जो बढी र कम मतान्तरले निर्वाचित भए- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जो बढी र कम मतान्तरले निर्वाचित भए

अर्जुन शाह

धनगढी — सुदूरपश्चिमका ३२ प्रदेश निर्वाचन क्षेत्रबाट विजयी नवनिर्वाचित सांसदमध्ये अछाम निर्वाचन क्षेत्र नम्बर १ (१) बाट मेघराज खड्का सर्वाधिक मतान्तरमा विजयी भएका छन् । कांग्रेस उम्मेदवार खड्काले अछाम १ (१) बाट निकटम प्रतिस्पर्धीभन्दा ५ हजार ८४० बढी मत ल्याएका हुन् ।

कांग्रेस प्रदेश महामन्त्रीसमेतरहेका खड्काले १२ हजार ३३७ मत ल्याए । उनलाई पछ्याएका एमाले उम्मेदवार देवबहादुर कुँवरले ६ हजार ४९७ मत पाए ।

नवनिर्वाचितमध्ये सबैभन्दा धेरै मत ल्याउने उम्मेदवार भने बाजुरा (२) का कांग्रेस उम्मेदवार पदमबहादुर शाही हन् । उनले सबैभन्दा धेरै २० हजार ११९ मत पाएका छन् । खड्कापछि बढि मतान्तरमा विजयी हुने दोस्रो सांसद हुन्, कञ्चनपुर ३ (२) बाट नवनिर्वाचित कांग्रेस उम्मेदवार बेलबहादुर राना मगर । उनी ५ हजार ६१७ मतान्तरमा चुनाव जितेका छन् । राना मगरले १६ हजार १७२ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी रहेका एमाले उम्मेदवार सुरेन्द्रबहादुर विष्टले १० हजार ५५५ मत पाएका छन् ।

४ हजार बढी मतान्तरमा विजयी हुने अन्य उम्मेदवारहरूमा कैलाली १ (१) बाट विजयी नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार कैलाश चौधरी र कैलाली ४ (१) बाट एकीकृत समाजवादीका उम्मेदवार रहेका दीर्घबहादुर सोडारी छन् । नागरिक उन्मुक्तिका कैलाश चौधरीले माओवादी केन्द्रका उम्मेदवार दिर्घराज बिनाडीलाई ४ हजार ७२४ मतान्तरले पराजित गरेका हुन् । यस्तै बहालवाला भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका एकीकृत समाजवादीका सोडारीले एमाले उम्मेदवार भीमबहादुर देउवालाई ४ हजार ६६ मतान्तरले पराजित गरे । ३२ मध्ये तीन जना ३ हजार बढि मतान्तरमा विजयी भएका छन् । ८ जनाले २ हजार बढी मतान्तरमा चुनाव जितेका छन् ।

यही निर्वाचनमा सर्वाधिक कम मतान्तरमा पराजित हुनेमा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ (१) बाट उम्मेदवार रहेका नेपालु चौधरी हुन् । उनी आफ्ना प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार रमेश धामीसँग १२५ मतले पराजित हुन पुगे । माओवादी केन्द्रका धामीले ९ हजार ३८७ मत पाएका थिए भने चौधरीले ९ हजार २६२ मत पाए । निवर्तमान सांसदसमेत रहेका पराजित एमाले उम्मेदवार चौधरी पहिलो प्रदेशसभामा विधायन तथा प्रदेश मामिला समितिमा पाँचवर्षे कार्यकालसम्म नेतृत्व गर्दै सभापति थिए ।

प्रदेशसभाका चार उम्मेदवारले ५ सयभन्दा कमको मतान्तरमा पराजय व्यहोर्नुपर्‍यो । बहालवाला सामाजिक विकासमन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार गोविन्दराज बोहरा स्वतन्त्र उम्मेदवार तारा जोशीसँग ४२५ मतले पराजित हुन पुगे । विजयी उम्मेदवार जोशीले ११ हजार १६२ मत प्राप्त गरेका थिए । पराजित बोहराले १० हजार ७३७ मत पाएका थिए । ५ सयभन्दा कम मतान्तरमा पराजित हुने अन्य उम्मेदवारहरूमा बैतडीका लिलाधर भट्ट, डोटीका नरेन्द्रबहादुर सिंह र कञ्चनपुरमा बच्चनबहादुर सिंह छन् ।

