१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

समयमै परीक्षण नगर्दा पाठेघर क्यान्सर

मोहन बुडाऐर

धनगढी — आर्थिक अभावमा जाँच गर्न नसकेर रोग लुकाएर बसेका धनगढी उपमहानगरमा १८ महिलाको पाठेघरमा क्यान्सर भएको फेला परेको छ । धनगढी उपमहानगरपालिकाको आयोजनामा भएको एकदिने क्यान्सर रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिबिरमा चेकजाँचको क्रममा उपमहानगरभित्रका १८ महिलाको पाठेघरमा क्यान्सर भएको पत्ता लागेको हो ।

समयमै परीक्षण नगर्दा पाठेघर क्यान्सर

उपमहानगरले सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेको सहकार्यमा शनिबार शिविर सञ्चालन गरेको हो ।

उपमहानगरपालिका–७ बेलीस्थित सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । उक्त शिविरमा २ सय ८६ जनाले सेवा लिएको उपमहानगर प्रमुख गोपाल हमालको सचिवालयले जनाएको छ । सेवा लिनेहरूमा २ सय २९ महिला र ५७ पुरुष रहेका थिए । क्यान्सरको आशंका गरिएका ८८ जना महिलाको पाठेघरको परीक्षण गर्दा १८ जनामा क्यान्सर पुष्टि भएको हो । शिविरले १३ जनालाई थप परीक्षणका लागि क्यान्सर अस्पताल रिफरसमेत गरेको छ ।

शिविरमा १४ जना क्यान्सरका बिरामीले नियमित चेकजाँच गर्ने मौकासमेत पाए । सेवा लिनेहरूमध्ये ७४ जनाको भिडियो एक्सरेसमेत निःशुल्क गरिएको थियो । डा. शुभेषराज कायस्थसहितको समूहले स्वास्थ्य सेवा दिएका थिए ।

उप महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएर आएको पहिलो आर्थिक वर्षको साउनदेखि विशेषज्ञ स्वास्थ्य घुम्ती सेवा प्रत्येक वडामा महिनामा एक दिन निःशुल्क दिँदै आएको छ । आर्थिक अभावमा स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने विपन्न परिवारका सदस्यले लुकाएर राखेको रोग प्रत्येक महिना वडामा सञ्चालित हुने निःशुल्क विशेषज्ञ स्वास्थ्य घुम्ती सेवाले उजागर गर्दै आएको प्रमुख हमालले बताए । उनले घुम्ती शिविरबाट उजागर भएका क्यान्सर लगायतका घातक रोगको निदानका लागि देशका प्रतिष्ठित अस्पतालको सहकार्यमा छुट्टै शिविर सञ्चालन गर्दै आएको जानकारी दिए ।

‘यही सिलसिलामा क्यान्सर रोगसम्बन्धी शिविर सञ्चालन गरेका हौं,’ उनले भने, ‘विशेषज्ञसहितको घुम्ती स्वास्थ्य सेवा लिने अधिकांश महिलाको पाठेघरमा क्यान्सर भएको हुन सक्ने चिकित्सकले आशंका गरेका थिए ।’

प्रमुख हमालले वडामा सञ्चालित हुने विशेषज्ञ स्वास्थ्य सेवाबाट पत्ता लगाएका आँखा समस्यालगायत अन्य रोगका लागि समेत छुट्टै निःशुल्क शिविर पनि सञ्चालन गरेको बताए । उपमहानगरको सचिवालयका अनुसार घुम्ती स्वास्थ्य विशेषज्ञ सेवाबाट साउनदेखि हालसम्म आँखा रोगसम्बन्धी सेवा लिनेको संख्या ४ हजार ३ सय १६, दाँत रोगसम्बन्धी सेवा लिनेको संख्या २५, स्त्री तथा प्रसूति रोग विशेषज्ञबाट सेवा लिनेको संख्या २ हजार ९ सय २४, जनरल फिजिसन ७ हजार ४ सय १६, हाडजोर्नी १ सय ४१, प्रयोगशाला सेवा १ हजार ४ सय १०, अल्ट्रासाउन्ड १ हजार १ सय ८५, ईसीजी ६ सय ६२ लाई निःशुल्क सेवा दिएको जनाएको छ । त्यस्तै उपमहानगरले ७० वर्षमाथिका १ हजार ७ सय ८४ जनालाई निःशुल्क उपचार सेवा दिएको छ । घुम्ती शिविरबाट गर्भवती महिला १ हजार १ सय ३० जनाले सेवा लिएका छन् ।

प्रकाशित : पुस ११, २०७९ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?