो अवस्था आउनुमा तीन तहका सरकार जिम्मेवार रहेको आरोप लगाएका छन् । दिपायलमा शुक्रबार आयोजित शिक्षामा लगानी विषयक अन्तर्क्रियाका सहभागीहरूले उक्त आरोप लगाएका हुन् ।

‘शिक्षाका लागि राष्ट्रिय अभियान’ डोटी समितिले आयोजना गरेको अन्तर्क्रियामा शिक्षक, नागरिक समाजका अगुवा, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि सहभागी थिए ।

उनीहरूले शिक्षा नीति नल्याउँदा ३ तहकै सरकारहरू जिम्मेवारीबाट पन्छने गरेको समीक्षा गरेका थिए । अन्तरक्रियामा सामुदायिक विद्यालयमा स्रोतसाधनको अभावदेखि गुणस्तरीय शिक्षणमा शिक्षकको बेवास्ता भइरहेको प्रसंगसमेत उठेको थियो । ‘नयाँ पाठ्यक्रम उपयोगी र समयानुकूल भए पनि अधिकांश विद्यालयले त्यसअनुसार शिक्षण गर्न सकेका छैनन्’, वर्छैन माविका प्रधानाध्यापक इन्द्र बमले भने, ‘शिक्षा नीति नआउँदा यस्ता कमीकमजोरी र समस्या हटाउन र व्यवस्थापन गर्न कुनै पनि सरकारले सकिरहेका छैनन् ।’

शिक्षक नवराज जोशीले निजी स्रोतमा शिक्षक राखेर विद्यालय सञ्चालन गर्नुपर्ने बाध्यता हटाउने, विद्यालयलाई मर्ज गर्नुपर्नेदेखि गुणस्तरीय शिक्षा कायम गर्न स्थानीय सरकारलाई व्यवस्थापनको जिम्मेवारी दिने भए पनि बजेट अभावले कार्यान्वयन हुन नसकेको बताउँछन् । अधिकांश विद्यालयले प्राप्त स्रोतसाधनको सदुपयोग गर्न नसक्नु, सीप र क्षमताको भरपूर सदुपयोग शिक्षकले नगर्नु, अभिभावकहरूको चासो नरहनु, निजीस्रोतका शिक्षकले पढाइ धान्नुपर्नेजस्ता समस्याले गुणस्तरमा असर परेको छ । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गतको शैक्षिक विकास योजना शाखा प्रमुख लोकेन्द्रप्रसाद भट्टले विगतका ५ वर्षमा शिक्षा क्षेत्रमा प्रदेश सरकारले काम गर्न नसकेको स्विकारे । १० वर्षीय शिक्षा योजना बनाउन नसक्दा कस्ता योजना र कार्यक्रमलाई प्राथमिकता दिने भन्ने स्पष्ट नहुँदा पहुँचका आधारमा बजेट वितरण गर्नुपर्ने परिस्थिति आएको बताए । यसमा सुधार ल्याउन योजना निर्माण भइरहेको जानकारी दिँदै जोशीले शिक्षा क्षेत्रका योजना छनोट गर्न १० वर्षे योजनाले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

शिक्षाका लागि राष्ट्रिय अभियानका सुदूरपश्चिम संयोजक हेमराज जोशीले माथिल्ला सरकारलाई शिक्षा नीति नल्याएको कारण देखाएर जिम्मेवारीबाट पन्छन नहुने सुझाव स्थानीय सरकारलाई दिए । ‘स्थानीयदेखि संघीय सरकारले प्रतिबद्धता अनुरूप बजेट शिक्षा क्षेत्रमा लगानी गर्न विभिन्न बहाना बनाइरहेका छन्’, जोशीले भने, ‘काम गर्न चाहने स्थानीय सरकारले शिक्षा नीति बनाएर लागू गर्न सक्छन् ।’

प्रकाशित : पुस १७, २०७९ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्

प्रविधिमैत्री शिक्षण, विद्यार्थी उत्साहित

मोहन शाही

डोटी — डोटीको चौखान माविमा कक्षा २ अध्यनरत दुर्गेश थापा विद्यालय जान हुरुक्कै हुन्छन् । उनकै सहपाठी हरिश साउद पनि विद्यालय पुग्न रमाउँछन् । विद्यार्थीहरू रमाउनुको कारण फरक शिक्षण विधि हो ।

शिक्षिका मञ्जु गिरी प्रोजेक्टरको सहयोगले विद्यार्थीलाई भिडियो देखाउँदै पढाउन लागिएको बताउँछिन् । ‘ठूलो भित्तामा आकर्षक श्रव्यदृश्य सुन्दै, हेर्दै पढ्न विद्यार्थी औधि रुचाउँछन्,’ शिक्षिका गिरीले भनिन्, ‘पाठ्यपुस्तकका भन्दा चाँडो बुझ्ने भएकाले सिकाइ उपलब्धिमा पनि सुधार आएको छ ।’

दिपायल सिलगढी नगरपालिकाको वडा नं. ८ लडागडा स्थित २ विद्यालय र पूर्वीचौकी गाउँपालिका वडा नं ७ स्थित मष्टामाण्डौ माविले प्रविधिमैत्री कक्षा बनाएका छन् । चौखान मावि र सुनादेवी माविमा ३/३ प्रोजेक्टरबाट दैनिक कक्षा १० सम्म पढाइ हुने गर्छ । पाठ्यक्रमसम्बन्धी भिडियोहरू प्रदर्शन गर्दा रुचिका साथ पढ्न विद्यार्थीहरू झुम्मिने गरेको सुनादेवी माविका प्रधानाध्यापक कृष्णबहादुर कडायतले बताए ।

सुनादेवी माविले त झन् विद्यालयमै विद्यार्थीहरूलाई कम्प्युटरसमेत सिकाउने गरेको छ । प्रोजेक्टरमा प्रदर्शन गरेर शिक्षकले कम्प्युटर सिकाउने गर्छन् । विद्यार्थीले कम्प्युटरबाट आफूले जिज्ञासा राखेका विषय खोज्ने, सिक्ने र नयाँ विषयवस्तु जानकारी लिने गरेको प्रधानाध्यापक कडायतले बताए । विद्यार्थीले जिज्ञासा राखेका नयाँ विषये तत्कालै इन्टरनेटमा खोज्न सहज हुने अनुभव शिक्षकहरूको भनाई छ ।

सामुदायिक विकास केन्द्र (सीडीसी)ले एकीकृत सामुदायिक विकास परियोजनामार्फत प्रविधिमैत्री शिक्षण विधिलाई अपनाउन विद्यालयलाई सहयोग गरेको हो । शिक्षकहरूको सीप विकास तथा प्रोजेक्टर, ल्यापटप, साउन्डबक्स गराएको सीडीसीका अध्यक्ष हेमराज जोशीले बताए । जिल्ला सल्लाहाकार समितिका संयोजक लक्ष्मण सिंहले प्रविधियुक्त शैक्षिक सामग्रीहरूले विद्यार्थीहरूमा राम्रो प्रभाव परेको बताए । ‘पहिलो पटक यसरी दुर्गमको विद्यालयमा शैक्षिक सामग्रीको रूपमा प्रोजेक्टर प्रयोग गरेको डोटीमा देखें,’ संयोजक सिंहले भने ।

प्रकाशित : पुस १५, २०७९ ०८:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×