सुदूरपश्चिम प्रदेशसभामा एक्ला स्वतन्त्र

डीआर पन्त

धनगढी — नेकपा एकीकृत समाजवादीबाट टिकट नपाएपछि केन्द्रीय सदस्य तारा जोशी प्रधानमन्त्री शेरबहादुर देउवाको गृह क्षेत्रमा प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बने । डडेलधुरा (२) बाट स्वतन्त्र निर्वाचित उनी सुदूरपश्चिम प्रदेशसभामा एक्ला स्वतन्त्र सांसद बनेका छन् ।

सुदूरपश्चिम प्रदेशसभामा एक्ला स्वतन्त्र

सत्ता गठबन्धनकाबाट उम्मेदवार बनेका सुदूरपश्चिमका सामाजिक विकासमन्त्री कांग्रेसका गोविन्द बोहरालाई जोशीले ४ सय २७ मतान्तरले पराजित गरेका थिए । प्रत्यक्षतर्फका ३२ सिटमा प्रदेशसभा सदस्य निर्वाचित हुने जोशी एक्ला स्वतन्त्र उम्मेदवार हुन् ।

प्रधानमन्त्री देउवाको गृह क्षेत्रमा कांग्रेसले बलियो उम्मेदवारका रुपमा प्रदेशका समाजिक विकासमन्त्री रहेका बोहरालाई टिकट दिएको थियो । अन्तिम समयसम्म पनि एकीकृत समाजवादीले माग गरेको सो क्षेत्र नपाएपछि जोशी बीपी कांग्रेसको सहयोगमा स्वतन्त्र उम्मेदवार बनेका थिए । जोशीले ११ हजार १ सय ६२ मत ल्याउँदा कांग्रेसका बोहराले १० हजार ७ सय ३७ मत पाएका थिए । यस क्षेत्रबाट एमालेका गजेन्द्र शाहीले स्थानीय तहमा एमालेले पाएको मत पनि पाउन सकेनन् । उनले जम्मा १५ सय ३५ मत पाएका थिए ।

एमालेका अधिकांश मत पनि जोशीले नै पाए । स्थानीय नेताहरुका अनुसार माओवादीले पनि भित्रीरुपमा जोशीलाई नै सहयोग गरेको हो । लामो समयदेखि राजनीतिक क्षेत्रमा बौद्धिक छवि बनाएका र पटक–पटक निर्वाचन हारेका जोशीप्रति मतदाताको सहानुभूतिले पनि उनलाई निर्वाचन जित्न सहज बनाएको हो ।

गत निर्वाचनमा यसै क्षेत्रबाट जोशीलाई पराजित गरेर प्रदेश सांसद बनेका कर्ण मल्लको पनि उनलाई दरिलो सहयोग थियो । गत निर्वाचनमा जोशी मल्लसँग ३ सय ५६ मतले पराजित भएका थिए ।

२०७० मा एमालेबाट उम्मेदवार बनेका जोशी पराजित भएका थिए । जवाहरलाल नेहरु विश्वविद्यालयबाट राजनीतिकशास्त्रमा विद्यावारिधी गरेका जोशी विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय हुन् । कुमाउ विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका जोशीले अन्तर्राष्ट्रिय राजनीति विषयमा विद्यावारिधी गरेका हुन् । केही समय पत्रकारितामा पनि संलग्न भएका उनले एमाले विभाजन हुँदा डडेलधुरामा मालेको सचिव भएर पूर्णकालीन राजनीति सुरु गरेका हुन् ।

पछिल्लो समय नेकपा विभाजन हुँदा अन्तिम समयमा माधव नेपाल समूहमा आएका जोशी एकीकृत समाजवादीका केन्द्रीय सदस्य र विभाग प्रमुख पनि हुन् । केही समय प्राध्यापनसमेत गरेका जोशीले डडेलधुरामा पहिलो पटक सामुदायिकरुपमा भटमास प्रशोधन र तेल उत्पादन गर्ने कम्पनीसमेत सुरु गरेका छन् । यसमा ७ सय ७७ जना शेयर सदस्य छन् ।

प्रकाशित : मंसिर १६, २०७९ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?