डोटीमा शैक्षिक गुणस्तर खस्कियो

नयाँ पाठ्यक्रम उपयोगी र समयानुकूल भए पनि अधिकांश विद्यालयले त्यसअनुसार शिक्षण गर्न सकेका छैनन्
मोहन शाही

डोटी — शैक्षिक गुणस्तर खस्कँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै डोटीमा सरोकारवालाले यो अवस्था आउनुमा तीन तहका सरकार जिम्मेवार रहेको आरोप लगाएका छन् । दिपायलमा शुक्रबार आयोजित शिक्षामा लगानी विषयक अन्तर्क्रियाका सहभागीहरूले उक्त आरोप लगाएका हुन् ।

‘शिक्षाका लागि राष्ट्रिय अभियान’ डोटी समितिले आयोजना गरेको अन्तर्क्रियामा शिक्षक, नागरिक समाजका अगुवा, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि सहभागी थिए ।

उनीहरूले शिक्षा नीति नल्याउँदा ३ तहकै सरकारहरू जिम्मेवारीबाट पन्छने गरेको समीक्षा गरेका थिए । अन्तरक्रियामा सामुदायिक विद्यालयमा स्रोतसाधनको अभावदेखि गुणस्तरीय शिक्षणमा शिक्षकको बेवास्ता भइरहेको प्रसंगसमेत उठेको थियो । ‘नयाँ पाठ्यक्रम उपयोगी र समयानुकूल भए पनि अधिकांश विद्यालयले त्यसअनुसार शिक्षण गर्न सकेका छैनन्’, वर्छैन माविका प्रधानाध्यापक इन्द्र बमले भने, ‘शिक्षा नीति नआउँदा यस्ता कमीकमजोरी र समस्या हटाउन र व्यवस्थापन गर्न कुनै पनि सरकारले सकिरहेका छैनन् ।’

शिक्षक नवराज जोशीले निजी स्रोतमा शिक्षक राखेर विद्यालय सञ्चालन गर्नुपर्ने बाध्यता हटाउने, विद्यालयलाई मर्ज गर्नुपर्नेदेखि गुणस्तरीय शिक्षा कायम गर्न स्थानीय सरकारलाई व्यवस्थापनको जिम्मेवारी दिने भए पनि बजेट अभावले कार्यान्वयन हुन नसकेको बताउँछन् । अधिकांश विद्यालयले प्राप्त स्रोतसाधनको सदुपयोग गर्न नसक्नु, सीप र क्षमताको भरपूर सदुपयोग शिक्षकले नगर्नु, अभिभावकहरूको चासो नरहनु, निजीस्रोतका शिक्षकले पढाइ धान्नुपर्नेजस्ता समस्याले गुणस्तरमा असर परेको छ । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गतको शैक्षिक विकास योजना शाखा प्रमुख लोकेन्द्रप्रसाद भट्टले विगतका ५ वर्षमा शिक्षा क्षेत्रमा प्रदेश सरकारले काम गर्न नसकेको स्विकारे । १० वर्षीय शिक्षा योजना बनाउन नसक्दा कस्ता योजना र कार्यक्रमलाई प्राथमिकता दिने भन्ने स्पष्ट नहुँदा पहुँचका आधारमा बजेट वितरण गर्नुपर्ने परिस्थिति आएको बताए । यसमा सुधार ल्याउन योजना निर्माण भइरहेको जानकारी दिँदै जोशीले शिक्षा क्षेत्रका योजना छनोट गर्न १० वर्षे योजनाले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

शिक्षाका लागि राष्ट्रिय अभियानका सुदूरपश्चिम संयोजक हेमराज जोशीले माथिल्ला सरकारलाई शिक्षा नीति नल्याएको कारण देखाएर जिम्मेवारीबाट पन्छन नहुने सुझाव स्थानीय सरकारलाई दिए । ‘स्थानीयदेखि संघीय सरकारले प्रतिबद्धता अनुरूप बजेट शिक्षा क्षेत्रमा लगानी गर्न विभिन्न बहाना बनाइरहेका छन्’, जोशीले भने, ‘काम गर्न चाहने स्थानीय सरकारले शिक्षा नीति बनाएर लागू गर्न सक्छन् ।’

