कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिमाली बालबालिका हिउँदमा विद्यालय जान वञ्चित

मेनुका ढुंगाना

अछाम — बाजुराको उच्च हिमाली भेगका धेरैजसो परिवार बर्सेनि हिउँदका ४ महिना अछाम र डोटीलगायतका क्षेत्रमा भेडासहित बिताउने गर्छन् । अछामको साँफेबगर, सुतार, मार्कु र डोटीको केही ठाउँमा उनीहरू खुला जमिनमा त्रिपाल टाँगेर बस्ने गरेका छन् ।

बाजुराका उच्च हिमाली भेगमा हिउँदमा अत्यधिक चिसो हुने भएकाले चिसो छल्न छोराछोरी र भेडाबाख्रासहित बेसी झर्नुपरेको उनीहरू बताउँछन् । बाजुराको बुढीनन्दा, बडिमालिका नगरपालिका र हिमाली गाउँपालिकाका करिब ३ सय परिवार चिसो छल्न घर छोडेर बसाइँ सर्दै औलतिर सर्न बाध्य छन् । उनीहरू हिउँदको ४ महिना घर मात्रै छोड्दैनन्, उनीहरूका बालबालिका विद्यालय पनि छोड्छन् ।

महिला तथा किशोरी महिनावारी भएको समयमा समस्या पर्छ । सुत्केरी भएको समयमा चिसो छल्न पुगेको ठाउँमा त्रिपालमुनि बस्नु उनीहरूका लागि अर्को ठूलो बाध्यता हो । ‘हिउँदको सुरुवातसँगै चिसो बढ्न थालेपछि मंसिर दोस्रो सातातिर उच्च हिमाली भेगमा बसोबास गर्ने भोटे समुदाय चिसो छल्न प्रत्येक वर्ष बेसीतिर बसाइँ सर्छौं,’ चिसो छल्न साँफेबगर आइपुगेका बाजुरा पान्डुसैनका नन्दबहादुर थापा (भोटे) ले भने, ‘यसरी हामी आउन थालेको दुई दशकभन्दा बढी भयो । अहिले ३० परिवारका ९० जना जति हामी साँफेबगरमा छौं । यो बेला छोराछोरीको पढाइ छुट्छ ।’ आफूसँग भएका दुई सय भेडाबाख्राको साथमा अछाम आएको उनले बताए ।

बाजुरा पान्डुसैनकी मैना थापा (भोटे) उमेरले ४० वर्ष पुगिन् । उनले हिउँदका कैयौं महिना यस्तै पालमा आगो बालेर गुजारेकी छन् । उनले सुत्केरी र महिनावारी भएको समय त्रिपालमा बिताएकी छन् । त्रिपाल टाँगेर बसेको सानो ठाउँमा महिनावारी हुँदा अलग्गै बस्नुपर्ने बाध्यता भएको उनी बताउँछिन् । ‘अर्काको ठाउँमा देवीदेवताको भरमा बस्नुपर्छ, । देउता रिसाछन् भन्छन् । पाँच दिनसम्म हामी पालमै अलग्गै बस्छौं,’ उनले भनिन्, ‘छाउ हुँदा ५ दिन र सुत्केरी हुँदा २५ दिन गोठमा बस्नुपर्छ । हिउँदको सिजनमा चिसोले झनै कष्टकर हुन्छ ।’

आफ्नो थातथलोको घरमा मष्टो देवतालाई पुज्ने गरेको उनले बताइन् । ‘मस्टोलाई राम्रोसँग पुजेन, नियम पुर्‍याएन भने, ‘वनमा बाघ, घरमा आग’ लाग्छ भन्छन् । हामीलाई पनि डर लाग्छ त्यसैले पनि एकदमै सजग हुन्छौं,’ मैनाले भनिन्, ‘गाउँमा त सानो गोठ थियो त्यसैमा बसिन्थ्यो, हिउँद छल्न औलतिर सरेपछि पालको बासमा सीमित लुगाकपडामा रात काट्नुपर्छ, त्यसमा पनि छाउ हुँदा आगोको सहारामा रात कटाउनुको पीडा भोग्नेलाई कति छ ? देख्नेले थाहा पाउन सक्दैनन् ।’ पालमा रात काट्नुको पीडा मात्र नभएर छोराको भविष्यको चिन्तासमेत बढेको पालमा बस्दै आएकी गंगा थापा (भोटे) बताउँछिन् । ‘तीन बच्चा छन् जेठो छोरा स्कुल जाने भइसकेको छ । गाउँमा एक कक्षामा पढ्ने हिमालको बसाइँसराइसँगै पढाइ पनि छुट्यो,’ दुखेसो पोख्दै उनले भनिन् , ‘परिवारमा ६ जना छौं । म दिनभर घरको काममा व्यस्त हुन्छु, बुढा र ससुरा भेडा लिएर जंगल जान्छन् ।’

बाजुराको बुढीनन्दा नगरपालिका–३ का वडाअध्यक्ष नगरपालिकाका प्रवक्ता जंगवीर रोकायाका अनुसार बाजुराका ३ सय बढी घरपरिवारका १ हजारभन्दा बढीको संख्यामा हिउँदको समयमा बाजुरा छोड्ने गरेका छन् । उनीहरूसँग करिब १ सय ५० भन्दा बढी बालबालिका विद्यालय छोडेर जाने गरेका छन् । ‘चिसो छल्न गएका बालबालिकाको पढाइ बिग्रने गरेको छ । ‘उनीहरूलाई नियमित विद्यालयमा लिन सक्नु हाम्रा लागि चुनौती भएको छ,’ प्रवक्ता रोकायाले भने, ‘चार महिनासम्म उनीहरू विद्यालय जान पाउँदैनन् । यसका लागि नगरपालिकाले योजना बनाइरहेको छ ।’

प्रकाशित : पुस १२, २०७९ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?