१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बाढीले उत्पादन घट्यो, खाद्यसंकट बढ्यो

बेमौसमी बाढीले भजनी, टीकापुर, कैलारी, जानकी र जोशीपुरका २० हजारभन्दा बढी परिवार प्रभावित 
मोहन बुडाऐर

धनगढी — कैलालीको भजनी नगरपालिका–३ पकडियाका सन्तोली डगौरा थारूले बाढीका कारण यो वर्ष खाद्यसंकट व्यहोर्नु परेको छ । उनले आफ्नो ११ कट्टा जग्गाको उत्पादनले वर्षभरि खाएर बचत खाद्यान्न बिक्री गर्दै आएकी थिइन् ।

बाढीले उत्पादन घट्यो, खाद्यसंकट बढ्यो

धान र गहुँ दुवैको बचत भएको खाद्यान्न बिक्रीबाट उनको चार जनाको परिवारको घर खर्च पनि चल्थ्यो । गत वर्ष र यो वर्ष धानबाली भित्र्याउने बेलामा आएको बाढीले गर्दा उल्टै बेसाहा गर्नुपरेको छ । ‘धानबाली भित्र्याउने बेला असोजमा बाढी आएकाले भकारी रित्तै छन्,’ उनले भनिन्, ‘२४ क्विन्टल फल्ने खेतबाट चार क्विन्टल जति धान भित्र्याउन पाएँ । त्यो पनि बाढीले सुतेको बाली काटेकाले खान र बिक्री गर्न लायक छैन ।’

उनका अनुसार बाढीले डुबाएको धान कुट्दा काम नै नलाग्ने गरी टुटेर कनिया बन्ने गरेको छ । देख्दै कालो धान बिक्री पनि नहुने बताइन् । चार जनाको ज्यान परिवारका लागि भात खान यो वर्ष ४ क्विन्टल धान किन्नुपरेको उनले बताइन् । उनले घरसहित डुबानमा पर्दा दुई साता हुलाकी सडकमा बस्नुपरेको बताइन् ।

‘तीन दिन त भोकै बस्नुपर्‍यो । घरभित्रको अनाज र लत्ताकपडा सबै बग्यो । खेतको धान त के बाँकी रहन्थ्यो र ?’ उनले भनिन्, ‘सडकमा बास हुँदासम्म स्थानीय तह र विभिन्न संघसंस्थाहरूले बाँडेको खाद्यान्न खाएर बसेका थियौं । बाढी घटेर घर फर्केपछि कसले दिने ? त्यही दिनदेखि बेसाहा गरेर खानुपरेको छ ।’ उनले गत वर्ष पनि धान भित्र्याउने बेलामा बाढी आएको बताइन् । ‘यो वर्ष जसरी सबै धानबाली बगाएर नाश गरेको थियो,’ उनले भनिन्, ‘गएको वर्ष पनि धान किनेर खानुपर्‍यो ।’

अर्का स्थानीय रामदेव डगौराले पडकिया बस्तीमा पछिल्लो चार/पाँच वर्षदेखि बाढी लाग्ने समस्या बढेको बताए । उनले यो वर्ष र गएको असोज र कात्तिकको बेमौसमी वर्षाले धान भित्र्याउने बेला बाढी लागेको बताए । उनले यसअघिको वर्ष असारमा रोपेको धान बगाएर लगेको बताए । ‘जति बाढी लाग्ने समस्या बढ्दै गएको छ,’ उनले भने, ‘स्थानीय खाद्य संकटमा पर्दै गएका छन् ।’ उनले आफ्नो ७ कट्टा जग्गामा लगाएको धानबालीले वर्षभरि भात खान पुग्ने गरेको बताए । तर विगत तीन वर्षदेखि चामल किनेर खानु परेको बताए ।

उनका अनुसार थारू जातिको चलन साँझ–बिहानको दुवै छाक भात खाने हुन्छ । धानबाली बाढीको कारण नजोगिने भएकाले रोटी खान सुरु गरेको बताए । ‘खानलाई धान भएसम्म थारूले गहुँ त बीउका लागि मात्रै राखेर सबै बेच्ने गर्थेर्,’ उनले भने, ‘बाढीले गर्दा धान नपाउँदा गहुँसमेत बेच्न पाएका छैनौं । घर खर्च चलाउन मुस्किल भएको छ ।’