प्रकाशित : पुस १७, २०७९ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्

पढ्दै, सिक्दै, कमाउँदै विद्यार्थी

ज्योति श्रेष्ठ

(काभ्रे) — केही दिनयता काभ्रेको नमोबुद्ध–४ मेथिकोटस्थित जनक माविको कक्षा १० मा अध्ययनरत पुष्पा सिग्देलको दैनिकी फेरिएको छ ।

विद्यालयले आर्थिक उपार्जनका लागि एउटा बाख्रा दिएपछि सिग्देलले पढाइसँगै यसको रेखदेखमा पनि समय खर्चिन थालेकी हुन् । विद्यालय जानु अघि र फर्केपछि बाख्रालाई घाँस, पानीको जोहो गर्छिन् । पढाइसँगै काममा पनि समय दिएकोमा पुष्पाका आमाबुबा पनि खुसी छन् ।

‘पशु विज्ञान विषयमा अध्ययनरत भएकाले पनि यसको स्याहारसुसारका बारेमा धेरै कुरा थाहा हुन्छ,’ पुष्पाले भनिन्, ‘विद्यालयले पनि व्यावहारिक ज्ञानसँगै यसबाटै आयआर्जनको लागि बाख्रा वितरण गरेको हो, यसबाट आम्दानीसँगै धेरै कुरा सिक्ने अवसर पनि मिलेको छ ।×’ बाख्रा पालनकै आम्दानीबाट पढाइ खर्च जुटाउन सजिलो हुने उनले सुनाइन् ।

पुष्पाकै सहपाठी अनमोल अधिकारीले पनि विद्यालयबाट बाख्रा पाएका छन् । दैनिक दुई घण्टा बाख्राकै स्याहारसुसारमा लाग्ने बताउने उनले सैद्धान्तिक सिकाइ मात्र नभई व्यावहारिक ज्ञान पनि चाहिने भएकाले बाख्रापालन समूहमा सहभागी भएको उनले सुनाए । ‘घरमा त पहिलेदेखि नै बाख्रा थिए, तर आफूलाई दिइएको बाख्रामा अपनत्व बढी हुने रहेछ,’ उनले थपे, ‘यसको आम्दानी पनि आफैंलाई हुने भएकाले स्याहारसुसारको चासो पनि बढी हुने रहेछ ।’ आफूले पढेकै कुरा व्यवहारमा लागू गर्ने भएकाले यसले पढाइलाई नै सघाउ पुर्‍याएको अनमोलको अनुभव रहेछ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयमा प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गर्दै सरकारले पढ्दै कमाउँदै कार्यक्रम लागू गर्ने गरी कार्यविधि तयार गरेको थियो । स्वआर्जन गरी अध्ययन गर्न चाहने र गरिबीका कारणबाट आय आर्जन गरी पढ्नुपर्ने अवस्थाका विद्यार्थीलाई लक्षित गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन कार्यविधि, २०७८ तयार पारिएको थियो ।

जसअन्तर्गत जनक मावि कृषि व्यवसायी विधामा २०७८ चैतमा छनोट भएको थियो । सोही कार्यक्रमको कार्यान्वयनका लागि विद्यालयमा अहिले पढ्दै कमाउँदै कार्यक्रम सुरु भएको छ । विद्यालयमा अहिले पढ्दै कमाउँदै कार्यक्रमअर्न्तगत बाख्रा पालन, मौरीपालन र अदुवा खेती कार्यक्रम सञ्चालन भइरहेको विद्यालयका प्रधानाध्यापक प्रदीप पोख्रेलले जानकारी दिए ।

उनका अनुसार, बोयर जातका बोका र जमुना पारी तथा स्थानीय जातका बाख्रापालन गरिएको छ । ‘बाख्रापालन कार्यक्रमअर्न्तगत २२ वटा बाख्रा विद्यार्थीलाई पठाइएको छ, १८ वटा बाख्रा विद्यालयकै फार्ममा नमुनाका लागि राखिएको छ,’ प्रधानाध्यापक पोख्रेलले भने, ‘बाख्रापालनका लागि बनाइएको कार्यविधिअनुसार बाख्राले जन्माएको पहिलो बेतको सन्तान विद्यालयलाई दिनुपर्ने र त्यसपछिका उत्पादन भने विद्यार्थी आफैंले लिएर फाइदा लिन सक्नेछन् ।’ एउटा पाठीबाट १० हजार र बोकाबाट १२ देखि १५ हजार रुपैयाँसम्म नाफा लिन सक्ने उनले बताए ।