बैतडी (१) बाट एमाले उम्मेदवार रहेका निवर्तमान सांसद लिलाधर भट्ट ४३७ मतले कांग्रेसका शिवराज भट्टसँग पराजित भए । विजेता रहेका कांग्रेस उम्मेदवारले १७ हजार १५३ मत ल्याउदा पराजित एमाले उम्मेदवारले १६ हजार ७१६ मत ल्याए । डोटी (१) बाट कांग्रेस उम्मेदवार नरेन्द्रबहादुर सिंह एमालेका चक्रबहादुर सिंहसंँग ४५० मतले पराजित भएका थिए । मल्लले १५ हजार २७९ मत पाउँदा सिंहले १४ हजार ८२९ मत पाएका थिए । यस्तै, ५ सयभन्दा कम मतान्तरमा पराजित हुने अर्का उम्मेदवार कञ्चनपुर २ (१) बाट एमालेका बच्चनबहादुर सिंह हुन् । उनी माओवादी केन्द्रका उम्मेदवार ओमबिक्रम भाटसंग ४७३ मतले पराजित भएका थिए । भाटले १० हजार ९३८ र सिंहले १० हजार ४६५ मत पाए ।

यसैबीच, यसपल्टको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीको गठबन्धन थियो । तर भागबन्डामा कुरा नमिलेपछि एकीकृत समाजवादीले यस प्रदेशका तीनवटा निर्वाचन क्षेत्रमा गठबन्धनका साझेदार दलका उम्मेदवारसँग आपसमै प्रतिस्पर्धा गरेको थियो । कञ्चनपुर ३ (१) मा प्रकाशबहादुर रावल, बाजुरा (१) मा नरेशकुमार शाही र कञ्चनपुर २ (२) मा लालबहादुर खड्का प्रतिस्पर्धा गरेका थिए । तीमध्ये कञ्चनपुरमा रावल र बाजुरामा शाहीले जित हासिल गरे भने खड्का पराजित भए । माओवादीका टेकेन्द्रप्रसाद भट्टले कञ्चनपुर ३ (१) गठबन्धनबाट टिकट पाएका थिए । तर उनी निकटम प्रतिस्पर्धीसमेत हुन सकेनन् ।

प्रकाशित : मंसिर २८, २०७९ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्

गाउँपालिका १० महिनादेखि लेखापालविहीन

कान्तिपुर संवाददाता

मुगु — सोरु गाउँपालिकामा झन्डै १० महिनादेखि लेखापाल नहुँदा आर्थिक कामकाज ठप्प छ । गाउँपालिकामा फागुनदेखि लेखापाल छैनन् । पालिकामा कार्यरत लेखापाल जेटबहादुर बुढा फागुनमा सरुवा भएपछि उनको ठाउँमा अर्को लेखापाल नपठाइँदा पालिका लेखापालविहीन भएको हो ।

लेखापाल नहुँदा विभिन्न योजनाका रकम भुक्तानी गर्नसमेत बाधा परेको छ । लेखापाल नभएकै कारण लामो समयदेखि कर्मचारीले तलब पनि पाएका छैनन् । सदरमुकाम गमगढीस्थित कोष तथा लेखा नियन्त्रण कार्यालयबाट २ देखि ५ दिनको लागि लेखापाल पठाएर स्थायी कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता निकासा गर्ने गरिएको छ । तर करारका कर्मचारी भने स्थायी लेखापाल नहुँदा तलबभत्ताबाट वञ्चित छन् ।

लेखापाल नभएकै कारण प्रशासनिक सेवाप्रवाहमा समस्या भएको प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ले बताए । उनका अनुसार धेरै गाउँपालिकाका अधिकांश विकास योजनाका मुद्दा अख्तियारमा उजुरी पर्ने गरेकाले यहाँ लेखापाल आउन नमानेका हुन् । सोरु गाउँपालिकाबाट गत वर्ष मात्रै १७ वटा मुद्दा अख्तियारमा परेका थिए । ‘अख्तियारमा मुद्दा परेपछि सबैभन्दा धेरै तनाब लेखापाललाई नै हुन्छ,’ उनले भने, ‘अन्य आर्थिक कामकाजमा जनप्रतिनिधिले अनावश्यक दवाव दिने गरेका कारण पनि यहाँ लेखापाल आउन मान्दैनन् ।’

लेखापाल नहुँदा चालु आर्थिक वर्षका योजनाहरू अन्योलमा परेको गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीले बताए । ‘लेखापाल खोज्दै कोष नियन्त्रण कार्यालय तथा संघ र प्रदेशका मन्त्रालय गुहार्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘पहिलेका लेखापाल सरुवा भएपछि अरु आउन मान्दैनन् ।’

प्रकाशित : मंसिर २८, २०७९ ०९:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×