भूकम्पपीडितहरू अझै टहरामा- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भूकम्पपीडितहरू अझै टहरामा

खाद्यान्न र राहत सामग्रीको व्यवस्थापन भए पनि पुनःनिर्माणको काम भएन 
मोहन शाही

डोटी — कात्तिक २२ गते राति आएको भूकम्पबाट विस्थापित भएका परिवार अझै त्रिपालमुनि बास बस्न बाध्य छन् । कठ्यांग्रिँदो जाडोमा उनीहरू त्रिपालमुक्त कहिले हुन्छन् भन्नेमा सरकार मौन छ । भूकम्प पीडितहरूको अस्थायी टहरा र घरबासको स्थायी पुनःनिर्माणबारे कुनै टुंगो नलाग्दा उनीहरू चिन्तित छन् ।


यतिसम्म कि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प आएको तीन साता बित्दासम्म क्षतिको विवरणसमेत संकलन गर्न सकेको छैन ।

घरबासको स्थायी पुनःनिर्माणको लागि प्रदेश सरकार, संघीय सरकार र विभिन्न निकायहरूसँग समन्वय भइरहे पनि कसले बनाउँछ भन्ने विषयमा हालसम्म कुनै टुंगो नलागेको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए । स्थलगत अनुगमनका लागि प्राधिकरणको टोली डोटीमा अझै आउन सकेको छैन । टोली आउनेबारे आफूलाई कुनै जानकारी नभएको डोटीकी प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् । उनले खाद्यान्न र राहतका अन्य सामग्रीको व्यवस्थापन भइरहे पनि पुनः निर्माणबारे भने अहिले नै भन्न नसकिने बताइन् । प्रदेश र संघीय सरकारले यथाशीघ्र भूकम्प प्रभावितका लागि चासो नराखे पूर्वीचौकी गाउँपालिकाले अस्थायी टहरा निर्माण गर्ने गाउँपालिकाका अध्यक्ष उपाध्यायले बताए । पूर्वीचौकीका सयौं घरपरिवार भूकम्पबाट प्रभावित छन् । चिसो बढिसकेकाले तत्कालका लागि पालिकाले अस्थायी टहरा निर्माणको पहल गर्ने भएको छ ।

नेपाल रेडक्रस सोसाइटीले संकलन गरेको प्रारम्भिक तथ्यांकअनुसार पूर्वीचौकी गाउँपालिकाअन्तर्गत १ हजार ११ घर पूर्ण रूपमा क्षति, १ सय २० घर भत्केका तथा ३ हजार ३७ घरधुरीमा असर परेको अध्यक्ष उपाध्यायले बताए । पूर्ण रूपमा भत्केका घर पुनर्निर्माणका लागि प्राधिकरण, प्रदेश सरकार, संघीय सरकार, विभिन्न गैरसरकारी सघ संस्थाहरूसँग पनि समन्वय र सहकार्य भइरहेको समेत अध्यक्ष उपाध्यायले बताए । गाउँपालिकाले पहिलो चरणमा १ सय २० वटा अस्थायी टहरा पुस महिनाभित्र निमार्ण गर्ने लक्ष्य पूर्वीचौकी गाउँपालिकाको छ । पूर्वीचौकी गाउँपालिका ३ गैरा गाउँका भूकम्प पीडितहरूले आवास निर्माण लागि आग्रह गरेका छन् । भूकम्पमा परी तीन परिवार गुमाएका पदमसिंह बोहराले पनि आवास पहिलो आवश्यकता भएको बताए । उनले आवश्यकताहरू धेरै भए पनि घर क्षतिग्रस्त भएकाले जीवन बेवारिसे बनेको दुखेसो गरे ।

