कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बाजुरामा १४ दिनपछि नतिजा

मतदानकै दिनदेखि निम्तिएको विवाद आयोगले निर्णय गरेपछि साम्य
प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ सत्ता गठबन्धन विजयी
अर्जुन शाह

धनगढी — बाजुरामा निर्वाचन भएको १४ दिनपछि मात्रै मत परिणाम सार्वजनिक भएको छ । मतदानकै दिनदेखि निम्तिएको विवादले अनेक उतारचढावपूर्ण मोड लिएकाले बाह्रौं दिनमा मात्रै मत गन्न थालिएको थियो । आइतबार पूर्ण मत परिणाम सार्वजनिक हुँदा प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ सत्तारूढ गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् ।

बाजुरामा १४ दिनपछि नतिजा

प्रतिनिधिसभातर्फको एक मात्र निर्वाचन क्षेत्रमा कांग्रेस सहमहामन्त्री बद्रीप्रसाद पाण्डे विजयी भए । प्रदेशतर्फ क्षेत्र–१ मा नेकपा (एकीकृत समाजवादी) का नरेशकुमार शाही र क्षेत्र–२ मा कांग्रेसकै पदमबहादुर शाही निर्वाचित भए ।

पाण्डेले एमाले उम्मेदवार कर्णबहादुर थापालाई ५ हजार ४ सय ३७ मतले पछि पार्दै जित निकालेका हुन् । पाण्डेले ३१ हजार ७ सय ८९ मत पाउँदा थापाले २६ हजार ३ सय ४९ मत मात्रै ल्याउन सके । संविधानसभामा समानुपातिक र राष्ट्रिय सभा सदस्यमा गरी दुई पटक सांसद भएका पाण्डे पहिलो पटक प्रत्यक्ष चुनावी मैदानमा होमिएका थिए । पहिलो स्पर्धामै उनले जित हात पारेका हुन् । थापा २०७० को संविधानसभा निर्वाचन जितेर मन्त्रीसमेत भएका थिए ।

प्रदेश–१ मा एकीकृत समाजवादीका नरेशकुमारले एमालेका बलदेव रेग्मीलाई २ हजार ३ सय ४१ मतले पछाडि पारे । नरेशकुमारले १० हजार ९ सय ७३ मत पाउँदा रेग्मीको पोल्टामा ८ हजार ६ सय ३२ मत मात्र परेको थियो । यो क्षेत्र सत्ता गठबन्धनको भागबन्डा गर्दा माओवादी केन्द्रको भागमा परेको थियो । माओवादीले कर्णबहादुर विश्वकर्मालाई उम्मेदवार बनाएको थियो । तर, एकीकृत समाजवादीले पनि यो क्षेत्र नछाड्ने भन्दै युवा संघका केन्द्रीय अध्यक्षसमेत रहेका शाहीलाई अघि सारेपछि दुवै दलका उम्मेदवार मित्रवत प्रतिस्पर्धामा उत्रिएका थिए । गठबन्धनकै अर्को घटक कांग्रेसले शाहीलाई समर्थन गरेकाले जित सहज भएको हो । विश्वकर्माले १ हजार ९८ मात्रै मत पाए ।

यसैगरी, प्रदेशकै अर्को क्षेत्र–२ मा कांग्रेसका पदमबहादुर शाहीले एमालेका लालबहादुर थापालाई हराए । शाहीले २० हजार १ सय १९ र थापाले १७ हजार ५ सय २१ मत पाए । थापा निवर्तमान प्रतिनिधिसभा सदस्य हुन् । संघबाट प्रदेश झरेका थापालाई एमालेका तर्फबाट सुदूरपश्चिमको मुख्यमन्त्रीको दाबेदारका रूपमा हेरिएको थियो । विजयी शाही २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट पराजित भएका थिए ।

