भूकम्पपीडितहरू अझै टहरामा- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भूकम्पपीडितहरू अझै टहरामा

खाद्यान्न र राहत सामग्रीको व्यवस्थापन भए पनि पुनःनिर्माणको काम भएन 
मोहन शाही

डोटी — कात्तिक २२ गते राति आएको भूकम्पबाट विस्थापित भएका परिवार अझै त्रिपालमुनि बास बस्न बाध्य छन् । कठ्यांग्रिँदो जाडोमा उनीहरू त्रिपालमुक्त कहिले हुन्छन् भन्नेमा सरकार मौन छ । भूकम्प पीडितहरूको अस्थायी टहरा र घरबासको स्थायी पुनःनिर्माणबारे कुनै टुंगो नलाग्दा उनीहरू चिन्तित छन् ।


यतिसम्म कि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प आएको तीन साता बित्दासम्म क्षतिको विवरणसमेत संकलन गर्न सकेको छैन ।

घरबासको स्थायी पुनःनिर्माणको लागि प्रदेश सरकार, संघीय सरकार र विभिन्न निकायहरूसँग समन्वय भइरहे पनि कसले बनाउँछ भन्ने विषयमा हालसम्म कुनै टुंगो नलागेको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए । स्थलगत अनुगमनका लागि प्राधिकरणको टोली डोटीमा अझै आउन सकेको छैन । टोली आउनेबारे आफूलाई कुनै जानकारी नभएको डोटीकी प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् । उनले खाद्यान्न र राहतका अन्य सामग्रीको व्यवस्थापन भइरहे पनि पुनः निर्माणबारे भने अहिले नै भन्न नसकिने बताइन् । प्रदेश र संघीय सरकारले यथाशीघ्र भूकम्प प्रभावितका लागि चासो नराखे पूर्वीचौकी गाउँपालिकाले अस्थायी टहरा निर्माण गर्ने गाउँपालिकाका अध्यक्ष उपाध्यायले बताए । पूर्वीचौकीका सयौं घरपरिवार भूकम्पबाट प्रभावित छन् । चिसो बढिसकेकाले तत्कालका लागि पालिकाले अस्थायी टहरा निर्माणको पहल गर्ने भएको छ ।

नेपाल रेडक्रस सोसाइटीले संकलन गरेको प्रारम्भिक तथ्यांकअनुसार पूर्वीचौकी गाउँपालिकाअन्तर्गत १ हजार ११ घर पूर्ण रूपमा क्षति, १ सय २० घर भत्केका तथा ३ हजार ३७ घरधुरीमा असर परेको अध्यक्ष उपाध्यायले बताए । पूर्ण रूपमा भत्केका घर पुनर्निर्माणका लागि प्राधिकरण, प्रदेश सरकार, संघीय सरकार, विभिन्न गैरसरकारी सघ संस्थाहरूसँग पनि समन्वय र सहकार्य भइरहेको समेत अध्यक्ष उपाध्यायले बताए । गाउँपालिकाले पहिलो चरणमा १ सय २० वटा अस्थायी टहरा पुस महिनाभित्र निमार्ण गर्ने लक्ष्य पूर्वीचौकी गाउँपालिकाको छ । पूर्वीचौकी गाउँपालिका ३ गैरा गाउँका भूकम्प पीडितहरूले आवास निर्माण लागि आग्रह गरेका छन् । भूकम्पमा परी तीन परिवार गुमाएका पदमसिंह बोहराले पनि आवास पहिलो आवश्यकता भएको बताए । उनले आवश्यकताहरू धेरै भए पनि घर क्षतिग्रस्त भएकाले जीवन बेवारिसे बनेको दुखेसो गरे ।

प्राविधिक टोली आउँदै

गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्राविधिक टोली यसै साता डोटी आउने राष्ट्रिय विपद् प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले बताएका छन् । उनले आमनिर्वाचनका कारण केही ढिलाइ भएको सुनाए । प्राविधिक टोलीले स्थलगत निरीक्षण मात्र गर्ने र कहिलेसम्म पुनर्निर्माण गर्न सकिन्छ भन्नेबारे त्यसपछि भन्न सकिने भट्टराई बताउँछन् । डोटीमा गएको भूकम्पले डोटीलगायत बझाङमा पनि क्षति भएकाले टोलीले सबै ठाउँमा गएर रिपोर्ट तयार गर्दा २ महिना समय लाग्ने बताएको छ । कात्तिक २२ गते राति २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खप्तडबाबा आश्रम नजिक केन्द्रबिन्दु बनाएर गएको भूकम्पले डोटीको पूर्वीचौकी गाउँपालिका ३ मा दर्जनौं घर भत्किएका थिए । भूकम्पको कारण ६ जनाको ज्यान गएको थियो । ७ जना घाइते भएका थिए ।

प्रकाशित : मंसिर १४, २०७९ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्

डोटीबाट आलेको लगातार तेस्रो जित

मोहन शाही

डोटी — नेकपा (एकीकृत समाजवादी)का प्रेमबहादुर आले संघीय संसदमा लगातार तेस्रो जित हासिल गरेका छन् । आले प्रतिनिधिसभाको मंसिर ४ मा भएको निर्वाचनमा निर्वाचित भएका छन् । आले डोटीबाट ४ हजार २ सय ६ मतको अन्तरले निर्वाचित भएका हुन् ।


बिहीबार बिहान सकिएको मतगणनामा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य आले २७ हजार २ सय १० मत ल्याएर निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । डोटीका मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेयका अनुसार आलेले २७ हजार २ सय १० मत प्राप्त गर्दा एमाले उम्मेदवार गौरीकुमारी वलीले २३ हजार ४ मत प्राप्त गरेकी छन् ।

यो निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार तेस्रो स्थानमा रहेका थिए । नरेन्द्रबहादुर खड्काले ६ हजार ६ सय ८९ मत प्राप्त गरेका थिए । राप्रपाका अंकबहादुर खड्काले ८ सय २ मत प्राप्त गरेका थिए ।

डोटीबाट सुदूरपश्चिम प्रदेशसभामा एमाले र माओवादीका उम्मेदवार निर्वाचित भएका छन् । डोटी प्रदेश १ मा एमालेका चक्रबहादुर मल्ल र डोटी प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका शिवसिं ओली निर्वाचित भएका हुन् ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्वमन्त्री आले सांसदमा लगातार तेस्रोपटक निर्वाचित भएका हुन् । संविधानसभा निर्वाचन २०७० मा डोटी संविधानसभा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएर संसदीय यात्रा सुरु गरेका आलेले २०७४ को प्रतिनिधिसभामा डोटीबाटै निर्वाचित भएका थिए ।

प्रकाशित : मंसिर ८, २०७९ ०७:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×