कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यार्थी टिकाउन चुनौती

खेतबारीमा उब्जनी नहुने र आर्थिक अवस्था कमजोर भएका कारण छोराछोरीसहित भारत जानुपरेको परिवारको भनाइ
मेनुका ढुंगाना

अछाम — अछामको मंगलसेन नगरपालिका–१ लेस्टिगाडका छत्र नेपाली ३२ वर्षका भए । उनी किशोरावस्थादेखि नै कामको खोजीमा भारत जान थालेका हुन् । ४ कक्षासम्मको पढाइ छोडेर बाल्यावस्थामा नै भारतमा काम गर्न गएका छत्रले अहिले छोराछोरीलाई पनि विद्यालय छुटाएर भारत नै लगेका छन् ।

विद्यार्थी टिकाउन चुनौती

गाउँमा रहेको प्रगतिशील आधारभूत विद्यालयमा १ कक्षामा पढ्ने छोरी मनीषा नेपाली, ४ कक्षामा पढ्ने छोरा विशाल नेपाली, ५ कक्षामा पढ्ने छोरा पदम नेपालीलाई उनले आफूसँगै भारत लगेका छन् ।

घरको आर्थिक अवस्था कमजोर भएका कारण पढाउन नसकेर आफूसँगै भारतमै लगेको छत्र बताउँछन् । ‘चुनावको बेलामा दसैं तिहार परेर घरमा आएको थिएँ ।

यता नै राखेर घर खर्च चलाउन, छोराछोरी पढाउन गाह्रो भयो । छोराछोरी लिएर सबै परिवार बम्बै जान लाग्यौं,’ उनले भने, ‘उता लगेर स्कुल भर्ना गर्न पनि हामीलाई समस्या नै हुन्छ । समय मिल्यो भने वार्षीक परीक्षा दिने गरी छोराछोरीलाई घर ल्याउने सोच गरेका छौं ।’

खेतबारीमा उब्जनी नहुने र आर्थिक अवस्था कमजोर भएका कारण छोराछोरीसहित भारत जानु परेको छत्रको भनाइ छ । ‘यसरी स्कुलबाट छुटाएर लैजादा पढाइ बिग्रन्छ भन्ने त थाहा छ । तर, यतै बसेर गुजारा चलाउन सक्ने अवस्था हाम्रो छैन ।’

छत्रले मात्रै होइन, सोही गाउँकी जलु थापाले पनि १ कक्षामा पढ्दै गरेकी छोरी करिस्मालाई विद्यालयबाट छुटाएर भारत लगेकी छन् । ‘श्रीमान्ले छोराछोरी ल्याएर तिमी पनि आउ भनेपछि सबै परिवार बम्बै जान थालेका छौं,’ उनले भनिन्, ‘५/७ क्लाससम्म पढाउन पाए हुन्थ्यो भन्ने त लागेको हो । गुजारा नै बम्बैबाट चल्छ । यता न खेतबारी छ, न केही कमाउने बाटो छ । छोराछोरीको भविष्य भने बिग्रन लागेको छ । तर पनि जानैपर्ने बाध्यता हो ।’

विद्यालयमा भर्ना गर्ने तर बीचबाटै अभिभावकले छुटाएर लैजाने समस्या धेरै रहेको मंगलसेन नगरपालिका–१ लेस्टिगाडमा रहेको प्रगतिशिल आधारभूत विद्यालयकी प्रधानाध्यापक चन्द्रकला थापाले बताइन् । लेस्टिगाडको नेपालीबाडाका सय जनाभन्दा बढी बालबालिका आमाबुबासँगै एक महिनायता भारत गएको उनले बताइन् ।

‘विद्यालयमा भर्ना गर्ने तर बीचमै छुटाएर लैजाने समस्याले विद्यालयको शैक्षिकस्तर खस्किँदै गएको छ । नियमित विद्यालय आउने विद्यार्थी एकदमै कम छन्,’ प्रधानाध्यापक विष्टले भनिन्, ‘दलित टोलका कोही पनि बालबालिका नियमित विद्यालय आउँदैनन् । विद्यार्थी टिकाइराख्न हामीलाई धेरै चुनौती छ ।’

मंगलसेन नगरपालिकाका ४९ सामुदायिक विद्यालय, ६१ बालविकास केन्द्रमा करिब ७५ प्रतिशत विद्यार्थी मात्रै नियमित हुने गरेको मंगलसेन नगरपालिकाको शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख जगत रावलले बताए । ‘सबै विद्यालयको अवस्थाका बारेमा भरखरै अनुगमन गरेका छौं । तथ्यांक विश्लेषण गर्न पाएका छैनौं’, उनले भने, ‘दलित समुदायका धेरै विद्यार्थीले विद्यालय छोडेको आकलन छ ।’

जिल्लामा २०६२ वैशाखमा कक्षा १ मा जम्म ३० हजार ८ सय ७३ विद्यार्थी भर्ना भए । त्यो वर्ष कक्षा १ मा भर्ना भएका विद्यार्थीले १० वर्षपछि अर्थात् २०७१ मा एसएलसी परीक्षा दिँदासम्म भने करिब सात गुणाभन्दा बढी विदार्थी बीचमै हराए । ३० हजार ८ सयबाट विद्यार्थी हराउँदै एसईई दिँदासम्म जम्मा ४ हजार मात्र बचे । कक्षा १ मा भर्ना भएकामध्ये एसएलसी दिने बेलासम्म ७/८ गुणा बढी विद्यार्थी बीचमै हराउने गर्छन् ।

शिक्षा विकास तथा समन्वय इकाइ अछामको गत वर्षको तथ्यांकअनुसार कक्षा दोहोर्‍याउने विद्यार्थीको संख्या २२ दशमलव १३ प्रतिशत छ । कक्षा छोड्ने दर १९ दशमलव ७ प्रतिशत छ । उत्तीर्ण भएर माथिल्लो कक्षामा जाने विद्यार्थीको संख्या ५८ दशमलव २९ प्रतिशत मात्र छ ।

अर्को तथ्यांकअनुसार प्राथमिक तहमा रहेका कुल विद्यार्थीमध्ये ३६ दशमलव ५३ प्रतिशत विद्यार्थी मात्र निमावि तहमा पुग्ने गर्छन् । निमावि तहमा रहेका पनि सबै विद्यार्थी मावि तहमा पुग्दैनन् । निमावि तहमै करिब ४५ प्रतिशत विद्यार्थी हराएर मावि तहमा जम्मा ५५ प्रतिशत विद्यार्थी मात्र पुग्छन् ।

प्रकाशित : पुस ८, २०७९ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?