जितपछि कांग्रेस उम्मेदवार पाण्डेले निर्वाचनका क्रममा भएका घटनाहरू दुःखद रहेको बताउँदै आफ्नो जित सम्पूर्ण बाजुरावासीको जित भएको बताए । उनले जनप्रतिनिधिका रूपमा कसैप्रति आग्रह–पूर्वाग्रह नराखी जिल्लाको समग्र विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । ‘बाजुरामा निर्वाचन स्वच्छ र स्वस्थ नहुने, मतदाताले आफैं मतदान गर्न नपाउने प्रवृत्ति अन्त्य गर्न प्रविधिबाट मतदान गर्ने व्यवस्था ल्याउन पहल गर्छौं,’ उनले भने, ‘सबै दलका नेताहरूको साझा पहलबाट मात्र यहाँ स्वच्छ निर्वाचनको परम्परा बसाउन सकिन्छ र त्यो गर्नैपर्छ ।’ प्रदेशसभा सदस्य चुनिएका नरेशकुमार र पदमबहादुरले पनि जिल्लाको विकासमा एकाग्र भएर खटिने बताए । एमाले उम्मेदवार थापाले भने सामाजिक सञ्जालमार्फत प्रतिस्पर्धीहरूको जितलाई स्विकार्न नसकिने बताएका छन् । ‘यस पटक बाजुराको इतिहासमा कहिल्यै नभएको, क्रूर, अमानवीय हत्या गरेर १७ मतदान केन्द्र कब्जा गरी निर्वाचन जितेको हुनाले यस्तो विजयलाई मेरो अन्तरमनले स्वीकार गरेन,’ उनले लेखेका छन् ।

किन ढिलाइ ?

मतदानकै दिन (मंसिर ४) मा त्रिवेणीमा २ युवाको ज्यान गएको थियो । प्रहरीको गोली लागेर कांग्रेस समर्थक सञ्जीव अयडीको मृत्यु भएको थियो भने कांग्रेस कार्यकर्ताले अनेरास्ववियुका केन्द्रीय सदस्यसमेत रहेका चेतन अयडीलाई राति घरभित्रै कुटपिट गरी हत्या गरेका थिए । हत्यामा संलग्न भएको आरोपमा मृतकका परिवारले २२ जनाको नाममा किटानी जाहेरी दिएको छ । तीमध्ये ५ जनालाई पक्राउ गरिएको र अन्यको खोजी भएको बाजुरा प्रहरी प्रमुख डीएसपी सूर्य थापाले बताए ।

त्रिवेणी घटनाको विरोधमा एमाले कार्यकर्ताले मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेल, प्रमुख जिल्ला अधिकारी र अन्य सुरक्षा अधिकृतहरूमाथि सदरमुकाम मार्तडीमा अभद्र व्यवहार (कालोमोसो फ्याँकेपछि) गरेपछि परिस्थिति झन् पेचिलो बन्यो । लगत्तै ११ जना अनेरास्ववियुका कार्यकर्तालाई प्रहरीले पक्राउ गर्‍यो । प्रहरी नियन्त्रणमा रहेकाहरूलाई रिहा नगरिएसम्म मतगणनामा सामेल नहुने एमाले अडानपछि उनीहरूरिहा गरिए ।

तर, घटना त्यत्तिमै सीमित रहेन । कांग्रेस–एमालेले एकअर्कालाई बुथ कब्जा गरेर फर्जी मत खसालेको आरोप लगाए । एमालेले बýुथ कब्जा गरिएका मतदान केन्द्रमा पुनः मतदान गराउन आयोगसमक्ष माग नै गर्‍यो । बाजुरामा अध्ययन टोली पठाएर छानबिन गर्दै आयोगले अन्ततः मतगणना गर्ने निर्णय गरेको थियो । त्यसपछि मात्रै मतगणना सुरु भई मत परिणाम बाहिर आउन सकेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदानकै दिन स्थगन गरेको बुढीनन्दा–५ मा भनेलगत्तै पुनः मतदान गराइएको थियो ।

प्रकाशित : मंसिर १९, २०७९ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?