२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

छाडा चौपाया व्यवस्थापन नहुँदा किसान हैरान

छाडा चौपायाले खेतीपातीमा दिनहुँ भइरहेको क्षतिले हैरान बनेका कृषकहरू अन्तिम अवस्थामा आइतबार नगरपालिकामा पुगेका हुन् ।
भवानी भट्ट

कञ्चनपुर — अगाडि छाडा चौपाया । पछाडि महिला र पुरुषहरू । यो हूल वेदकोट नगरपालिकाको गेटमा पुग्यो । केहीबेर गेटमै रोकियो । करिब १० बजेसम्म गेट नखुलेपछि स्थानीयले नै मूलगेट तोडेर गाई गोरु नगरपालिका परिसरमा हुले । महिला र पुरुष दिनभरि नगरपालिकामै बसे । 

छाडा चौपाया व्यवस्थापन नहुँदा किसान हैरान

छाडा चौपायाले खेतीपातीमा दिनहुँ भइरहेको क्षतिले हैरान बनेका कृषकहरू अन्तिम अवस्थामा आइतबार नगरपालिकामा पुगेका हुन् । उनीहरूले उचित व्यवस्थापनको माग गर्दै गाउँभरिका छाडा गाईगोरु ल्याएर नगरपालिका परिसरमा दिनभरि थुने । दुई दिनसम्म नगरपालिका परिसरमा रहेका छाडाचौपायालाइ नगरपालिका प्रशासनले जेसीबीमा राखेर सोमवार चुरेफेदीको चुनेपानी पुर्‍यायो ।

तर त्यहाँका स्थानीयले छाडा चौपाया राख्न नदिएपछि नगरपालिकाले आसपासको क्षेत्रमा अलपत्र छोडेको स्थानीय बताउँछन् । केही चौपाया मरेको स्थानीयले बताए ।

छाडा चौपायाको व्यवस्थापनका लागि पटकपटक नगरपालिकाका जनप्रतिनिधिसँग आग्रह गर्दै आएका वेदकोटवासी गहुँ र तरकारी समेत नजोगिने अवस्था आएपछि विरोधमा उत्रे । वेदकोट नगरपालिका १० का बासिन्दाले विरोध स्वरूप छाडा चौपायालाई नगरपालिका परिसरमा पुर्‍याएका हुन् ।

मंसिर १० गते नगर प्रमुख भोजराज बोहरा र वडा नं. १० का बासिन्दाबीच छाडा चौपाया व्यवस्थापनका बारेमा केही सहमति भएको थियो । जसअनुसार स्थानीयले नै नगरपालिकाको सहयोगमा छाडा चौपायालाई चुरे फेदीमा रहेको चुनेपानी धार्मिक वनमा पुर्‍याउने सहमति भएको थियो । सोही अनुसार महिलाहरू एक सय गाईगोरु लगेर वेदकोट नगरपालिका ८ को गाउजी पुगेका थिए । त्यहाँ पुग्दा नगरपालिकाकी उपप्रमुख तुलसी जोशीको नेतृत्वमा स्थानीयले हातपात गरेपछि महिलाहरू फर्केका थिए ।

‘मेयरले गाईगोरु लगेर त्यहाँ व्यवस्थापन गर्नुस् भने, सुरक्षाकर्मी पनि पठाए,’ वेदकोट नगरपालिका १० हरपालकी गीता भट्टले भनिन्, ‘गाईगोरु लगेर जाँदा उपमेयरकै नेतृत्वमा आक्रमण भयो ।’ उनका अनुसार उपमेयर जोशीका नेतृत्वमा स्थानीय युवाले हातपातसँगै ढंगा प्रहार गरे । त्यसपछि गाईगोरु फर्काएर ल्याएको उनले बताइन् ।

नगरपालिकाले चुनेपानी धार्मिक वनमा छाडा चौपाया व्यवस्थापनका लागि गोठहरू बनाएको छ । तर उक्त क्षेत्रमा क्षमताभन्दा बढी गाईगोरु राख्दा भोक र चिसोले मर्न थालेका छन् । दैनिक दुई/चार गाईगोरु मरिरहेको स्थानीय चक्रदेव जोशी बताउँछन् ।

