२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

प्रविधिमैत्री शिक्षण, विद्यार्थी उत्साहित

मोहन शाही

डोटी — डोटीको चौखान माविमा कक्षा २ अध्यनरत दुर्गेश थापा विद्यालय जान हुरुक्कै हुन्छन् । उनकै सहपाठी हरिश साउद पनि विद्यालय पुग्न रमाउँछन् । विद्यार्थीहरू रमाउनुको कारण फरक शिक्षण विधि हो ।

प्रविधिमैत्री शिक्षण, विद्यार्थी उत्साहित

शिक्षिका मञ्जु गिरी प्रोजेक्टरको सहयोगले विद्यार्थीलाई भिडियो देखाउँदै पढाउन लागिएको बताउँछिन् । ‘ठूलो भित्तामा आकर्षक श्रव्यदृश्य सुन्दै, हेर्दै पढ्न विद्यार्थी औधि रुचाउँछन्,’ शिक्षिका गिरीले भनिन्, ‘पाठ्यपुस्तकका भन्दा चाँडो बुझ्ने भएकाले सिकाइ उपलब्धिमा पनि सुधार आएको छ ।’

दिपायल सिलगढी नगरपालिकाको वडा नं. ८ लडागडा स्थित २ विद्यालय र पूर्वीचौकी गाउँपालिका वडा नं ७ स्थित मष्टामाण्डौ माविले प्रविधिमैत्री कक्षा बनाएका छन् । चौखान मावि र सुनादेवी माविमा ३/३ प्रोजेक्टरबाट दैनिक कक्षा १० सम्म पढाइ हुने गर्छ । पाठ्यक्रमसम्बन्धी भिडियोहरू प्रदर्शन गर्दा रुचिका साथ पढ्न विद्यार्थीहरू झुम्मिने गरेको सुनादेवी माविका प्रधानाध्यापक कृष्णबहादुर कडायतले बताए ।

सुनादेवी माविले त झन् विद्यालयमै विद्यार्थीहरूलाई कम्प्युटरसमेत सिकाउने गरेको छ । प्रोजेक्टरमा प्रदर्शन गरेर शिक्षकले कम्प्युटर सिकाउने गर्छन् । विद्यार्थीले कम्प्युटरबाट आफूले जिज्ञासा राखेका विषय खोज्ने, सिक्ने र नयाँ विषयवस्तु जानकारी लिने गरेको प्रधानाध्यापक कडायतले बताए । विद्यार्थीले जिज्ञासा राखेका नयाँ विषये तत्कालै इन्टरनेटमा खोज्न सहज हुने अनुभव शिक्षकहरूको भनाई छ ।

सामुदायिक विकास केन्द्र (सीडीसी)ले एकीकृत सामुदायिक विकास परियोजनामार्फत प्रविधिमैत्री शिक्षण विधिलाई अपनाउन विद्यालयलाई सहयोग गरेको हो । शिक्षकहरूको सीप विकास तथा प्रोजेक्टर, ल्यापटप, साउन्डबक्स गराएको सीडीसीका अध्यक्ष हेमराज जोशीले बताए । जिल्ला सल्लाहाकार समितिका संयोजक लक्ष्मण सिंहले प्रविधियुक्त शैक्षिक सामग्रीहरूले विद्यार्थीहरूमा राम्रो प्रभाव परेको बताए । ‘पहिलो पटक यसरी दुर्गमको विद्यालयमा शैक्षिक सामग्रीको रूपमा प्रोजेक्टर प्रयोग गरेको डोटीमा देखें,’ संयोजक सिंहले भने ।

प्रकाशित : पुस १५, २०७९ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?