१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

जनविश्वास टुट्न दिँदैनौं : नवनिर्वाचित सांसद

धनगढी — नवनिर्वाचित जनप्रतिनिधिले आफूहरूप्रतिको जनविश्वास टुट्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डिल्लीराज पन्त, प्रदेशसभा सदस्यहरू प्रकाश देउवा, रमेश धामी, प्रकाश बम र अक्कलबहादुर रावलले मंगलबार धनगढीमा आयोजित कार्यक्रममा उक्त प्रतिबद्धता जनाएका हुन् । 

जनविश्वास टुट्न दिँदैनौं : नवनिर्वाचित सांसद

कांग्रेसबाट निर्वाचित पन्तले कृषि, स्वास्थ्य, शिक्षा र रोजगार क्षेत्रमा रहेको विद्यमान समस्या समाधान गर्न केन्द्रित हुने बताए । ‘जनताको धेरै ठूलाठूला मागहरू पनि छैनन्, खानेपानी, सडक, सिँचाइ, विद्यालय लगायतका योजनाहरूको माग पूरा गर्नुछ,’ उनले भने ।

सत्तारूढ पाँच दलीय गठबन्धनको निर्वाचन परिचालन समितिद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै नवनिर्वाचित सांसद पन्तले आफ्नो कार्यकालमा उत्कृष्ट काम गरेर जनविश्वास बढाउने दावी गरे ।

कैलाली क्षेत्र नम्बर ५ (१) मा माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभा सदस्य रमेश धामीले विकास निर्माणका कामहरूलाई तीव्र गतिमा अघि बढाउनुपर्नेमा आफू संवेदनशील गरेको बताए । उनले आफ्ना कामहरूबाट आम मतदाताले शिर झुकाउनुपर्ने र आलोचना गर्नुपर्ने अवस्था आउन नदिने बाचा गरे ।

यस्तै, सोही निर्वाचन क्षेत्रको (२) बाट निर्वाचित सांसद प्रकाश देउवाले सुदूरपश्चिम प्रदेशलाई विकसित प्रदेशको रूपमा अगाडि बढाउने ढंगले काम गर्ने प्रतिबद्धता जनाए । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ (१) मा कांग्रेसबाट नवनिर्वाचित सांसद प्रकाश बमले प्रदेश संरचनाप्रति जनविश्वास बढाउने गरी काम गर्ने बताए । अछामबाट निर्वाचित प्रदेश सांसद अक्कलबहादुर रावलले पहिलो कार्यकालका केही गतिविधिले प्रदेश संरचना नै चाहिन्न भन्ने जनआवाज बढ्न थालेको औंल्याउँदै अबको प्रदेश सरकार त्यसतर्फ चनाखो रहनुपर्नेमा जोड दिए ।

उनले प्रदेशले संविधानिक अधिकारको प्रयोग, विधि र प्रणाली स्थापनामा जोड दिनुपर्ने औंल्याउँदै त्यसतर्फ आफूले भूमिका निर्वाह गर्ने बताए । रावल पहिलो कार्यकालका पनि प्रदेश सांसद हुन् ।

प्रकाशित : मंसिर २१, २०७९ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?