यस्तै, छविलाल पोख्रेलले बाढी नलागेको वर्षमा १ लाखको धान बेच्ने गरेको बताए । उनले आफ्नो डेढ बिघा जग्गाबाट उत्पादन हुने ४० क्विन्टल धानमध्ये आधा बिक्री गरेर घर खर्च चलाउने गरेको बताए । गत वर्ष र यसपालि उनले बाढीले गर्दा १० क्विन्टल धान पनि भित्र्याउन नपाएको बताए । ‘यो वर्ष भित्र्याउन पाएको १० क्विन्टल धान पनि बाढी लागेको खेतबाट हो,’ उनले भने, ‘बेच्न र खान लायक छैन, के गर्ने कुट्दा सबै धान कनिका हुन्छ । त्यही कनिका चामल खानुपर्छ ।’

एनले भजनीको पकडिया बस्तीका ६० परिवार बाढीले गत वर्षदेखि खाद्य संकट भोग्दै आएको बताए । उक्त बस्तीका अधिकांश परिवार किसानीमा निर्भर छन् । ‘यहाँ एउटा किसानसँग २ बिघाभन्दा बढी जमिन छैन,’ उनले भने, ‘आफूसँग भएको खेतबाट उत्पादित धान वर्षभरिलाई खान पुग्थ्यो । बचेको धान र गहुँ बेचेर घरखर्च चलाउने गर्दथे ।’

भजनी ३ पन्चराम चौधरी पनि बाढी नलागेको वर्ष १ लाखभन्दा बढीको धान बेच्ने गर्थे । बाढीले गर्दा बेसाहा गर्नुपर्ने दिनहरू आएको उनले बताए । उनको २ बिघा जग्गा छ । तर परिवार संख्या पनि ठूलो भएकाले वर्षमा २० क्विन्टल धान वर्षभरि खानलाई राख्नु पर्दथ्यो । उनको २ बिघाबाट ३५ देखि ४० क्विन्टल धान उत्पादन हुन्थ्यो । ‘बाढीले यो वर्ष १५ क्विन्टल जति पनि धान भएन,’ उनले भने, ‘यत्रो ठूलो परिवारलाई पाल्ने गाह्रो भयो ।’

उनले गहुँबाली नसप्रे परिवार पाल्न नसकिने बताए । ‘अब गहुँबालीको भरोसामा छ,’ उनले भने, ‘गहुँ बाली पनि मलको अभावले उत्पादकत्व घट्दै गएको छ । कहिले रोगले गहुँ बाली सप्रिँदैन । अहिल गहुँबालीको चिन्ता छ ।’ उनले गहुँबालीका लागि मल पर्याप्त पाउन नसकेको बताए । उनले धानबाली लगाउँदा प्रयोग गरेको मलका लागि लिएको ऋणसमेत तिर्न नपाएको बताए ।

उनले धानबालीका लागि ४० हजार लगानी गरेको बताए । गएको वर्षभन्दा अघि यति धेरै बाढीले नोक्सान नगर्ने गरेको बताए । ‘धान भित्र्याउने बेला बेमौसमी वर्षा हुँदैन्थ्यो,’ उनले भने, ‘गएको र यो वर्ष धान काटेर भित्र्याउने बेला वर्षा भयो । किसानले बढी क्षति व्यहोर्नुपरेको छ ।’ स्थानीय संरक्षणकर्मी विजय श्रेष्ठले पछिल्ला वर्षमा वन विनाश र वन वातावरणमा परेको असरको कारण कैलालीको सबैभन्दा बढी अन्न भण्डार रहेको भजनी क्षेत्रमा बाढीको समस्या निम्तिएको बताए ।

‘कैलालीका अधिकांश नदीनाला चुरेबाट उत्पन्न हुन्छन् । चुरे र चुरेफेदको वन जंगल विनाश भएको छ,’ उनले भने, ‘थोरै वर्षाले पनि पछिल्ला वर्षमा नोक्सान बढी हुने गरी बाढी आउने गरेको छ ।’

कैलालीको सबैभन्दा होचो तर बढी धान उत्पादन हुने क्षेत्रमा भजनी, टीकापुर, कैलारी, जानकी र जोशीपुर गाउँपालिका पर्छन् । असोजमा आएको बाढीले उक्त क्षेत्रका २० हजारभन्दा बढी परिवार बाढीबाट प्रभावित भएका छन् । बाढी घटेपछि उनीहरू घर फर्केका थिए । उक्त चार स्थानीय तहको बाढीको समस्याले कैलालीको वार्षिक अन्न उत्पादनमा समेत १५ प्रतिशतसम्मले कमी आएको कृषि ज्ञान केन्द्रका खगेन्द्र शर्माले बताए ।

प्रकाशित : मंसिर १७, २०७९ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?