कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

अदुवाले मूल्य पाएन

मोहन शाही

डोटी — स्थानीय अदुवाले उचित बजार र मूल्य नपाउँदा किसान मर्कामा परेका छन् । डोटीको जोरायल, बोगटान फुड्सिल र बडीकेदार गाउँपालिकाका रनुकाँडा, बयालगाउँ, लाना, छेडा, घागल र मानाकापडी क्षेत्र अदुवा उत्पादनको पकेट क्षेत्र हो ।

अदुवाले मूल्य पाएन

बिचौलियाहरूले गतवर्षभन्दा सस्तो मूल्यमा पनि अदुवा खरिद गर्न नमान्दा किसानहरू समस्यामा छन् । खुद्रा मूल्यमा केही उत्पादन स्थानीय बजारमा खपत भए पनि ठूलो परिमाणमा बिक्री हुन नसकेपछि अदुवा किसानहरूले सुठो बनाएका छन् ।

भारतीय व्यापारीहरू बर्सेनि अदुवा खरिदका लागि डोटी आउने गर्छन् । तर यसपटक भारतमै अदुवाको राम्रो उत्पादन भएकाले व्यापारीहरू खरिदका लागि नआएको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले बताए । उनले गतवर्ष १३ हजार २११ मेट्रिक टन उत्पादन भएकोमा यस वर्ष १४ हजार मेट्रिक टन अदुवा उत्पादन भएको बताए ।

बडीकेदार गाउँपालिका ४ रनुकाँडास्थित सुनौलो किरण कृषक समूहका अध्यक्ष नरेन्द्रबहादुर ताडीले गतवर्ष ५० हजार आम्दानी गरे पनि यस वर्ष २५ हजारको पनि बिक्री गर्न नसकेको दुखेसो पोखे । गतवर्ष व्यापारीले प्रतिकिलो ५० रुपैयाँदेखि ६० सम्मका दरले खरिद गरेका थिए । यो वर्ष प्रतिकिलो ३० देखि ४० रुपैयाँसम्ममा बिक्री गरेको किसान बताउँछन् ।

‘लगानीअनुसारको मूल्य किसानले पायो भने आर्थिक समृद्धिमा ठूलो टेवापुग्ने थियो तर उचित मूल्य नै नपाउँदा समस्या भयो,’ बडीकेदार गाउँपालिका अध्यक्ष भैरव साउदले भने, ‘प्रशोधन गरेर नेपालबाट बाहिर निर्यात गर्न सकेमा किसानले उचित मूल्य पाउँछन् ।’ पालिकाबाट बजारीकरणमा सहयोग पुग्ने गरी कार्यक्रम ल्याइरहेको अध्यक्ष साउदले बताए । बर्सेनि किसानहरू बजार मूल्य नपाएकै कारण पीडित हुँदै आए पनि सरकारले बजार व्यवस्थापनमा सहजीकरण गर्न सकेको छैन । अदुवाको बजारीकरण गर्न विभिन्न दातृसंस्थाले करोडौं खर्च गरे पनि किसानहरूले मूल्य पाएका छैनन् । प्रदेश सरकारले अदुवा नमुना गाउँ कार्यक्रमअन्तर्गत किसानलाई उत्पादनमा सहयोग गर्दै आएको छ । अदुवालाई सुठो बनाउने सोलार डायर मेसिन प्रदेश सरकारले किसानलाई उपलब्ध गराएको छ ।

प्रकाशित : मंसिर १६, २०७९ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?