कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डडेलधुराको प्रदेशसभामा एक्ला स्वतन्त्र

गठबन्धनको भागवन्डामा एकीकृत समाजवादीले सिट नपाएपछि तारा जोशी स्वतन्त्र उम्मेदवारी दिएर विजयी
डीआर पन्त

डडेलधुरा — नेकपा (एकीकृत समाजवादी) बाट टिकट नपाएपछि तारा जोशी प्रधानमन्त्री शेरबहादुर देउवाको गृहक्षेत्रमा प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बने । प्रदेशतर्फ क्षेत्र–२ बाट उम्मेदवार बनेका उनी निर्वाचित भए । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका प्रदेशका सामाजिक विकासमन्त्री कांग्रेसका गोविन्द बोहरालाई जोशीले ४ सय २७ मतान्तरले पराजित गरेका हुन् । प्रदेशसभामा प्रत्यक्षतर्फका ३२ सिटमध्ये जोशी स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित हुने एक्ला सांसद हुन् ।

डडेलधुराको प्रदेशसभामा एक्ला स्वतन्त्र

प्रधानमन्त्री देउवाको गृहक्षेत्रमा कांग्रेसले बलियो उम्मेदवारका रूपमा बोहरालाई टिकट दिएको थियो । अन्तिम समयसम्म पनि एकीकृत समाजवादीले माग गरेको उक्त क्षेत्र नपाएपछि जोशीले स्वतन्त्र उम्मेदवारी दिएका थिए । जोशीलाई बीपी कांग्रेसले समर्थन गरेको थियो । जोशीले ११ हजार १ सय ६२ मत ल्याउँदा बोहराले १० हजार ७ सय ३७ मत पाए । यसै क्षेत्रमा एमालेका उम्मेदवार रहेका गजेन्द्र शाहीले गत वैशाख ३० मा भएको स्थानीय निर्वाचनमा एमालेले पाएको मत पनि पाउन सकेनन् । उनले जम्मा १ हजार ५ सय ३५ मात्रै मत पाए । यसले एमालेजनको मत पनि जोशीलाई नै गएको देखिन्छ । माओवादीले पनि भित्री रूपमा जोशीलाई नै सहयोग गरेको स्रोत बताउँछ । लामो समयदेखि राजनीतिक क्षेत्रमा बौद्धिक छवि बनाएका र पटक–पटक निर्वाचन हारेका जोशीप्रति मतदाताको सहानुभूतिले पनि उनलाई निर्वाचन जित्न सहज बनाएको हो ।

गत निर्वाचनमा यसै क्षेत्रबाट जोशीलाई पराजित गरेर प्रदेश सांसद बनेका कर्ण मल्लको पनि उनलाई दरिलो सहयोग थियो । गत निर्वाचनमा जोशी मल्लसँग ३ सय ५६ मतले पराजित भएका थिए । २०७० मा पनि जोशी पराजित भएका थिए । त्यतिबेला उनी एमालेबाट उम्मेदवार थिए ।

जवाहरलाल नेहरू विश्वविद्यालयबाट राजनीतिशास्त्रमा विद्यावारिधि गरेका जोशी विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय छन् । कुमाउ विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका जोशीले अन्तर्राष्ट्रिय राजनीति विषयमा विद्यावारिधि गरेका हुन् । केही समय पत्रकारितामा पनि संलग्न भएका उनले एमाले विभाजन हुँदा डडेलधुरामा मालेको सचिव भएर पूर्णकालीन राजनीति सुरु गरेका थिए । पछिल्लो समय नेकपा विभाजन हुँदा अन्तिम समयमा माधव नेपाल समूहमा आएका जोशी एकीकृत समाजवादीका केन्द्रीय सदस्य थिए । केही समय प्राध्यापनसमेत गरेका जोशीले डडेलधुरामा पहिलो पटक सामुदायिक रूपमा भटमास प्रशोधन र तेल उत्पादन गर्ने कम्पनीसमेत सुरु गरेका छन् । यसमा ७ सय ७७ जना सेयर सदस्य छन् ।

प्रकाशित : मंसिर १९, २०७९ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?