प्राविधिक टोली आउँदै

गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्राविधिक टोली यसै साता डोटी आउने राष्ट्रिय विपद् प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले बताएका छन् । उनले आमनिर्वाचनका कारण केही ढिलाइ भएको सुनाए । प्राविधिक टोलीले स्थलगत निरीक्षण मात्र गर्ने र कहिलेसम्म पुनर्निर्माण गर्न सकिन्छ भन्नेबारे त्यसपछि भन्न सकिने भट्टराई बताउँछन् । डोटीमा गएको भूकम्पले डोटीलगायत बझाङमा पनि क्षति भएकाले टोलीले सबै ठाउँमा गएर रिपोर्ट तयार गर्दा २ महिना समय लाग्ने बताएको छ । कात्तिक २२ गते राति २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खप्तडबाबा आश्रम नजिक केन्द्रबिन्दु बनाएर गएको भूकम्पले डोटीको पूर्वीचौकी गाउँपालिका ३ मा दर्जनौं घर भत्किएका थिए । भूकम्पको कारण ६ जनाको ज्यान गएको थियो । ७ जना घाइते भएका थिए ।

प्रकाशित : मंसिर १४, २०७९ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्

पाल्पा उद्योग वाणिज्य संघमा भट्टराई

कान्तिपुर संवाददाता

पाल्पा — उद्योग वाणिज्य संघ पाल्पाको अध्यक्षमा शैलेन्द्र भट्टराई निर्वाचित भएका छन् । सोमबार सम्पन्न निर्वाचनमा भट्टराईले ६ सय ४१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी राजीव श्रेष्ठले २ सय १ मत पाए । कुल १ हजार ५५ सदस्य रहेको पाल्पा उद्योग वाणिज्य संघमा ८ सय ४५ मत खसेको थियो । तीन मत बदर भएको निर्वाचन अधिकृत टंकप्रसाद भट्टराईले बताए । 

अध्यक्षमा निर्वाचित भट्टराईसँग यसअघि सदस्य, महासचिव र उपाध्यक्ष भएर काम गरेको अनुभव छ । उनी १५ वर्षदेखि निरन्तर उद्योग वाणिज्य संघमा कार्यरत छन् । प्रतिस्पर्धी श्रेष्ठ निवर्तमान कोषाध्यक्ष हुन् ।

संघको उद्योग उपाध्यक्षमा उत्तमकुमार बज्राचार्य १ सय ७ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी रमेशराज वज्राचार्य ४० मत पाए । संघको वाणिज्य उपाध्यक्षमा भीमबहादुर श्रेष्ठ निर्विरोध भएका छन् । सोमबार भएको क्षेत्र नम्बर ११ को निर्वाचनबाट सदस्यमा कमल पाण्डे र लक्ष्मण बस्याल विजयी भए । यस क्षेत्रमा पाण्डेले ३३ र बस्यालले ३२ मत पाए । प्रतिस्पर्धी हलिम दिन मियाले २५ मत प्राप्त गरे । ५ मत बदर भयो ।

संघको अध्यक्ष, उद्योग उपाध्यक्ष, क्षेत्र ११ को सदस्यमा सहमति हुन नसकेपछि निर्वाचन भएको हो । यस्तै क्षेत्र २ को सदस्यमा संजयकुमार श्रेष्ठ, क्षेत्र ३ मा खुमप्रसाद पोखरेल, क्षेत्र ४ को दुई सदस्यमा नारायण पछाई र मञ्जु रेग्मी, क्षेत्र ५ मा विनायक महर्जन र किशोरदर्शन बज्राचार्य निर्विरोध भएका छन् ।

क्षेत्र ६ मा लक्ष्मणप्रसाद रेग्मी र अमनप्रसाद श्रेष्ठ, क्षेत्र ७ मा सविन मल्ल र महेश शर्मा आचार्य निर्विरोध भए । क्षेत्र ८ मा रञ्जनाकुमारी थापा अर्याल, प्रज्वलराज शाक्य, क्षेत्र ९ मा समिरमान सिंह, क्षेत्र १० मा विदुर घिमिरे र सुरेश गोदार निर्विरोध भए । क्षेत्र १२ मा दीपक घिमिरे र मुक्तिराम जीसी र क्षेत्र १३ मा समता मियाँ निर्विरोध भएका छन् ।

प्रकाशित : मंसिर १४, २०७९ ०८:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×