अदुवा खेतीको तयारीमा जुटेकी कक्षा ८ मा अध्ययनरत प्रनिसा श्रेष्ठ, आफूले पढेको कुरा खेतबारीमै काम गरेर सिक्दै कमाउने अवसर पाएकोमा खुसी छिन् । एकातिर पढाइ अनि अर्कोतिर कमाइ पनि हुने हुँदा यो कार्यक्रम विद्यार्थीका लागि निकै प्रभावकारी भएको उनले बताइन् । अदुवा खेतीमा ७६ विद्यार्थी सहभागी छन् । पाँच समूह बनाएर कामको जिम्मेवारी दिइएको विद्यालयले जनाएको छ । विद्यालयले अहिले ५ रोपनी क्षेत्रफलमा ३ सय केजी अदुवा खेती गर्ने तयारी गरिरहेको छ । अदुवा खेतीमा एक बालीमा बिउँ पुँजीको चार गुणा नाफा निकाल्न सकिने विद्यालयको प्राविधिक धार संयोजक शिक्षक प्रकाश सत्यालले जानकारी दिए । उनले ३ सय केजी अदुवाबाट १५ सय केजी उत्पादन निकाल्न सकिने अनुमान गरेको बताए । अदुवा खेतीका लागि बनेको कार्यविधिअनुसार यसमा विद्यार्थीको श्रम र सिपको मात्रै प्रयोग हुन्छ, व्यवस्थापनको पाटो विद्यालयले नै हेर्ने र नाफा विद्यालय र विद्यार्थीमा आधा–आधा गर्ने संयोजक सत्यालले बताए ।

मौरी पालनका लागि विद्यालय परिसरमा १५ वटा घारमा सेरेना जातका मौरीहरू राखिएका छन् । जसमा २२ जना विद्यार्थी सहभागी छन् । विद्यालयमै मौरी घार भएकाले काम गर्न पनि सहज हुने र पढाइमा पनि असर नहुने विद्यार्थी सोदिक्षा मैनाली बताउँछिन् । उनका अनुसार, समूहमा रहेर मौरीको हेरचाह गर्दा काम गर्न पनि सजिलो हुनुको साथै रमाइलो पनि हुन्छ, आम्दानी पनि हुन्छ ।

मौरीपालन र अदुवा खेती कार्यक्रमका लागि कार्यविधि उस्तै रहेको प्राविधिक संयोजक सत्यालले बताए । ३ समूहका कार्यक्रमामा विद्यालयका १ सय २० जना विद्यार्थी सहभागी भएको र उनीहरूले पढाइसँगै कमाइका लागि पनि मिहिनेत गरिरहेको विद्यालयका संयोजक हरिहर अधिकारीले बताए । शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडी भविष्यमा उद्यमी, व्यावसायिक, सिपयुक्त एवं स्वावलम्बी नागरिक उत्पादन गर्ने उद्देश्यका साथ अघि सारिएको यो कार्यक्रमले विद्यार्थीमा उत्साह थपिएको प्रअ पोख्रेलले बताए ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत पढ्दै कमाउँदै कार्यकम (लर्निङ बाई अर्निङ) विद्यालय सहयोग कार्यक्रमका लागि देशभरका १ सय ४० सामुदायिक विद्यालयमध्ये काभ्रेका जनक मावि र महाभारत गाउँपालिकाको गोकुले मावि छनोट भएका थिए । सो कार्यक्रमका लागि सरकारले प्रत्येक विद्यालयलाई १० लाख बजेट विनियोजन गरेको छ । जनक माविले पुस ४ बाट सो कार्यक्रमको कार्यान्वयन अघि बढाए पनि गोकुले माविमा भने कार्यक्रम सुरु गर्ने कुनै सुरसार नै छैन । केन्द्रीय सरकारले विनियोजन गरेको बजेट कार्यान्वयनका लागि लेखा र शिक्षा शाखाबाट ढिलाइ गरेकाले कार्यक्रम अघि बढ्न नसकेको गोकुले माध्यमिक विद्यालयका प्रधानाध्यापक पदम तिमल्सिनाले बताए । उनका अनुसार, यसका लागि विद्यालयले ताकेता गर्दा पनि सम्बन्धित सरोकारवालाले चासो नै दिएका छैनन् । कार्यक्रमको सुरुवात गर्न फेरि पनि प्रस्ताव गरिएको उनले बताए ।

प्रकाशित : पुस १७, २०७९ ०८:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×