‘धान पनि गाईगोरुले खायो, गहुँ र तरकारी पनि जोगाउन नसकिने भयो,’ वेदकोट नगरपालिका १० हरपालकी मीना कठायतले भनिन्, ‘रातभरि अनिँदो बसेर गाईगोरु धपाउनुपर्छ, एक दिन कुर्न नसके सबै सखाप हुन्छ ।’ वेदकोट नगरपालिकाले यसअघि यहाँका छाडा चौपाया पहाडि जिल्लातर्फ पठाउने गरेको थियो । चुरे फेदमा गौशाला पनि निर्माण गरेको छ । तर उक्त गौशालामा आहाराको अभाव र चिसोले कठ्यांग्रिएर गाईगोरु मरिरहेका छन् ।

नगर प्रमुख बोहराले अबको दुई महिनाभित्र तत्कालीन र दीर्घकालीन रूपमा छाडा गाईगोरुको व्यवस्थापन गरिने बताए । उनले विगतमा भएका सफल अभ्यासहरूको आधारमा गौशाला निर्माणसंँगै फेरि छाडा हुन नदिने योजना बनाइने बताए । ‘हामीले व्यवस्थापन गर्दै जाने स्थानीयले छाड्दै जाने हो भने यो कहिल्यै समाधान नहुने समस्या बन्न सक्छ,’ नगर प्रमुख बोहराले भने, ‘सुरुमा स्थानीयको घरमा रहेका गाईगोरुको पहिचानसँगै तिनलाई छाड्नेलाई कारबाही गर्ने खालको नीति बनाउनुपर्छ । त्यसपछि छाडा गाईगोरुलाई विभिन्न ठाउँमा गौशाला बनाएर काम गर्नुपर्ने उनले बताए ।

नगरपालिकाले वेदकोट नगरपालिका ४ को बालज्योति माविको १२ बिघा जमिनमा गाईगोरु व्यवस्थापनको प्रक्रिया अघि बढाएको छ । जसको जिम्मा वैजनाथ महिला कृषि सहकारी संस्थालाई दिइएको छ । अहिले उक्त क्षेत्रमा डेढ सय ट्रली पराल जम्मा पारिएको छ । गोठहरू निर्माणको काम पनि तत्काल अघि बढाइने नगर प्रमुख बोहराले बताए ।

‘दुई महिनाभित्रै छाडा गाईगोरुका व्यवस्थापन गर्ने लक्ष्य राखेका छौं,’ नगरप्रमुख बोहराले भने, ‘दीर्घकालीन रूपमा समस्या समाधान गर्न केही समय लागेपछि अहिले छाडा रहेको गाईगोरुलाई राख्न घेरबार, आहारा र खानेपानीको व्यवस्थापनको काम भए पुग्छ ।’ उनका अनुसार यस वर्ष वेदकोट नगरपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि ४० लाख रकम छुट्याएको छ । यसअघि ५ वर्षमा एक करोड बढी खर्च भइसकेको छ ।

भीमदत्त नगरपालिकाले घरमा पालिएका गाईगोरुमा ट्यागसमेत लगायो । छाडा चौपाया व्यवस्थापनका लागि कानुनसमेत बनायो । गाईगोरु छाड्नेलाई कारबाही र सूचना दिनेलाई जरिवानाको व्यवस्था समेत गर्‍यो । तर ति सबै योजना र अभ्यासहरू असफल भए । अहिले महेन्द्रनगर बजारमा ट्याग लगाएकै गाईगोरुहरू बढी देखिन्छन् ।

‘विगतका अभ्यास हेर्दै नयाँ योजना बनाएर व्यवस्थापन गर्छौ,’ भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले भने, ‘छाडा चौपाया व्यवस्थापनका लागि स्रोतको अभाव छैन, अभाव योजनाको मात्रै हो ।’ उनका अनुसार यस वर्ष प्रदेश सरकारले पनि बजेट छुट्याएको छ । यसअघि वेदकोट र भीमदत्त नगरपालिकाले संयुक्त रूपमा छाडा चौपाया व्यवस्थापनका लागि कार्यदल बनाएर अध्ययन पनि गरेका थिए ।

प्रकाशित : मंसिर २१, २०७९ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?